जिरीमा पहिलोपटक अन्तर्राष्ट्रिय मोटरसाइकल टुर, २०० भन्दा बढी पर्यटक सहभागी हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2025 | 02:54:46 PM मा प्रकाशित

नेपालको स्विजरल्याण्ड भनेर परिचित जिरी नगरमा काठमाण्डू लिजेन्ड्सले “जिरी मेनिया२०२५” नामक बृहत मोटरसाइकल पर्यटन कार्यक्रम यही चैत्र १५ देखि १७ गतेसम्म आयोजना गर्ने भएको छ। आयोजकले नेपालका विभिन्न जिल्ला, भारत, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्सलगायत विभिन्न देशहरूबाट रोयल एनफिल्ड मोटरसाइकलमा सवार २०० भन्दा बढी पर्यटकहरू सहभागी हुने जनाएका छन्।

यस कार्यक्रमलाई जिरी नगरपालिका, जिरी उद्योग वाणिज्य संघ, जिरी होटल व्यवसायी संघ लगायतका स्थानीय संघसंस्थाले स्वागत गर्नेछन्। जिरी भ्रमण वर्ष २०२५ लाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूले जिरी क्षेत्रका रमणीय पर्यटकीय स्थलहरूको भ्रमण, स्थानीय सांस्कृतिक कार्यक्रम, लाइभ ब्यान्ड, डिजे पार्टी, र स्थानीय परिकारहरूको स्वाद लिने अवसर पाउनेछन्।

कार्यक्रम अवधिमा जिरीका होटेलहरूमा विभाजित रूपमा बसेर सहभागीहरूले स्थानीय बासिन्दासँग भाइचारा आदान–प्रदान गर्नेछन्। साथै, स्थानीय उत्पादन जस्तै चीज, बटर र अन्य कृषिजन्य उपजहरूको प्रचारप्रसार गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

कार्यक्रम अवधिभर जिरी नगरमा आयोजना हुने खेलकुद र सांस्कृतिक गतिविधिहरूमा स्थानीय बासिन्दा तथा अन्य पर्यटकलाई निःशुल्क प्रवेश दिइनेछ, जसले हजारौं दर्शकहरूलाई आकर्षित गर्ने अनुमान गरिएको छ।

संभावित रूपमा जिरीको इतिहासमै पहिलो बृहत मोटरसाइकल पर्यटन कार्यक्रम रहेको यस आयोजनालाई सफल बनाउन जिरी नगरपालिका परिवार, जिरी उद्योग वाणिज्य संघ, जिरी होटल व्यवसायी संघ, प्रमुख प्रायोजक अल्फा अटोमोटिभ प्रा. लि. र रोयल एनफिल्ड लगायतका विभिन्न संघसंस्थाहरूको महत्वपूर्ण योगदान रहेको छ। आयोजकले यस कार्यक्रमले जिरीको पर्यटन प्रवर्द्धन मात्र नभई स्थानीय आर्थिक गतिविधिमा पनि टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved