परिणाममुखी काम गर्ने पर्यटनमन्त्री ढकालको दृढता

रासस

रासस

Dec 27, 2020 | 03:26:35 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् । 

आज सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री ढकालले मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गर्नुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने बताएका हुन् । 

‘मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस्, सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास गर्छु, त्यसैले सपनामा रङ्गिनेभन्दा व्यावहारिक हुनेगरी योजना निर्माण र कार्यान्वयन हुनुपर्छ’, उनले भने । 

अतिरिक्त सुविधा र सेवाका निम्ति मन्त्रीप्रति कोही व्यक्ति लालायित हुनु नपर्ने उनको भनाइ थियो । स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेकाले मन्त्रालयभित्रका विकास योजना आर्थिक मितव्ययी र पारदर्शी ढङ्गले अघि बढाउने बताएका थिए । 

मन्त्री बदलिए पनि सरकार र कार्यनीति बदलिएको छैन भन्दै मन्त्री ढकालले योजना समयमै सम्पन्न गर्ने परिपाटिको विकास गर्न मातहत निकायलाई निर्देशन दिएका थिए । उनले मुलुक चुनावी वातावरणमा गएकाले राजनीतिक रङले मन्त्रालयलाई असर नगरोस् भन्नेतर्फ सजग रहेर सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाइनुपर्नेमा जोड दिए ।    

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री ढकालले शुक्रबार पर्यटनमन्त्रीका रुपमा शपथ लिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved