
दशैँमा खसीको मासुको खपत बढी हुने गर्दछ । दशैँ भन्ने बित्तिक्कै मासु खाने पर्वका रुपमा पनि बुझिन्छ । उद्यपी, ठूलाबडाको आशिर्वाद लिने र राम्रो लगाउने पर्व पनि हो ।
दशैँमा आफ्नै घरमा खसी काटेर मासु खाने चलन हुन्छ । खसीसँगै बोका, च्याङग्रा, भेडा, राँगो पनि काट्ने चलन छ । समुदाय अनुसार फरक फरक जनावरको बली दिइन्छ ।
उपभोक्ताले सहजै खसी बोका पाउन् भनेर खाद्य कम्पनीले खसी बोका बिक्रि गर्दै आएको छ ।
कसरी छान्ने ?
काठमाडौँ ल्याएर खाद्यले बिक्रि गर्ने खसी बोकालाई २ समूहमा वर्गीकरण गरिएको हुन्छ । खसी बोकाको सिङमा हरियो र रातो रंग लगाइएको हुन्छ । हरियो रंग लगाइएका खसी स्वस्थ हुन् भने रातो रंग लगाइएका खसी बोका तुलनात्मक रुपमा अस्वस्थ वा कमजोर हुन्।
पशु सेवा विभागको प्राविधिक टोलीले खसी बोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ वा अस्वस्थ यकिन गरेपछि सिङमा नीलो र रातो रंग लगाईएको हुन्छ । पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार खसी स्वस्थ रहे त्यसको सिङमा हरियो रंग दलिएको हुन्छ भने अस्वस्थ भए रातो रंग दलिएको हुन्छ । खसी किन्दा सिङमा हरियो रंग लगाईएको खसी किन्नु बुद्धिमानी हुने विभागका अधिकारीहरु बताउँछन् ।
काठमाडौँ ल्याईएका खसी बोकासहित सबै पशुको स्वास्थ्य परीक्षण विभागले बिहिबारबाट थालिसकेको छ ।
ढाड मोटो भएका र भुँडी नफुलेको खसीको मासु स्वादिलो र स्वस्थ हुने व्यवसायी तथा खसी पालक किसानहरु बताउँछन् । छोटो कान भएका लोकल खसीहरु जंगलमा चरेको हुनाले उनीहरुले जडिबुटी पनि खाने भएकाले त्यस्ता खसी छानेर किन्न उपभोक्तालाई व्यवसायीहरुले नै बताउँदै आएका छन् ।
स्वास्थ्य जाँचमा के के हेरिन्छ ?
विभागले खसी बोकाको स्वास्थ्य जाँच गर्दा आँखामा कचेरा लागेको छ कि छैन, सिँगान बगाएको छ कि छैन भनेर हेर्ने गरेको छ । साथमा ज्वरो पनि नाप गरिने विभागले जनाएको छ ।
जाँच गर्दा सबै ठिक पाईए त्यस्ता खसी बोकाको सिङमा हरियो रंग लगाइन्छ ।
तर, आँखामा कचेरा देखिए, सिँगान बगाएको पाईए र बड्कौला गोबर जस्तो पाईए त्यस्ता खसी बोकाको सिङमा रातो रंग पोतिन्छ ।
बिरामीको शंका लाग्नासाथ सिङमा रातो रंग दलेर उपचारका लागि लैजान सम्बन्धित व्यवसायीलाई अनुरोध गर्ने गरिएको विभागले जनाएको छ ।
कहाँ कहाँ हुँदैछ परीक्षण ?
व्यवसायीले ल्याएका खसी बोकाको स्वास्थ्य जाँच विभिन्न खसी बजारमा भईरहेको छ । थानकोट, कलंकी, बल्खु, बालाजु, टुकुचा र लगनखेलमा खसी बोकाको स्वस्थ्य परीक्षण थालिएको छ ।
सबैभन्दा बढी महत्व कलंकीको खसी बजारलाई दिईएको छ । त्यहाँबाट काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा खसी बोकाहरु लगिने भएकाले कलंकीलाई विशेष ध्यान दिएर प्राविधिकहरु खटाईएको विभागले जनाएको छ ।
टिकाको अघिल्लो दिन नवमी (असोज २८ गते) सम्म विभागले परीक्षण जारी राख्नेछ ।