यी हुन् दशैँ बिदामा घुम्नैपर्ने गन्तव्यः कुन ठाउँको विशेषता के छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 19, 2022 | 03:00:16 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटनलाई बढवा दिन नेपालीहरु घुमफिरमा निस्कन थालेका छन् । चल्तीका गन्तव्यभन्दा पनि नयाँ नयाँ ठाउँमा पुग्न चाहने घुमन्तेहरुको विशेषता हुन्छ । 

वास्तवमा, दशैँ तिहारको समय भनेको मौसमका दृष्टिले पनि घुमफिरका लागि उपर्युक्त सिजन हो । वर्षाको समय सकिएको र जाडो पनि प्रवेश नगरिसक्ने हुनाले दशैँ तिहार अर्थात् असोज १५ देखि कार्तिकभर घुमफिरका लागि निस्कने आन्तरिक पर्यटकहरु बढी हुन्छन् ।

यी हुन् यो दशैँमा घुम्न पर्ने गन्तव्य

नेपाल सदाबहादर घुम्न सकिने देश हो । यहाँ फरक फरक हावापानी सहितको विशेषता पाइन्छ । 

फरक फरक रहनसहन, भेषभुषा, खानपान र परिवेशको अनुभूति गर्दै नयाँपन सँगको साक्षात्कारका रम्न मानिसहरु नयाँनयाँ गन्तव्यको खोजीमा हुन्छन् । 

नेपालका हजारौँ गन्तव्यमध्ये हरेक वर्ष दशैँ तिहारको समयमा बिजपाटी डटकमले फरक फरक गन्तव्यको विशेषतासहित घुम्न रुचाउनेहरुलाई त्यस्ता गन्तव्य ‘सिफारिस’ गर्दै आएको छ । यसपालीको दशैँमा पनि त्यस्तै हजारौँ गन्तव्यबाट हामीले मेचीदेखि महाकाली सम्मका उत्कृष्ट र नयाँ गन्तव्य पहिचान गरी घुम्न जान प्रेरित गरेका छौँ ।

सन्दकपुर (इलाम)

इलाम जिल्लामा अवस्थित सन्दकपुर हिमश्रृङ्खलाको दृश्यावलोकनका लागि अद्भूत गन्तव्य हो । इलाम र दार्जिलिङको सीमावर्ती गन्तव्य सन्दकपुर समुद्री सतहबाट ३ हजार ६३६ मिटरको उचाइमा पर्छ ।

सामान्यतया बस्तीहरु कुहिरोभन्दा तल हुन्छन्, तर सन्दकपुर कुहिरोभन्दा माथि लाग्छ । किनकी, माथितिरबाट बहेको कुहिरो र चीसो सिरेटोले ज्यानै सिङ्ग हुनेगरी हिर्काउँदा पनि बेग्लै अनुभूति हुन्छ ।

सन्दकपुर सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि पुग्नैपर्ने गन्तव्य हो । 

इलाम बजारबाट जसबीरे, माइपोखरी, माइ–मझुवा हुँदै पनि सन्दकपुर पुग्न सकिन्छ । बरबोटे, माबु हुँदै पनि सन्दकपुरसम्म मोटरबाटो छ । 

खुम्जुङ उपत्यका (सोलु)

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकास्थित खुम्जुङ उपत्यकाको अर्को नाम हो हरित उपत्यका । नाम्चे बजारभन्दा अलिकति माथि अर्थात् समुद्री सतहबाट ३ हजार ८ सय मिटरको उचाइमा रहेको गजबको उपत्यका हो खुम्जुङ । 

सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट ५ दिन पैदलयात्रा गरेपछि खुम्जुङ पुगिन्छ । यदि लुक्लासम्म हवाइ जहाजमार्फत जाने हो भने त्यहाँबाट ३ दिनको पैदलयात्रा नै गरेपछि खुम्जुङ पुग्न सकिन्छ ।

खुम्जुङ उपत्यका हिम मानव भनिने यतीको टाउकाको छाला हेर्न वर्षेनी हजारौँ व्यक्तिहरु पुग्छन् । त्यहाँको एउटा गुम्बामा यतीको टाउकाको छाला राखिएको छ ।

