जग्गाको लालपूर्जा हरायो ? यसरी निकाल्नुहोस् नयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 09:31:04 AM मा प्रकाशित

laxmi  sunrise bank

जमिन र उक्त जमिनमा बनेको घर कसको स्वामित्वमा छ भनेर सबैभन्दा पहिला हेरिने र सबैभन्दा महत्वपूर्ण प्रमाण भनेकै लालपूर्जा हो । यदि जग्गा भोगचलन पनि गरिरहेको, घर बनाएर पनि बसिरहेको तर, लालपूर्जा नभएको अवस्थामा उक्त घरजग्गामा बसेकै आधारमा स्वामित्व पनि मेरै हो भन्न मिल्दैन ।

त्यसैले लालपूर्जाको सुरक्षामा सावधानी अपनाउनु जरुरी छ । बाढी, पहिरो, आगलागी जस्ता विपत्तिले घरमा क्षति गर्दा पनि लालपूर्जा हराउने गर्छन् । हराएको खण्डमा अर्को बनाउँन मिल्दै नमिल्ने भन्ने हुँदैन । तर, यदि सक्कल लालपूर्जा हराएको खण्डमा त्यसको नक्कल प्रति (प्रतिलिपी) निकाल्ने पनि प्रक्रिया छ ।

के छ प्रक्रिया ?

हराएको लालपूर्जा निकाल्न मालपोत कार्यालयले प्रक्रिया तोकेका हुन्छन् । भूमी व्यवस्थापन तथा अभिलेख विभागले पठाएको निर्देशन अनुसार मालपोत कार्यालयहरुले प्रक्रिया पूरा गर्न लगाउँछन् र लालपूर्जाको प्रतिलिपि दिन्छन् ।

आफ्नो घरजग्गाको कित्ता नम्बर याद छ भने लालपूर्जा पाउन कठिन हुँदैन । त्यसैले मालपोत कार्यालयहरुले कित्ता नम्बर कति हो भनेर सुरुमै सोध्छन् । हराएको लालपुर्जाको कित्ता नम्बर यकिन भए त्यसको प्रतिलिपि निकाल्ने प्रक्रिया पनि छोटो हुन्छ । 

कित्ता नम्बर यकिन हुँदा वडा कार्यालयमा गएर यो ठाउँको यति कित्ता नम्बरको घरजग्गाको लालपूर्जा हराएको हुँदा प्रतिलिपी पाउँ भनेर निवेदन दिनुपर्छ । वडा कार्यालयले फोटोसहित तीन पुस्ते खुलाएको सिफारिस लेखिदिएपछि उक्त सिफारिस मालपोत कार्यालयमा बुझाउनुपर्छ । 

उक्त सिफारिसमा जग्गाधनीको सबै विवरण खुलाईएको हुन्छ । त्यसैको आधारमा मालपोत कार्यालयले लालपुर्जाको नक्कल प्रति दिन्छन् । वडा कार्यालयबाट सिफारिस लिन घरजग्गाको कित्ता नम्बर, घरजग्गा धनीको फोटो र नागरिकता चाहिन्छ ।

कित्ता नम्बर थाहा नभए के गर्ने ?

यदि हराएको लालपूर्जामा भएको जग्गाको कित्ता नम्बर थाहा छैन भने सुरुमा कित्ता नम्बर पहिचान गर्नुपर्छ । यसका लागि मालपोत कार्यालयमा नै पुग्नुपर्छ । सम्बन्धित व्यक्तिको नागरिकता, लालपूर्जा हराएको जग्गाको तिरो तिरेको रसिद लिएर आफ्नो जग्गा दर्ता भएको मालपोत कार्यालय पुगेपछि नागरिकताको आधारमा मालपोतका अधिकारीहरुले घरजग्गाको कित्ता नम्बर उपलब्ध गराईदिन्छन् ।

कित्ता नम्बर पाएपछि उक्त कित्ता नम्बर लिएर वडामा निवेदन दिनुपर्छ । वडाले फोटो सहितको तीन पुस्ते विवरण खुलाएको सिफारिस लेखिदिएपछि उक्त सिफारिस मालपोत कार्यालयमा बुझाउनुपर्छ । मालपोतमा उक्त सिफारिस मात्रै बुझाएर पुग्दैन, त्यहाँ गएर पनि प्रतिलिप पाउँ भनेर निवेदन दिनुपर्छ ।

‘मेरो नाममा रहेको ..... ठाउँको, ..... कित्ता नम्बर भएको जग्गाको लालपूर्जा हराएकाले प्रतिलिपी पाउँ’ भन्ने खालको फाराम हुन्छ । (ठ्याक्कै यही शब्द हुँदैन, आशय यस्तो हुन्छ) । उक्त फाराम भरेर नागरिकताको फोटोकपीसहित बुझाउनुपर्छ । 

त्यसपछि मालपोतका कर्मचारीले लालपुर्जाको प्रतिलिपी दिन्छन् ।

दशैँ बिदाको सदुपयोग

गाउँघरमा भएको जग्गाको लालपूर्जा हराएका जग्गाधनीहरु यसवर्ष दशैँमा घर जाँदा केही दिन बसेर लालपूर्जाको नक्कल प्रति निकालेर मात्रै फर्किने सोचमा पनि हुनुहुन्छ होला । असोज २९ गते दशैँको टिका छ । ३० गते शनिबार भएकाले ३१ गते आइतबारबाट त कार्यालयहरु खुलिहाल्छन् । त्यसैले पनि लालपूर्जा हराएकाहरुका लागि यो लेख ‘टिप्स’ हुन सक्छ ।

यसरी यो बीचमा हराएको लालपूर्जा निकाल्न सक्नुभयो भने तपाईका लागि दशैँ बिदाको अर्को फाइदा पनि भयो, सदुपयोग पनि भयो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved