पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । तर, सिचुवान एयरलाइन्सको उडान नियमित नहुने जोखिम देखिएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजनामा पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडानमार्फत छन्दु पुगेका पर्यटन व्यवसायी र छन्दुका व्यवसायीबीच व्यावसायिक छलफल भएको हो । कार्यक्रम पोखरा पर्यटन परिषद् र छन्दुस्थित नेपाली महावाणिज्यदूतावासको सहकार्यमा सम्पन्न भएको थियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रूपमा सुदृढ रहेको बताउँदै पर्यटन प्रवर्द्धनका लागि सिचुवान एयरलाइन्सको उडानलाई नियमित गरिनुपर्नेमा जोड दिएका छन् । नेपाल भ्रमण वर्ष २०२५ घोषणाले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा नयाँ अवसर सिर्जना गर्ने उनको भनाइ छ ।
छन्दुका पर्यटन व्यवसायीहरूले पोखराको प्राकृतिक सुन्दरताको प्रशंसा गर्दै चिनियाँ पर्यटक आकर्षित गर्न पूर्वाधार विस्तार गर्नुपर्ने बताएका छन् । सिचुवान प्रान्तका परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले चार्टर्ड उडानलाई नियमित गराउन आवश्यक पहल गरिने विश्वास व्यक्त गरेका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा–छन्दु उडानलाई निरन्तरता दिन दुवै देशका पर्यटन व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताएका छन् । पोखरामा चिनियाँ पर्यटकलाई आकर्षित गर्न विशेष प्याकेजहरू सार्वजनिक भइसकेका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखराको साहसिक पर्यटन चिनियाँ पर्यटकहरूका लागि आकर्षक गन्तव्य रहेको बताउँदै उडान निरन्तर नभए चिनियाँ पर्यटकको आगमन घट्ने चिन्ता व्यक्त गरेका छन् ।
छन्दुस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत सुरेश राउतले पोखरा नेपालको दोस्रो ठूलो पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै उडानलाई निरन्तरता दिन महावाणिज्यदूतावास सक्दो सहयोग गर्ने बताएका छन् ।
पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले चिनियाँ पर्यटक लक्षित पूर्वाधार विस्तार भइरहे पनि उडान नियमित नहुँदा त्यसको प्रभाव पर्न सक्ने बताएका छन् । दुई देशका पर्यटन व्यवसायीले साझेदारीलाई मजबुत बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।