त्यहाँ सबैजसो घरमा होमस्टे छ । उच्च हिमाली भेगको रहनसहनका लागि यस पटकको दशैँमा नेपालका आन्तरिक गन्तव्य घुमफिरको योजना बनाइरहेका हरुलाई यो गन्तव्य उपर्युक्त हुन सक्छ ।

खुम्जुङ शेर्पा समुदायले देवता मानेर पूजा गर्ने खुम्बिह्यूला हिमालको काखैमा भएकाले खुम्जुङ उपत्यकाको आफ्नै महत्व छ ।

सिम्रौनगढ (बारा)

बाराको सदरमुकाम कलैयाबाट २० कि.मि. पूर्वतिर रहेको सिम्रौनगढ ऐतिहासिक सम्पदा हो । 

मिथिलाको उदयदेखि अवसानसम्म १२ वटा दुर्गहरुको माझमा रहेकाले यस क्षेत्रलाई बारागढी भनिन्थ्यो । पछि बारा जिल्लाको नामाकरण पनि बारागढीबाटै भयो । 

मिथिला गणराज्यको क्षेत्रमा ११औँ शताब्दीमा डोय राजाहरुको आगमनपछि सिम्रौणगढ राजधानी बनेको किंवदन्ति छ । कर्णाटकबाट आएका निर्वासित राजकुमार नान्यदेवले सन् १०९७ मा तिरहुतलाई स्वतन्त्र राज्य घोषणा बताइन्छ ।

यस क्षेत्रमा १०९७ देखि नान्यदेव र त्यसपछि उनका सन्तानहरूले २३० वर्ष शासन गरेको र नान्यदेवका सन्तानमध्येका हरिदेव अन्तिम राजा थिए भन्ने मान्यता छ । 

त्यसैले हाल मधेश प्रदेशमा पर्ने यो ऐतिहासिक सिम्रौनगढमा रहेका टुटे फुटेको अवशेषहरुको अध्ययन गरेर मुलुकको ऐतिहासिकता थाहा पाउन चाहनेहरुले यो ठाउँ पुग्नैपर्ने गन्तव्य हो ।

पाँचपोखरी/जटापोखरी (रामेछाप)

रामेछापको पाँचपोखरी र जटापोखरी भन्ने वित्तिक्कै स्वर्गीय आनन्दका अनेकन अनुभूतिहरु एकाएक सलबलाउँछन् । पदमार्गबाट उच्च हिमाली भेगको हावापानीमा रमाउन चाहनेका लागी एउटा अनुपम र उत्कृष्ट गन्तव्य हो पाँच पोखरी र जटापोखरी । 

उत्तरी क्षेत्रमा लमतन्न भएर सुतेको जस्तो देखिने पर्वतश्रृङ्खला, सेतो पटुकी जस्ता देखिने छाँगा र छहरा, मगमगाउँदा सुनपाती, धुपी र अन्य जडीबुटीको बासनाले जटापोखरी क्षेत्र स्वर्गको एउटा टुक्रा हो भन्न सकिन्छ । 

रामेछापका दुई उत्तर पूर्वी स्थानीय तह गोकुलगंगा र उमाकुण्ड गाउँपालिका क्षेत्रमा पर्ने जटापोखरी क्षेत्र नुम्बुर चिज सर्किटको नामले पनि परिचित छ । सगरमाथाको प्रवेशद्वार नाम्चे बजार जाने बाटो पनि यही हो ।  

रामेछाप जिल्ला सदरमुकाम मन्थलीदेखि पाँच पोखरीसम्मको यात्रा तीनको प्रायः हुन्छ । राजधानी काठमाडौँबाट अरनिको राजमागै हुँदै दोलखाको जिरीसम्मको १८८ किलोमिटर र त्यसपछि २५ किलोमिटर कच्ची सडक पार गरेपछि डेढ दिन उकालो हिडेर जटापोखरी पुगिन्छ ।

पाँच पोखरी र जटापोखरी प्राकृतिक र धार्मिक पर्यटनका उत्कृष्ट गन्तव्य हुन् । राज्य पुर्नसंरचना भएपछि बनेको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ मा पर्ने जटापोखरी पुग्न साविकको चुचुरे गाविसको गर्जाङ्बाट पैदलयात्रा सुरु हुन्छ । रस्नालुबाट नै हिमाली हावापानीको स्वाद पाईने हुँदा शरीर त्यसै त्यसै फुरुङ्ग हुन्छ । 

गर्जाङ्बाट २ घण्टा पैदल हिडेपछि चुचुरेको खहरे पुगिन्छ । खहरे जटापोखरी–पाँचपोखरी जाने बाटामा पर्ने मानवबस्ती भएको अन्तिम गाउँ हो ।

गर्जाङबाट ६ घण्टा उकालो चढेपछि मानेडाँडा पुगिन्छ । डाँडामा रहेका माने, खुल्ला चौर, चिसो मौसम र तलतिर हेर्दा बादलु थुम्का र पहाडी थुम्काबीचको लुकामारीले थकान सबै मेटिन्छ । शेर्पा दाजुभाई र दिदीहरुले त्यहाँ बनाएका चौंरी गोठमा आगो ताप्दै चिज र छुर्पी खानुको मजा पनि बेग्लै हुन्छ । 

मानेडाँडाबाट  विस्तार विस्तार २ घण्टा हिडेपछि जटापोखरी पुगिन्छ । ४ हजार २५० मिटरको उचाईमा रहेको नरिवलको जटाको आकारमा रहेको जटापोखरीमा वर्षमा ६ महिना भन्दा बढी पानी जम्छ । चैतदेखि भदौसम्म मात्रै पग्लन्छ । त्यसैले यसलाई हिमनदी पनि भनिन्छ । 

जटापोखरीबाट ३५५ मिटर मात्रै सिधा माथि छ पाँचपोखरी । एउटै पोखरीका बिचबिचमा प्राकृतिक रुपमा उठेका बाध (ढिस्का÷थुम्का) ले पोखरीलाई ५ वटा कुण्ड बनाईदिएका छन् । स–साना ५ वटा कुण्ड भएकाले यसलाई पाँचपोखरी भनिएको हो । यही पाँच पोखरीबाट निस्किएको पानी जटापोखरीमा झर्छ । जटापोखरीबाट पानी बाहिर निस्केपछि बनेको खोला नै खिम्ती खोला हो । 

यसपालीको दशैँमा पूर्वी नेपालका आकर्षक गन्तव्य घुमफिर गर्न चाहनेहरुका लागि पाँचपोखरी जटापोखरी क्षेत्र उपर्युक्त गन्तव्य हो । 

क्यान्जेन उपत्यका (रसुवा)

रसुवाको लाङटाङ तिब्बतको सीमावर्ती क्षेत्रमा पर्छ । त्यहीँ अटाइएको एउटा सुन्दर हिमाली उपत्यका हो क्यान्जेन उपत्यका ।

चारैतिर हिमालका चुचुराले घेरेको क्यान्जेन उपत्यकाको नाम क्यान्जेन गुम्बाको नामबाट नामाकरण गरिएको हो । क्यान्जेन गुम्बा ७ सय वर्ष पुरानो गुम्बा हो ।

समुद्री सतहबाट ३ हजार ८५० मिटरको उचाइमा अवस्थित यो उपत्यकाबाट लाङटाङ हिमालको दृश्य स्पष्ट देखिन्छ । लाङटाङ हेर्न सबैभन्दा उपर्युक्त ठाउँ नै यहीँ उपत्यका हो । 

दोर्जे लाक्पा, लिरुङ, जुल, गाङछेम्पो लगायतका हिमाललाई आँखै अगाडी छर्लङ्ग देखिने भएकाले यो उपत्यकाको आफ्नै विशेषता छ । 

काठमाडौँबाट नुवाकोट, बेत्रावती, कालिकास्थान, रसुवाको धुन्चे, स्याफ्रुबेंसी हुँदै लाङटाङ जान सकिन्छ । 

यो क्षेत्रमा खान बस्नका लागि राम्रा होटलहरु उपलब्ध छन् ।

लोमान्थाङ (मुस्ताङ)

हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित लोमान्थाङ नेपालको मरुभूमी भनेर चिनिने प्रख्यात गन्तव्य हो ।

यो ठाउँ केवल प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले मात्रै भरिपूर्ण छैन, यहाँ पुगेपछि नेपालको ऐतिहासिकता स्पष्ट अध्ययन गर्न सकिन्छ । 

वास्तविक हिमाली जनजीवन, हजारौं वर्ष पूर्वको नेपालको ऐतिहासिकता, पुरातात्विक सम्पदा लोमान्थाङका विशेषता हुन् । 

हवाई मार्गमार्फत पनि लोमान्थाङ जान सकिन्छ । तर, हवाइ सेवाको उपलब्धता काठमाडौँबाट जोमसोमसम्म मात्रै हुन्छ । पोखराबाट जोमसोमसम्म हवाई यात्रा गर्न सकिन्छ । जोमसोमबाट गाडीमा जानुपर्छ ।

सडकमार्ग मार्फत जाने हो भने, जोमसोमसम्मै गाडी जान्छ । जोमसोमबाट २ घण्टामा छुसाङ पुगिन्छ । छुसाङबाट ४५ मिनेट पैदलयात्रा गरेपछि चैले पुगिन्छ । मुस्ताङ गेट पार गरेपछिसमर, साङवोचे, घमी, गिलिङ, चराङ हुँदै लोमान्थाङ पुगिन्छ ।

सो क्षेत्रमा होमस्टे र होटेल उपलब्ध छन् । 

बाँके राष्ट्रिय निकुञ्ज (बाँके)

बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमीटर क्षेत्रमा फैलिएको बाँके राष्ट्रिय निकुञ्ज बन्यजन्तुको दर्शन भेटका लागि उपर्युक्त हो । कसैलाई आफ्नै आँखाले हेर्दै विभिन्न जनावर तथा चराचुरुङ्गीहरुका तस्बिर कैद गर्ने शोख छ भने बाँके राष्ट्रिय निकुञ्ज पुग्नैपर्ने गन्तव्य हो । 

विभिन्न प्रजातीका वनस्पति, विभिन्न प्रजातिका स्तनधारीहरु जनावर, चरा लगायत पाइने यो क्षेत्रको पूर्वमा शिवखोला, पश्चिममा कोहलपुर सुर्खेत राजमार्ग, उत्तरमा चुरे पर्वत श्रृङखला र दक्षिणमा पूर्व–पश्चिम राजमार्ग पर्छ । 

बाँके राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ । त्यसैले पनि यो निकुञ्ज ठूला वन्यजन्तुहरुको बासस्थान पनि हो । 

त्रिपुरासुन्दरी (डोल्पा)

धार्मिक, प्राकृतिक र हिमाली जनजीवनको बारेमा थाहा पाउन चाहनेका लागि डोल्पाको त्रिपुरासुन्दरी एउटा अद्भूत गन्तव्य बन्न सक्छ । 

त्रिपुराकोटको त्रिपुरासुन्दरी मन्दिर सयौँ वर्षअघि स्थापना भएको कहलिन्छ । दुवैतर्फ खोला र बीचको अग्लो थुम्कामा मन्दिर बनेकाले त्यहाँबाट वरीपरीको दृश्य मनमोहक देखिन्छ । 

यो क्षेत्रको यात्रामा निस्कन भने सहज मार्ग छैन । खानेकुरा र बस्ने व्यवस्था आफैँले मिलाउनुपर्छ । टेन्ट, खाने, सुत्ने सामग्री आफैँले बोकेर जानुपर्छ । 

बडिमालिका र अपि हिमाल (बाजुरा र दार्चुला)

बाजुराको बडिमालिका सुन्दर सुदूरपश्मिको प्रसिद्ध धार्मिकस्थल हो । धर्तीको स्वर्ग भनिने बडिमालिका नेपालकै उत्कृष्ट गन्तव्य हो । 

सुन्दर हिमाल र मनोरम प्राकृतिक दृश्यापान गर्न बडिमालिका पुग्नैपर्ने ठाउँ हो । 

त्यस्तै, सुदूरकै अर्को गन्तव्य हो दार्चुलाको अपि हिमाल । ७ हजार १३२ मिटर उचाइको यो हिमालको आधार शिविरसम्मको पदयात्रा विशेष मानिन्छ ।

अपि र नम्पा हिमालसँगै रिङ्देपानी, कायाकोर, कालीढुङ्गा र बबईलगायतका हिउँचुली पर्वतका टाकुराहरु लहरै उभिएका छन् । 

हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालु सहित हिमाली पंछी डाँफे र मुनाल पनि आँखैले देख्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved