विद्युतीय चुलोः कुन ब्राण्डको मूल्य कति ? इन्डक्सन र इन्फ्रारेडमा कुन ठिक ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 09, 2022 | 03:21:25 PM मा प्रकाशित

laxmi  sunrise bank

खाना पकाउन एलपी ग्यासको सट्टा इन्डक्सन चुलोको प्रयोग बढाउन सरकारले अभियान नै चलाएको छ । सिंहदरबार भित्रका क्यान्टिनबाट ग्यासका सिलिण्डर हटाउन थालिसकिएको छ ।

स्वदेशमै उत्पादित बिजुलीको खपत बढ्ने र ग्यास आयात गर्दा बाहिरिने नेपाली रुपैयाँको बचत र ब्यापार घाटा न्यूनिकरणका लागि सहरी क्षेत्रमा बढिरहेको इन्डक्सन चुलोको प्रयोगले सहयोग गर्ने अपेक्षा लिइएको छ ।

ग्यासभन्दा झण्डै आधा सस्तो

विद्युतीय चुलो इन्डक्सन र इन्फ्रारेड गरी २ प्रकारका हुन्छन् । इन्फ्रारेड चुलो झट्ट हेर्दा इन्डक्सन चुलो जस्तै देखिए पनि यसमा एलपी ग्यासको चुलो (३ मुखे ओदान जस्तो)मा जस्तै गरी सामान्य भाँडा प्रयोग गरेर खाना बनाउन सकिन्छ । इन्डक्सन चुलो भन्दा यो केही महँगो पर्छ । 

तर, इन्डक्सन चुलोमा खाना बनाउन भाँडा पनि फरक हुन्छन् । इन्डक्सन चुलोमा प्रयोग गर्न कुकर, कराई लगायतका भाँडा बजारमा पाइन्छन् । 

ग्यासको तुलनामा विद्युतीय चुलो ४० प्रतिशत सस्तो पर्ने नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको दाबी छ । उपभोक्ताले पनि सस्तो अनुभूति गरेका छन् ।

कुन कुन ब्राण्ड उपलब्ध छन् ?

विद्युतीय चुलोको प्रयोगमा सरकारी तहबाटै अभियान चलेपछि प्रयोग बढिरहेको छ । काठमाडौँमा पढ्न बस्ने विद्यार्थीलाई लक्षित गरी विद्युतीय चुलोमा अनुदानको कार्यक्रम नै घोषणा भएको छ ।

हाल नेपाली बजारमा बाल्ट्रा, सीजी, बजाज, मिडिया, ओमेगा लगायतका नेपाली, चाइनिज र भारतीय ब्राण्डका विद्युतीय चुलो उपलब्ध छन् । ओमेगा नेपाली ब्राण्ड हो । यीमध्ये प्रयोगकर्ताले सबैभन्दा धेरै रुचाएको ब्राण्ड बाल्ट्रा भएको बिक्रेताहरु बताउँछन् । 

एकखुमे र दुई मुखे दुबै खालका विद्युतीय चुलो पाइन्छ । नेपालीहरु खाना र दाल एकैपटक पकाउन अभ्यस्त रहेकाले अधिकांशले दुई मुखे चुलो खोजी गर्ने गरेको बिक्रेताहरुको अनुभव छ । तर, बजारमा एकमुखे चुलोहरुको उपलब्धता बढी हुन्छ । 

मूल्य कति ?

सबैभन्दा धेरै रुचाइएको भनिएको बाल्ट्राको इन्डक्सन चुलो ३ हजार ५ सयदेखि ४ हजार ५ सय रुपैयाँ सम्मका छन् । बाल्ट्राकै इन्फ्रारेड चुलोको भने भने ४ हजार ९ सयदेखि ९ हजार ९ सय रुपैयाँसम्म पर्छ ।

सीजीको इन्डक्सन चुलो ४ हजारदेखि १० हजार रुपैयाँ सम्मका छन् । सीजीकै इन्फ्रारेड चुलो भने ४ हजार ७ सय देखि ७ हजार ७ सय रुपैयाँसम्मका पाइन्छन् ।

नेपाली ब्राण्ड ओमेगा इन्डक्सनको मूल्य ४ हजार रुपैयाँ छ ।

नेपाली बजारमा विद्युतीय चुलोहरु १ हजार ८ सय वाटदेखि २ हजार २ सय वाटसम्मका पाइन्छन् । अधिकांश विद्युतीय चुलोहरु भने २ हजार वाट क्षमतामा उपलब्ध हुन्छन् । 

इन्डक्सन चुलोको तुलनामा इन्फ्रारेड चुलोले बढी बिजुली खपत गर्छ । खाना छिटो पाक्ने भएपनि बढी बिजुली खपत गर्ने भएकाले नेपाली प्रयोगकर्ताका लागि इन्डक्सन चुलो नै उपयोगी हुने बिक्रेताहरुको सिफारिस छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved