मुख्य सिजन मै विमानस्थल १० घण्टा बन्द, रोजीरोटी खोसिने व्यवसायीको चिन्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 13, 2019 | 12:43:18 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल चैत्र २८ गतेदेखी दैनिक १० घण्टा बन्द हुँदैछ । हाल दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल चैत २८ (अप्रिल ११) देखि २०७६ असार १५ (जुन ३०) सम्म दैनिक १० घण्टा बन्द हुने भएको हो ।

विमानस्थलको एक मात्र ३ हजार ५० मिटर लामो धावनमार्ग जीर्ण भएपछि त्यसलाई पुननिर्माण गर्न राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको हो । राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडान दिउँसोका लागि सार्ने विमानस्थलको तयारी छ ।

पर्यटन व्यवसायी चिन्तित

पर्यटक आगमनको मुख्य सिजनमा विमानस्थल पुननिर्माणको तयारी थाल्ने कुरा बाहिर आएपछि पर्यटन व्यवसायीले भने चिन्ता प्रकट गरेका छन् । पर्यटकीय गतिविधिको मुख्य सिजनमा एकमात्र अन्तराष्ट्रिय विमानस्थल बन्द गरेर पुननिर्माण गर्दा व्यवसायमा धक्का पुग्ने उनीहरुको गुनासो छ ।

ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष्न नवराज दाहाल सिजन पछाडी वा अगाडी पुननिर्माणको काम सुरु गर्नुपर्न बताउँछन् । ‘पर्यटक आउने मुख्य सिजनमा काम गर्दा पर्यटन क्षेत्रलाई असर पर्छ’ उनले भने,‘असर नगर्ने समयमा काम गर्नुपथ्र्यो ।’

एक जना पर्यटनविद् नेपाल भ्रमण वर्षको पूर्वसन्ध्याका विमानस्थल सुधार गर्ने काम स्वागतयोग्य भएपनि सरकारले सिजनको ख्याल नगरेको बताउँछन् । उनले भने, पुननिर्माण गर्नु राम्रो हो तर पर्यटकीय सिजनको ख्याल नै नगरी बनाउन खोज्दा आगामी वर्ष पर्यटक आगमन त घट्छ नै ।’

सन् २०१८ मा ११ लाख ७२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को जनवरी र फेब्रुअरीमा गरी दुई लाख १५ हजार पर्यटक नेपाल आइसकेका छन् । तर अप्रिलदेखी मुख्य सिजन सुरु हुने भएकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरिए पनि सोही समयमा विमानस्थलको धावनमार्ग सुधारको काम हुने भएकाले आगमन घट्ने आँकलन गर्न थालिएको छ ।

विमानस्थल बन्द हुँदा असर नपारोस् भन्नका लागी सोलुखुम्बु लगायतका क्षेत्रमा जाने पर्यटकका लागी रामेछापको सदरमुकाम मन्थलीस्थित विमानस्थललाई वैकल्पिक रुपमा प्रयोग गर्ने सरकारको तयारी छ । त्यसका लागी मन्थलीको विमानस्थल आसपासमा पर्यटकीय गतिविधि अनुकुलको वाताबरण छ कि भन्ने सम्बन्धनमा अध्ययन भईरहेको जनाईएको छ ।

२० प्रतिशत उडान कटौती

‘अहिले विमानस्थलबाट दैनिक तीन सय उडान हुन्छन्’ विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने, ‘जीर्ण बनेको धावनमार्ग बनाउन उडान बन्द गर्नुपर्ने भएकाले अहिले भईरहेका उडानमा १५/२० प्रतिशत कटौती हुन सक्छ ।’

चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पुननिर्माणको जिम्मा पाएको छ । यो चीनियाँ कम्पनी हो । नागरिक उड्ययन प्राधिकरणले २०३२ सालमा २ किलोमिटर मात्रै लम्बाइ रहेको धावनमार्गमा एक किलोमिटर थपेर तीन किलोमिटर बनाएको थियो । त्यसयता सामान्य मर्मतसम्भार गर्दै धावनमार्ग सञ्चालन भईरहेको छ ।

लागत कति ?

ठेक्का पाएको चीनियाँ कम्पनीसँग दैनिक एक सय ५० मिटर लम्बाइ तथा २५ देखि ६० मिटरसम्म चौडाइका दरले धावनमार्ग सुधार गर्दै तीन महिनाभित्र सबै काम सक्ने गरी ३ अर्ब ७८ करोड रुपैयाँमा सम्झौता भएको छ । ठेकेदारले धावनमार्गबाहेक ट्याक्सी–वे र ड्रेन पूर्वाधार सुधारको लागी १८ महिनाको समयावधि पाएको छ ।

विमानस्थल विकास शुल्कमार्फत उठेको रकमले विमानस्थलको जीर्णोद्धार गर्न लागिएको हो । आर्थिक वर्ष २०७१/७२ देखि यो शीर्षकमा उठाउँदै आईएको रकम हालसम्म ७ अर्ब ५९ करोड रुपैयाँ संकलन भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved