इन्डोनेशियाको पर्यटन तथा क्रियटिभ इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले नेपाली पर्यटकहरूका लागि मन पर्ने गन्तव्यको रूपमा कायम राख्न काठमाडौंमा बिक्री मिसन गरेको छ । सेल्स मिसनमा मन्त्रालय, बंगलादेश र नेपालस्थित इन्डोनेशियाली दूतावास सहित ३० भन्दा बढी पर्यटन उद्योग तथा कम्पनीको सहकार्य थियो । नेपाली पर्यटकको सँख्यामा सकारात्मक वृद्धि देखिएकाले इन्डोनेशियाले थप प्रवर्द्धनका कार्यक्रम ल्याएको हो ।
नेपालबाट इन्डोनेशिया जाने पर्यटकको संख्या सन् २०२२ को तुलनामा सन् २०२३ मा १८६ प्रतिशतले बढेको थियो । पर्यटक संख्या सन् २०२४ को जनवरीदेखि जुलाईसम्ममा सन् २०२३ को सोही अवधिको तुलनामा ७०.४८ प्रतिशतले वृद्धि भएको थियो। सन् २०२३ को सोही महिनाको तुलनामा नेपाल आउने पर्यटकको संख्या ९१.९ प्रतिशतले बढेको छ ।
यसबारेमा इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयकी पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी नि माडेले इन्डोनेशिया भ्रमण गर्ने नेपाली पर्यटकको बढ्दो संख्याले आफूहरू उत्साहित रहेको बताइन् ।
पर्यटकको संख्या बढाउन सेल्स मिशन र सचेतना अभियान जस्ता प्रवर्द्धनात्मक गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्ने पनि उनले बताइन् । पर्यटकको बढ्दो संख्याले इन्डोनेशिया नेपाली पर्यटकहरूका लागि अझ बढी लोकप्रिय हुँदै गइरहेको र साहसिक पर्यटनको नयाँ गन्तव्यको रूपमा पनि विकसित भइरहेको उनले बताइन् ।
सेल्स मिसनमा सहभागीहरूले इन्डोनेशिया जान अझै पनि दुई वटा चुनौतीको रुपमा कनेक्टिभिटी र भिसा रहेको बताएका थिए । नेपालसँग प्रत्यक्ष सम्पर्क नभए पनि अन्य सहर वा पर्यटकीय हब भएका देशहरू मलेशिया, सिंगापुर लगायतको कनेक्टिभिटीलाई उपयोग गर्नु पर्ने पनि मार्थिनीले बताइन् ।
मलेशिया एयरलाइन्स, एयर एशिया वा हिमालय एयरलाइन्स साथै सिंगापुर, भियतनाम, बैंकक विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्ससँग सहकार्य गरेर पर्यटकलाई सहज सेवा दिन सकिने मार्थिनीको भनाइ थियो । उनले इन्डोनेशियाको भ्रमण प्याकेज अन्य देशको तुलनामा उचित मूल्यको भएकाले भिसा शुल्कले भार नपर्ने बताइन् ।
इन्डोनेशिया सेल्स मिसनमा बाली र त्यसभन्दा बाहिरका पाँच वटा नयाँ गन्तव्यहरू प्रस्तुत गरिएको थियो । जसमा लेक टोबा, बोरोबुदुर मन्दिर, मण्डलिका, लाबुआन बाजो र लिकुपाङका ५ सुपर मुख्य गन्तव्यहरू समावेश थिए । सो अवसरमा सेल्स मिसनले माइस पर्यटन (बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी), परिवार, विवाह, हनिमुन र विलासिता सहित नयाँ पर्यटन उत्पादनहरू पनि प्रस्तुत गरिएको थियो ।
सेल्स मिसनमा सिंगापुर वा मलेशियाबाट सहजै पुग्ने गन्तव्यको रूपमा बाटम बिन्टानलाई अघि सारेको जानकारी गराइएको थियो । सिंगापुरबाट बाटम बिन्टान पुग्न एक घण्टाभन्दा कम समय लाग्ने र सो गन्तव्यमा निलो लगुन, वाटर स्पोर्ट्स र अन्य प्राकृतिक आकर्षण छन् । बाटम बिन्टान बाहेक, बान्डुङ्गलाई द्रुत रेल सेवाले जोडेर जाकार्ताबाट ३० मिनेटमा पुग्न सकिने तथा ब्रोमो पुग्न सुराबाया एयरपोर्ट हुँदै बालीबाट एक घण्टाको उडानमै पुग्न सकिन्छ।
नेपाल भ्रमणका क्रममा उपमन्त्री मेड मार्थिनीले बङ्गलादेश र नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हर्तान्तो सुबोलोसँग नेपाल पर्यटन बोर्डका अधिकारीहरूसँग भेट गरी पर्यटन क्षेत्रमा सहयोग सुदृढ गर्न दुवै पक्षको प्रयास र प्रतिबद्धताबारे छलफल पनि गरेकी छन् ।