दशैँमा घुम्न जाने ठाउँ र बस्ने होटल कसरी छान्ने ? (पर्यटन व्यवसायी अर्यालको टिप्स)

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 21, 2022 | 12:36:11 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ नजिकिएसँगै मानिसहरु घुमफिरका गन्तव्य खोज्न व्यस्त हुन थालिसकेका छन् । विशेषगरी ‘एडभेन्चर एक्टिभिटिज’ मन पराउने युवाहरु नयाँ नयाँ ठाउँको खोजीमा लागेको पाइन्छ । सँगै, दशैँ बिदामा परिवारसँग नेपालको नयाँ ठाउँ घुमेर रमाइलो गर्ने योजनामा ‘कर्पोरेट हाउस’का सञ्चालकदेखि सरकारी तथा नीजि क्षेत्रमा कार्यरत कर्मचारीसम्म छन् ।

नेपालमा घुम्ने संस्कृतिको विकास क्रमशः बढेको छ । आन्तरिक पर्यटन फस्टाउँदो छ । यसले देशका गन्तव्यको प्रचारसँगै विदेश घुम्दा बाहिरिने नेपाली रुपैयाँ यहीँ बचत भएको छ । 

पर्यटन व्यवसायी आग्रह अर्याल भन्छन्, ‘घुम्न निस्कँदा बजेटको पनि प्लान बनाउनुपर्छ’

पोखरा र चितवनमा होटल व्यवसाय सञ्चालन गर्दै आएका युवा पर्यटन व्यवसायी आग्रह अर्याल नेपालीहरुमा पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएकोमा खुशी व्यक्त गर्छन् । ठूला उद्योगी व्यवसायीदेखि मध्यम आय भएकाहरु पनि आफ्नो खर्च गर्ने क्षमता अनुसार घुम्न निस्केको देख्दा उनलाई नेपालको आन्तरिक पर्यटन चाँडै भरपर्दो बन्ने विश्वास लाग्छ ।

तर, सँगै खर्चको योजना नबनाउँदा कतिपय गन्तव्यमा पर्यटकहरु अलपत्र पर्ने जोखिम पनि उत्तिकै हुन्छ भन्छन् उनी । 

‘नेपालीहरुको घुम्ने कल्चर बढेको छ, यो सुखद् कुरा हो’ उनी भन्छन्, ‘घुमफिरमा निस्कँदा बजेटको प्लान बनाउनु अति आवश्यक हुन्छ । प्लान अनुसार ठ्याक्कै नमिल्न सक्छ, तर खानामा यति, खाजामा यति, होटलमा यति, आफू जान लागेको गन्तव्यमा पाइने नयाँ चीज बस्तुहरु चीनोको रुपमा खरिद गर्न यति भनेर खर्चको औसत प्लान चाहिन्छ ।’

उनले आफू जान चाहेको गन्तव्यमा पुगेर फर्किदासम्म हुन सक्ने अनुमानित खर्चको योजना गरेर मात्रै घुम्न निस्कनुपर्ने सुझाव घुम्न चाहनेलाई दिएका छन् । 

सँगै, रि–भ्यू हेर्न नभुल्नु

व्यवसायी अर्यालले कुन ठाउँमा जान लागेको हो, त्यो ठाउँमा उपलब्ध होटलहरु कुन कुन हुन्, कुन होटलको विशेषता के छ भनेर पहिल्यै बुझेर मात्रै बुकिङ गर्न सुझाएका छन् । यसका लागि ती होटलमा बसिसकेका र आफू जान चाहेको क्षेत्रमा घुमफिर गरिसकेका व्यक्तिले लेखेको प्रतिक्रिया (रि–भ्यू) पढ्न पनि उनले सुझाव दिएका छन् ।

‘पहिला बसेका पर्यटकहरुले दिएको प्रतिक्रिया हेर्ने गर्नुपर्छ, टुरिष्ट स्ट्याण्डर्डका होटलहरुमा रि–भ्यू लिखित नै हुन्छ’ अर्याल सुझाउछन्, ‘रि–भ्यूमा उल्लेख भएजस्तो सबै त नहोला, तर रि–भ्यूलाई पनि आधार बनाएर होटल छान्न सकिन्छ ।’

ट्रेकिङ जाने हो भने ‘पूर्व योजना अनिवार्य’ 

कतिपय घुमफिरमा रमाउनेहरु बिना योजना पनि घुम्न निस्कन्छन् । तर, यो पनि एक खालको ‘एडभेन्चर मुड’ नै हो । तर, उच्च पहाडी भेगतिर पदयात्रामा जान मन छ भने पूर्व योजना अनिवार्य चाहिने आग्रह अर्याललको सुझाव छ । 

‘पोखरा आउनु भएका कतिपय साथीहरु यहाँ आइहालियो, अब अन्नपूर्ण ट्रेक वा अन्त कतै पुगेर फर्किउँ न त भन्ने पनि देखिनुहुन्छ’ अर्याल भन्छन्, ‘तर, ट्रेकिङमा जाने हो भने यसरी हतारमा निर्णय गर्नु हुँदैन । सट ट्रेक (छोटो ट्रेकिङ) हो भने पनि ४ दिनको हुन्छ । यसका लागि सबै बन्दोबस्त मिलाउनुपर्छ । लाउने, खानेदेखि प्राथमिक उपचारका विधि सिकेर औषधि समेत बोकेर जानुपर्छ ।’

मौसम पनि ख्याल गर्ने

आफू जान लागेको ठाउँको मौसम, त्यस क्षेत्रमा आगामी केही दिनमा मौसममा कुनै परिवर्तन हुन सक्छ कि सक्दैन भनेर सम्बन्धित निकायले गरेको अनुमान, बाटोघाटो, पहाडी क्षेत्र भए उचाई लगायतलाई पहिल्यै ध्यान दिएर मात्रै मानसिक रुपमा आफूलाई तयार पारेर मात्रै घुम्न निस्कनु उचित्त हुने अर्याल बताउँछन् ।

साथमा, ट्रिप एड्भाइजर र बुकिङ डटकम जस्ता अन्तराष्ट्रिय स्तरका ट्राभल साइट तथा म्यागेजिनहरु हेर्न पनि भुल्न नहुने अर्यालको सुझाव छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved