दशैँमा सुदूरपश्चिम घुमौँ, यी हुन् मनै लोभ्याउने दर्जन गन्तव्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 01:29:33 PM मा प्रकाशित

ntc

सुदूरपश्चिम नेपालको पर्यटनको खानी हो । यद्यपी, पश्चिमी नाका हुँदै नेपाल आउने पर्यटकहरु त्यहाँ लामो समय बस्दैनन् । सुदूरपश्चिममा पर्यटनको अत्यन्त सम्भावना हुँदाहुँदै पनि ती क्षेत्रका गन्तव्यको प्रचार कम मात्रामा भएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतसहित अन्य मुलुकका पर्यटक नेपाल भित्रिन्छन् । तर, कोरोनाका कारण अहिले सुस्ताएको छ । तथापी, दशैँ र तिहार जस्ता चाडको अवसरमा काठमाडौँ र अन्य शहरका मानिसहरु सुदूरपश्चिम घुम्न निस्कने हो भने त्यहाँका पर्यटकीय गन्तव्यको प्रचारमा सघाउ पुग्ने छ । फलस्वरुप विदेशी पर्यटकहरु सुदूरपश्चिम घुम्न आउने सम्भावना बलियो छ ।

कर्णाली पुल

कर्णाली नेपालको सबैभन्दा लामो नदी हो । त्यो नदीमा बनाईएको एकखम्बे पुल सुदूरपश्चिमलाई संघिय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख पुल हो । 

५ सय मिटर लम्बाइ र १४ मिटर चौडाइको यो पुल सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि मुख्य गन्तव्यका रुपमा प्रचार गर्न सकिन्छ ।

टीकापुर पार्क

स्वीट्जरल्याण्डको लक्साल शहरको नक्साका आधारमा ठ्याक्कै त्यस्तै देखिने गरी रेखाङ्कन गरिएको टीकापुर पार्क ५ विगाहा क्षेत्रफलमा फैलिएको छ । ८० प्रकारका गुलाबका फूल यो पार्कमा पाइन्छ ।

यति मात्रै नभई २०२८ सालमा तत्कालीन राजा महेन्द्रले त्यहीबाट १ महिना शासन चलाएका कारण पनि त्यो विषयको अध्ययनका तथा पिकनिक र चलचित्र छायांकनका लागि टीकापुर पार्क प्रमुख गन्तव्य बन्न सक्छ ।

घोडाघोडी ताल

घोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकरण भएको नेपालकै महत्वपूर्ण ताल हो । २ हजार ५६३ हेक्टरमा हातको हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन् । २४५ प्रजातिका चराचुरुङ्गी, पानी हाँस, जंगली धान लगायतका लागि घोडाघोडी ताल आकर्षक र रमणीय पर्यटकीय गन्तव्य हो ।

एकमात्र राणाकालीन दरबार

कैलालीको चुरे गाउँपालिकास्थित गर्वा दरबार सुदूरपश्चिमकै एक मात्र राणाकालीन दरबार हो । १९८२ सालमा निर्माण गरिएको यो दरबार इतिहासको अध्ययनका लागि पुग्नैपर्ने ठाउँ हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध छ । निकुञ्जभित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाकको प्रवन्ध छ । 

हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउमा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ ।

शुक्लाफाँटामा बाघ, खरायो, हात्ती, गैँडा लगायतका जीव जनावर हेर्न पाईने शुक्लाफाँटामा आधा दर्जनभन्दा बढी तालहरू छन् ।

ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, शिकारीताल, सलगौडी ताल रहेको यो निकुञ्ज क्षेत्र ३०५ वर्गकिलोमिटरमा फैलिएको छ । 

दोधारा चाँदनी

कञ्चनपुरको दोधारा चाँदनी पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । यो पुलले नेपाल पारिका तर नेपालकै २ ठाउँ दोधारा र चाँदनीलाई जोडेको छ । आन्तरिक पर्यटकको भीड हुने यो ठाउँमा बाह्य पर्यटक पनि तान्न सकिन्छ ।

अमरगढी र अजयमेरूकोट

अमरगढी किल्ला डडेल्धुराको ऐतिहासिक किल्ला हो । यो किल्लका अवलोकनका लागि आन्तरिक पर्यटकको भीड लाग्छ ।

डडेल्धुराको अजयमेरू गाउँपालिकास्थित अजयमेरूकोट दरबार ऐतिहासिक दरबार हो । 

खप्तड

पश्चिम नेपालका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगमस्थलमा रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको रोजाईको गन्तव्य हो ।

खप्तड परिसरमा २२ वटा पाटन छन् । सुदूरपश्चिमकै सबैभन्दा प्रसिद्ध पर्यटकीय गन्तव्य खप्तड घुम्न अहिलेको समय अति उपर्युक्त समय हो । 

२ हजार ७ सयदेखि ३ हजार २२७ मिटरसम्मको उचाइमा २२५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ मानिने दलदले घाँसे मैदान हो । खस्रु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, खप्तडबाबाको आश्रम यहाँका विशेषता हुन् । 

रामारोशन

अछामको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र रामारोशनलाई बाह्र बण्ड, अठार खण्डका नामले पनि चिनिन्छ । यो क्षेत्रमा १२ वटा ताल र १८ वटा ठूलाठूला चौर छन् ।

यहाँ १२ प्रकारका लालीगुराँस पाइन्छन् । नेपालको राष्ट्रिय चरा डाँफे नाँचिरहेको देख्न पाईने यो क्षेत्र पनि अहिले घुमफिरका लागि राम्रो समय हो ।

बडिमालिका

बडिमालिकालाई भूस्वर्ग नै मानिन्छ । हिन्दुका देवादिदेव भगवान शिवले लामो समय बिताएको मानिने बडिमालिका धार्मिक दृष्टिले अत्यन्त महत्वको क्षेत्र हो । समुद्री सतहबाट ४ हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्र हिमालसँगै विशाल फाँटमा रमाउनेका लागि पुग्नैपर्ने गन्तव्य हो ।

अपि बेसक्याम्प

दार्चुला जिल्लामा पर्ने ७ हजार १३२ मिटर उचाईको अपि हिमालको आधार शिविरसम्म पदयात्राका लागि यो ठाउँ अत्यन्त रोमाञ्चक ठाउँ हो ।

अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबई हिउँचुली लहरै उभिएको दृश्यले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ । 

हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालुसहित डाँफे, मुनाल देख्न पाईने यो क्षेत्र सुन्दर सुदूरपश्चिमका देउडा भाका सुन्दै यात्रा गर्नुको मजा बेग्लै हुन्छ । 

व्यास (मानसरोवारको प्रवेशद्वार)

सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलाको कुनामा छ । कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार मानिने यो क्षेत्र प्राकृतिक सौन्दर्यका साथमा त्यहाँका सौका समुदायको परम्परा र संस्कृति आकर्षणको केन्द्र हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved