मर्मतका लागि मलेशिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ जहाज सोमबार नेपाल ल्याइदैछ । जहाजको ‘गण्डकी’ नामक जहाज सोमबार नेपाल ल्याउने भएको हो ।
जहाजको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै निगमको इन्जिनियरिङ विभागले ४६ दिन अगाडि मर्मतका लागि क्वालालाम्पुर पठाएको थियो । मर्मतका क्रममा सि–डक्टमा पनि समस्या देखिएको थियो । अमेरिकाबाट सि–डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि गत साता मलेसियामा पुनः अर्को सि–डक्ट फिट गरिएको थियो ।
निगमका साहयक प्रवक्ता नवराज कोइरालाले बोइङ मर्मतको काम सबै सकिसकेको जानकारी दिए । गण्डकी जहाज विक्री गर्ने निगमको तयारी छ । सहायक प्रवक्ता कोइरालाले भने, ’ हामी जहाज विक्री गर्ने तयारीमा छौँ, तर विक्री नहुन्जेलसम्म ग्राउण्डेड गर्दैनौ ।’
निगमले जहाज बिक्रीका लागि दुई महिनाअघि स्वीट्जरल्याण्डको फिन्टेक कम्पनीलाई जहाजको आर्थिक मूल्यांकन गर्न परामर्शदाता नियुक्ति गरेको थियो ।
निगमले सन् १९८८ सेप्टेम्बर १ मा ‘गण्डकी’ ल्याएको थियो ।