नेपाली काठः सल्लोदेखी अग्राखसम्म, कुनको मूल्य कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 12, 2021 | 01:37:11 PM मा प्रकाशित

laxmi  sunrise bank

घर निर्माण गर्दा प्रयोग गरिने काठको विषयमा खासै ध्यान दिने गरेको पाइँदैन । धेरैजसो निर्माण व्यवसायी र घर धनी काठको प्रयोगका सम्बन्धमा जानकार पनि छैनन् । घर बलियोका साथै सुन्दर पनि हुनुपर्छ भन्ने मान्या सबैको हुन्छ । तर, सुन्दर बनाउने नाममा कमसल काठको प्रयोग गरियो भने के हुन्छ ? 

घर बनाउँदा प्रयोग गरिने काठ र फर्निचरका सामानले घरको सुन्दरता बढाउने हो । घरमा झ्याल–ढोका देखि अन्य सजावटका लागि पनि आकर्षक फर्निसिङ सबैको रोजाईमा पर्ने गर्छ । यसका लागि  गुणस्तरीय काठ कसरी छान्ने ?

नेपालका फर्निसिङ व्यवसायीले नेपाली काठको उपयोग गर्न नपाएको गुनासो गर्दै आएका छन् । बन क्षेत्र धेरै हुँदाहुँदै पनि विदेशबाट काठ आयात गर्नुपर्ने बाध्यता नेपाली व्यवसायीलाई छ । यद्यपी केही मात्रामा नेपाली र धेरैजसो विदेशी काठ नै नेपालमा खपत हुँदै आएको छ ।

चीन र भारतबाट मात्रै नभई इन्डोनेसिया र मलेसियासम्मबाट विभिन्न थरीका काठ नेपाल भित्रिन्छन् । भन्सार विभागको तथ्यांकले नै वार्षिक ८ अर्ब बढीको काठ र तयारी फर्निचर विदेशबाट आयात हुन्छ । 

काठ र मूल्य

बजारमा फरक फरक मुल्य र फरक फरक गुणस्तरका काठ तथा तयारी फर्निचर उपलब्ध छन् ।  घरको बनावट कस्तो हुँदैछ वा आफू कस्तो घर बनाउँदैछु भन्ने यकिन गरेर काठ र फर्निचरका सामानहरु किन्ने हो भने ठगिने सम्भावना नरहने बताउँछन् फर्निचर व्यवसायी जनक श्रेष्ठ ।

अहिले नेपाली बजारमा यहाँकै जंगलको अग्राख (साल), साज, टिक, सिसौ, सल्लो, उत्तिस, ओखर, कटुसलगायत रुखका काठहरु पाइन्छन् । विदेशबाट आउने अग्राखको काठ भनेको हाइब्रिड अग्राख हो ।

घरमा सबैभन्दा बढी प्रयोग गरिने काठ हो सल्लो । धनगढीको सल्लो अलि महँगो छ । त्यहाँबाट काठमाडौँ आईपुग्दा एक क्युबिक फिटको २ हजार रुपैयाँसम्म उपलब्ध हुन्छ । तर पहाडको लोक सल्लो भने एक क्युबिक फिटको १५ देखि १६ सयमा पाइन्छ । 

घर बनाउँदा नेपालकै साजको काठ प्रयोग गर्ने हो भने एक क्युबिक फिटको झडै ३६ सय देखि ४ हजारसम्म पर्छ । विदेशी हाइब्रिड अग्राखको काठ प्रयोग गर्ने हो भने एक क्युबिक फिटकै ४५ सय पर्छ । नेपाली अग्राखको काठ भने एक क्युबिक फिटको ६ हजार रुपैयाँ पर्छ ।

नेपाली जंगलबाटै उपलब्ध हुने टिकको काठ भने महँगो छ । अहिले नेपाली बजारमा टिकको मूल्य एक क्युबिक फिटको ७६ सयको हाराहारीमा छ । 

सिसौको काठ एक क्युबिक फिटको २५ सयदेखि ७ हजार रुपैयाँसम्म पर्ने पनि पाइन्छ । यो नेपाली जंगलकै उत्पादन हो । लोकल सिसौ एक क्युबिक फिटको २५ सय, स्पेशल सिसौ ४५ सय र जंगली सिसौ एक क्युबिक फिटको ७ हजार रुपैयाँ पर्छ । 

उत्तिसको काठ भने कोठा सजाउने सामान बनाउँदा प्रयोग हुन्छ । यस्तो काठ एक क्यिुबिक फिटको १ हजार रुपैयाँमै पाइन्छ । 

विदेशीले बजार खायो

अन्य बस्तुमा जस्तै काठका सामानमा पनि विदेशी उत्पादनकै दबदबा छ । घरको झ्याल–ढोकाको चौकसमा मात्रै काठको प्रयोग हुन थालिसकेको छ । वुड एन्ड प्रेस्ट (भुसलाई खाँदेर कम्प्याक्ट गरी बनाइएको) लेमिनेटेड ढोकाको प्रयोग बढ्दो छ । झ्याल यूपीभीसी र पार्केटिङका लागि मलेसिया र चीनबाट आएको काठ जस्तै देखिने तर बास्तविक काठ नभई लेमिनेटेड सामानको प्रयोग हुने गरेको छ । 

झ्याल, ढोका, पार्केटिङ, दराज, पलङ, किचन र्याकदेखि हरेक सामान स्वदेशीभन्दा विदेशी बढी प्रयोग हुन थालेको छ । किनकी, विदेशबाट आयात गरिएका यस्ता बस्तु हेर्दा आकर्षक र सस्तो पनि हुने गर्छन् । 

‘हाम्रो बजार त विदेशीले खाइहाल्यो नि, यत्रो जंगल छ तर काठ विदेशबाट ल्याउनु परेको छ’ श्रेष्ठ भन्छन्, ‘विदेशबाट तयारी सामान ल्याउँदा उनीहरुको फिनिसिङ पनि भनेजस्तो छ, तर हाम्रो काठ दह्रो त हुन्छ नि, फिनिसिङ छैन ।’ 

नेपाली काठमा पनि अग्राख र सिसौ बढी दह्रो हुन्छ । सय वर्षसम्म पनि टिक्न सक्ने भएकाले नेपाली काठकै प्रयोगमा मानिसहरुलाई प्रोत्साहित गर्नुपर्ने नीतिको आवश्यकता रहेको श्रेष्ठको भनाई छ ।

फर्निचर बनाउन र फर्निसिङमा प्लाईउडको प्रयोग पनि उत्तिकै बढेको छ । ‘ए’, ‘बी’ र ‘सी’ वर्गका यस्ता प्लाइउडहरु प्रतिस्क्वायर फिट १५ सयदेखि २५ सय रुपैयाँसम्म पर्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved