पोखरा महानगरपालिका र चीनको सिचुवान प्रान्तस्थित लुझाउ नगरबीच पर्यटन, स्वास्थ्य, शिक्षा तथा संस्कृति क्षेत्रमा सहकार्य विस्तार हुने भएको छ। लुझाउ नगर प्रमुख यु छिन्ही र पोखरा महानगरका प्रमुख धनराज आचार्यबीच लुझाउमा सम्पन्न औपचारिक भेटवार्तामा विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यको सहमति जुटाइएको हो।
लुझाउ नगरको निमन्त्रणामा चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलमा प्रशासकीय प्रमुख शिवराज चौलागाईं, वडा नं. २१ का अध्यक्ष दीपक सुवेदी, पर्यटन बोर्ड गण्डकी प्रमुख मणिराज लामिछाने, पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ संयोजक गोपी भट्टराईलगायत सहभागी थिए।
भेटमा प्रमुख आचार्यले पोखरा र लुझाउबीचको भगिनी सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै पोखरा–छेन्दु उडानलाई नियमित बनाउन चीनको सहयोग आवश्यक रहेको बताए। उनले परम्परागत चिकित्सा, खेलकुद, पर्यटन र सांस्कृतिक आदानप्रदानमा सहकार्य गर्ने प्रस्ताव राखे।
लुझाउ नगर प्रमुख यु छिन्हीले पोखरासँगको सहकार्यलाई दीर्घकालीन रणनीतिमा लैजाने प्रतिबद्धता जनाउँदै नेपालको आयुर्वेद पद्धतिसँग अनुसन्धान, तथ्याङ्क संकलन र जडिबुटीबाट औषधि उत्पादनमा सहकार्य गर्ने बताएका छन्।
पर्यटन बोर्ड गण्डकी प्रमुख लामिछानेले पोखरा–छेन्दु उडान चीन र नेपालबीचको पर्यटकीय सम्बन्ध विस्तारका लागि कोसेढुंगा भएको बताए। पोखराका होटल, गाइड र पूर्वाधारहरू चिनियाँ पर्यटकका लागि तयारी अवस्थामा रहेको उनको भनाइ थियो।
भ्रमणका क्रममा दुवै नगरबीच प्रवर्द्धनात्मक सामग्री आदानप्रदान गर्ने सहमति पनि भएको छ। लुझाउ नगर प्रमुखसहितको टोली चाँडै पोखराको औपचारिक भ्रमणमा आउने अपेक्षा गरिएको छ।