ठेकेदारको लाइसेन्स लिने विचार छ ? यस्तो छ सुरुदेखि अन्तिमसम्मको प्रक्रिया

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 22, 2021 | 12:26:13 PM मा प्रकाशित

ntc

नेपालमा निर्माण व्यवसायीलाई ४ प्रकारमा वर्गीकरण गरिएको छ । निर्माण व्यवसाय नियमावली २०५६ (२०७४ असोज मसान्तमा भएको संशोधनसमेत) ले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा निर्माण व्यवसायीलाई वर्गीकरण गरेको छ ।

कुन वर्गको लाइसेन्स लिन कति शुल्क ? 

उक्त नियमावलीले उल्लेखित ४ वर्गको निर्माण व्यवसायीको इजाजत लिन फरक फरक प्रावधान राखेको छ । ‘क’ वर्गको निर्माण व्यवसायीको इजाजत लिन नियमावलीले १० हजार रुपैयाँ इजाजतपत्र दस्तुर र ७ हजार रुपैयाँ इजाजतपत्र नवीकरण दस्तुर तोकेको छ । क वर्गकै लागि इजाजतपत्र नवीकरण थप दस्तुर १४ हजार, क वर्गकै अस्थायी इजाजतपत्र लिनका लागि १५ सय अमेरिकी डलरले हुन आउने नेपाली रुपैयाँ र इजाजतपत्र प्रतिलिपी दस्तुर १ हजार रुपैयाँ तोकिएको छ ।

‘ख’ वर्गको इजातपत्र लिन ५ हजार रुपैयाँ इजाजतपत्र दस्तुर र ३ हजार रुपैयाँ इजाजतपत्र नवीकरण दस्तुर लाग्नेछ । ख वर्गकै लागि इजाजतपत्र नवीकरण थप दस्तुर ६ हजार, ख वर्गकै अस्थायी इजाजतपत्र लिनका लागि १ हजार अमेरिकी डलरले हुन आउने नेपाली रुपैयाँ र इजाजतपत्र प्रतिलिपी दस्तुर १ हजार रुपैयाँ नै तोकिएको छ ।

‘ग’ वर्गको निर्माण व्यवसायीको लाइसेन्स लिन २ हजार रुपैयाँ इजाजतपत्र दस्तुर र १५ सय रुपैयाँ नवीकरण दस्तुर तोकिएको छ । ग वर्गको इजाजतपत्र नवीकरण थप दस्तुर ३ हजार रुपैयाँ, ग वर्गको अस्थायी इजाजतपत्र लिन ५ सय अमेरिकी डलरले हुन आउने नेपाली रुपैयाँ र इजाजतपत्र प्रतिलिपी दस्तुर ५ सय रुपैयाँ नियमावलीले नै तोकेको छ ।

‘घ’ वर्गको निर्माण व्यवसायीको लाइसेन्स पाउन १ हजार रुपैयाँ इजाजतपत्र दस्तुर बुझाउनुपर्ने छ । यो वर्गको लाइसेन्स नवीकरण दस्तुर १ हजार, नवीकरण थप दस्तुर २ हजार र अस्थायी इजाजतका लागि २५० अमेरिकी डलरले हुन आउने नेपाली रुपैयाँ तिर्नुपर्ने छ । घ वर्गको इजाजतपत्र प्रतिलिपी दस्तुर भने ५ सय रुपैयाँ तोकिएको छ ।

के छ प्रक्रिया ?

निर्माण व्यवसाय ऐन २०५५ ले यसरी लाइसेन्स दिनका लागि लाइसेन्स चाहानेले दिएको आवेदन अध्ययन गर्न समिति गठनको प्रावधान राखेको छ । सोही समितिले लाइसेन्सका लागि परेका आवेदनको अध्ययन गरेर दरखास्त परेको ३० दिनभित्र सरकार समक्ष सिफारिस गर्नेछ । 

समितिले सिफारिस गरेको १५ दिनभित्र सरकारले दरखास्तवालासँग तोकिएको दस्तुर लिएर इजाजत दिने व्यवस्था छ । यसरी दरखास्तवालाले पाएको लाइसेन्सको अवधि एक आर्थिक वर्षको हुनेछ । यसको अर्थ हरेक वर्ष लाइसेन्स नवीकरण गर्नुपर्नेछ । तोकिएको मितिमा नवीकरण गर्न नसके ६ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गर्न सकिनेछ ।

घ वर्गको निर्माण व्यवसायीले भने जिल्लाबाटै लाइसेन्स प्राप्त गर्न सक्नेछन् । ४ वटै वर्गका लागि दिईने अस्थायी इजाजत भने विदेशी निर्माण व्यवसायीको हकमा लागू हुनेछ ।

कुन वर्गका लागि के योग्यता ?

‘क’ वर्ग

प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा १ करोड रुपैयाँको चालु पूँजी देखाई उद्योग विभागमा दर्ता भएको हुनु पर्नेछ । घटीमा १ करोड ५० लाख रुपैयाँको चार अलग अलग वा कुल ३ करोड २० लाख रुपैयाँ बराबरको विभिन्न सार्वजनिक निर्माण कार्य आफैले सम्झौता गरी सन्तोषजनक रुपले सम्पन्न गरेको हुनु पर्नेछ । 

तर, ऐनमा ‘कम्तीमा बीस वर्षको सार्वजनिक निर्माण कार्य सम्बन्धी अनुभव प्राप्त कम्तीमा दुईजना सिभिल इन्जिनियर रहेको कम्पनी वा विगत दश वर्षमा छ करोड रुपैयाँ बराबरको निर्माण कार्य सम्बन्धी अनुभव भई इन्जिनियर वा सो सरहको प्रमोटर वा शेयरहोल्डर रहेको कम्पनीलाई ‘क’ वर्गको निर्माण व्यवसायीमा वर्गीकरण गर्न यस खण्डले कुनै बाधा पु¥याएको मानिने छैन’ भनिएको छ ।

जनशक्तिः 

सिभिल इन्जिनियरि विषयमा स्नातक तह उत्तीर्ण दुईजना र सोही विषयमा प्रमाणपत्र तह उत्तीर्ण चारजना प्राविधिक, कुनै विषयमा स्नातक तह उत्तीर्ण दुईजना र प्रमाणपत्र तह उत्तीर्ण तीनजना र वाणिज्यशास्त्रमा स्नातक तह उत्तीर्ण एकजना, सोही विषयमा प्रमाणपत्र तह उत्तीर्ण एकजना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनु पर्नेछ । 

मेशीन र उपकरणः 

(क) थियोडोलाईड (दुई थान)

(ख) लेभल (चार थान) 

(ग) डम्पट्रक वा ट्रक (दुई थान) 

(घ) वाटर पम्प (तीन थान) 

(ङ) कंक्रिट मिक्स्चर (तीन थान) 

(च) भाइबे्रटर (पाँच थान) 

(छ) ल्याव इक्यूप्मेण्ट (एक सेट) 

(ज) व्याकहोइ, एक्स्काभेटर, बुलडोजर मध्ये कुनै एक थान 

(झ) निम्न उपकरणमध्ये कम्तीमा चार थान 

लोडर, विटुमिन डिष्ट्रिव्यूटर/स्प्रेयर, वाटर ट्यांकर/स्प्रेयर, मोटर ग्रेडर, थ्री व्हील रोलर, एक टन रोलर, न्यूमेटिक रोलर, विटुमिन पेभर, एस्फाल्ट मिक्स प्लाण्ट, क्रेन, फोर्क लिफ्ट, क्रसर, कम्प्याक्टर, भाइवे्रटिङ रोलर, हाइड्रोलिक अगर, विञ्च र विल्डिङ होस्ट ।

‘ख’ वर्ग

प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा ५० लाख रुपैयाँको चालु पूँजी देखाई उद्योग विभागमा दर्ता भएको हुनुपर्नेछ । घटीमा ८० लाख रुपैयाँको चार अलग अलग वा कुल ३ करोड २० लाख बराबरको विभिन्न सार्वजनिक निर्माण कार्यहरु आफैले सम्झौता गरी सन्तोषजनक रुपले सम्पन्न गरेको हुनुपर्नेछ । 

तर नियमावलीमा ‘कम्तीमा १० वर्षको सार्वजनिक निर्माण कार्य सम्बन्धी अनुभव प्राप्त कम्तीमा एकजना सिभिल इन्जिनियर रहेको कम्पनी वा विगत दश वर्षमा दुई करोड बराबरको निर्माण कार्य सम्बन्धी अनुभव भई इन्जिनियर वा सो सरहको प्रमोटर वा शेयरहोल्डर रहेको कम्पनीलाई ‘ख’ वर्गको निर्माण व्यवसायीमा वर्गीकरण गर्न यस खण्डले कुनै बाधा पु¥याएको मानिने छैन’ भनिएको छ ।

जनशक्तिः

सिभिल इन्जिनियरि विषयमा स्नातक तह उत्तीर्ण एकजना र सोही विषयमा प्रमाणपत्र तह उत्तीर्ण दुईजना प्राविधिक, कुनै विषयमा स्नातक तह उत्तीर्ण दुईजना र प्रमाणपत्र तह उत्तीर्ण दुईजना र वाणिज्यशास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण एकजना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनु पर्नेछ । 

मेशीन र उपकरणः 

(क) थियोडोलाईड (एक थान) 

(ख) लेभल (दुई थान) 

(ग) डम्पट्रक वा ट्रक (एक थान) 

(घ) वाटर पम्प (दुई थान) 

(ङ) कंक्रिट मिक्स्चर (दुई थान) 

(च) भाइबे्रटर (चार थान) 

(छ) ल्याव इक्यूप्मेण्ट (एक सेट) 

(ज) व्याकहोइ, एक्स्काभेटर, बुलडोजर मध्ये कुनै एक थान 

(झ) निम्न उपकरण मध्ये कम्तीमा दुई थान 

लोडर, विटुमिन डिष्ट्रिव्यूटर/स्प्रेयर, वाटर ट्यांकर/स्प्रेयर, मोटर ग्रेडर, थ्री व्हील रोलर, एक टन रोलर, न्यूमेटिक रोलर, विटुमिन पेभर, एस्फाल्ट मिक्स प्लाण्ट, क्रेन, फोर्क लिफ्ट, क्रसर, कम्प्याक्टर, भाइवे्रटिङ रोलर, हाइड्रोलिक अगर, विञ्च र विल्डिङ होस्ट 

‘ग’ वर्ग

प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा १० लाख रुपैयाँको चालु पूँजी देखाई उद्योग विभागमा दर्ता भएको हुनुपर्नेछ । घटीमा १० लाखको चार अलग अलग वा कुल चालीस लाख बराबरको विभिन्न सार्वजनिक निर्माण कार्यहरु आफैले सम्झौता गरी सन्तोषजनक रुपले सम्पन्न गरेको हुनु पर्नेछ । 

ऐनमा ‘कम्तीमा पाँच वर्षको सार्वजनिक निर्माण कार्य सम्बन्धी अनुभव प्राप्त कम्तीमा एकजना सिभिल इन्जिनियर वा सोही विषयमा प्रमाणपत्र तह उत्तीर्ण दुईजना सिभिल ओभरसियर रहेको कम्पनी वा विगत पाँच वर्षमा एक करोड बराबरको निर्माण कार्य सम्बन्धी अनुभव भई इन्जिनियर वा ओभरसियर वा सो सरहका प्रमोटर वा शेयरहोल्डर रहेको कम्पनीलाई ‘ग’ वर्गको निर्माण व्यवसायीमा वर्गीकरण गर्न यस खण्डले कुनै बाधा पु¥याएको मानिने छैन’ भनिएको छ । 

जनशक्तिः 

सिभिल इन्जिनियरि विषयमा स्नातक तह उत्तीर्ण एकजना वा सोही विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण दुईजना प्राविधिक, कुनै विषयमा स्नातक तह उत्तीर्ण दुईजना र सोही विषयमा प्रमाणपत्र तह उत्तीर्ण दुईजना अप्राविधिक र वाणिज्य विषयमा प्रमाणपत्र तह उत्तीर्ण एकजना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनु पर्नेछ । 

मेशीन र उपकरणः 

(क) लेभल (दुई थान) 

(ख) वाटर पम्प (दुई थान) 

(ग) कंक्रिट मिक्स्चर (एक थान) 

(घ) भाइबे्रटर (तीन थान) 

(ङ) निम्न उपकरण मध्ये कम्तीमा एक थान 

लोडर, विटुमिन डिष्ट्रिव्यूटर/स्प्रेयर, वाटर ट्याङ्कर/स्प्रेयर, मोटर ग्रेडर, थ्री व्हील रोलर, एक टन रोलर, न्यूमेटिक रोलर, विटुमिन पेभर, एस्फाल्ट मिक्स प्लाण्ट, क्रेन, फोर्क लिफ्ट, क्रसर, कम्प्याक्टर, भाईबे्रटीङ रोलर, हाइड्रोलिक अगर, विञ्च र विल्डिङ होस्ट ।

‘घ’ वर्ग

प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा १ लाख रुपैयाँको चालु पूँजी देखाई उद्योग विभागमा दर्ता भएको हुनु पर्नेछ । 

जनशक्ति:

सिभिल इन्जिनियरीङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्राविधिक, कुनै पनि विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्रशासनिक र वाणिज्यशास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण एकजना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनुपर्नेछ । 

मेशीन र उपकरणः

लेभल (एक थान), वाटर पम्प (एक थान) र भाइबे्रटर (एक थान) हुनुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved