वाइड बडीको कोरिया जापान यात्रा अझै अन्यौलमा, ‘सेफ्टी अडिट’ गर्नै डरायो निगम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 12:01:15 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ पछि लामो दुरीका उडान भर्ने भनिएका जहाज अहिले थन्किएका छन् । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले केही महिनाअघि ल्याएका एयरबसका ए३३० जहाजले लामो दूरीमा उडान गर्न पाएका छैनन् ।

जापान, कोरिया र साउदी अरेबिया उडान गर्नेगरी ल्याइएका भनिएका जहाज आएको ६ महिना बित्दा पनि ती गन्तव्यका लागि उडान अनुमति पाउन सकेका छैनन । अन्तराष्ट्रिय उडानका विषयमा जहाज आएपछि उडान सुरु हुन बताउने अधिकारीहरु अहिले सम्बन्धित देशले अनुमति नदिएका कारण उडान हुन नसकेको बताउँछन् ।

गत साउनमा दोस्रो वाइड बडी जहाज आएलगत्तै नेपाल एयरलाइन्सका महाप्रबन्धकले दशैंलगत्तै कोरिया तथा जापान उडान हुने बताएका थिए । तर उडान अनुमति नदिएर उडान हुन नसकेको नभई सेफ्टी अडिट नभएका कारण उडान हुन नसकेको भेटिएको छ । विश्वव्यापी हवाइ सुरक्षा मापदण्ड अनुसार छन् कि छैनन् भनी गरिने यस्तो अडिटबाट नेपाली पक्ष डराएकाले कोरिया उडानको च्याप्टर बन्द भएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको भनाइ छ ।

नेपाल एयरलाइन्सले कोरिया उडान गर्ने भन्दै अनुमतिका लागि आवेदन दिएपछि त्यहाँको नागरिक उड्डयन संस्थाले नेपाल सरकारमार्फत्  प्राधिकरण र निगमलाई पत्राचार गरेको थियो । उसले नेपालको उडान अनुमति व्यवस्था, हवाइ सुरक्षाको अवस्था, एयरलाइन्स सञ्चालनको म्यानुअलजस्ता विषयमा विस्तृत अडिट गर्न चाहेको थियो । पछि नेपाली पक्षले तत्काल अडिटका लागि नेपाल नआउन पत्र पठायो ।

हवाइ सुरक्षामा कोरिया संसारकै उत्कृष्ट हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको हवाइ सुरक्षा सूचकमा कोरियाको ९९ प्रतिशत अंक छ । त्यही सूचकमा नेपालको अंक ६७ प्रतिशत छ ।

तत्काल निगमको अडिट भए नेपालको हवाइ उड्डयनलाई कोरियाले ‘वाच लिस्ट’मा राख्न सक्ने डरका कारण रोकिएको प्राधिकरणका अधिकारीहरूको बुझाई छ ।

कोरिया प्रयास असफल भएपछि नेपाल एयरलाइन्सको ध्यान अहिले जापानतिर गएको छ । उडान अनुमति पाउन सबै प्रक्रिया पूरा गरेपछि जापानको नागरिक उड्डयन संस्थाले फेरि अडिट गर्न चाहेको पत्र पठायो ।  

जापानले पहिलो चरणमा निगमको सेफ्टीबारे विभिन्न प्रश्न सोध्दै प्राधिकरणलाई पत्र पठाएको थियो । सो पत्रको जवाफ प्राधिकरणले शुक्रबार पठाइसकेको छ । नेपालले पठाएको जवाफबाट जापान सन्तुष्ट भएन भने ऊ फेरि नेपाल आएर अडिट गर्न सक्नेछ । तर कोरियाले पठाएको पत्र स्वीकार गर्दै अडिटका लागी टोली आउन दिनुपर्ने थियो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफूहरू अडिटमा नडराएको दाबी गर्छन् । आफूहरु जुनसुकै समयमा पनि अडिटको लागी तयार रहेको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved