यसरी फेरिदैछ विमानस्थलको ‘रनवे’, राति नै भत्काएर तत्कालै पीच

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2019 | 01:03:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल मर्मतको काम भईरहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग सोमबारदेखी जिर्णोद्धारको काम भईरहेको छ । चाईना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनले मर्मतको ठेक्का लिएको छ । ९० दिनमा धावनमार्ग मर्मतको काम सक्ने लक्ष्यसहित काम सुरु भएको छ । 

कसरी हुन्छ काम ?

दैनिक १०० मिटर धावनमार्ग बनाउने टार्गेट सहित काम सुरु गरिएको छ । पहिलोदिन ८० मिटर धावनमार्ग बनाईएको थियो । एक रात (राती १० बजेदेखी विहान ८ बजेसम्म) मा धावनमार्गको १०० मिटर पुरानो पीच उक्काएर नयाँ पीच गरेर उडान भर्न योग्य बनाईन्छ । 

नेपाल नागरिक उड्ययन प्राधिकरणका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलका अनुसार पहिलो चरणमा जहाजको मुभमेन्ट बढी हुने भागमा पीच गरिने छ । अहिले जहाजले उडान भर्दा र अवतरण गर्दा धावनमार्गको २० मिटर चौडाईमा बढी चाप पर्छ । यो २० मिटर चौडाईसहित पूरै लम्बाई जहाजको चक्का (पाङ्ग्रा) गुड्ने भाग हो । त्यसैले पहिलो चरणमा जहाजको मुभमेन्ट बढी पर्ने भागको स्तरोन्नति हुनेछ । 

विमानस्थलको धावनमार्गको लम्बाई ३ हजार ५ सय मिटर छ । यसको चौडाई ६० मिटर छ । पहिलो चरणमा २० मिटर चौडाईसहित ३ हजार ५ सय मिटर नै कालोपत्रे गरिसकेपछि मात्रै बाँकी काम हुनेछ । 

दोस्रो चरणमा धावनमार्गको मध्यभागभन्दा वारी र पारीको २०÷२० मिटर किनारा पनि पीच हुनेछ । दोस्रो चरणको काम भने जहाजले ओगट्नेभन्दा बाहिरको क्षेत्र भएकाले पहिलो चरणको तुलनामा अलिक छिटो काम हुने अपेक्षा गरिएको छ । यद्यपी ९० दिनको समयसिमा पाएको निर्माण कम्पनीले मौसमले साथ दिए तोकिएकै समयमा काम सक्ने जनाएको छ । पानी परेको खण्डमा भने पीचको काम अवरुद्ध हुन्छ । 

निर्माणको जिम्मा पाएको चिनिया कम्पनीले रसुवागढी नाकाबाट चिनीया उपकरण र औजारहरु ल्याएको छ । उसले आफ्नै देशको प्रविधिमा आधारित भएर नेपालको विमानस्थल मर्मतको काम गर्न थालेकाले तोकिएकै समयमा काम सम्पन हुने नागरिक उड्ययन प्राधिकरणका उप–महानिर्देशक राजन पोखरलेको भनाई छ । 

विमानस्थलको जिरो टु देखि १ हजार ६ सय मिटरसम्मको भाग अत्यन्त बिग्रिएको छ । २०७२ सालमा आएको भूकम्पले यो भागमा बढी क्षति पुर्याएको अध्ययनले देखाएको छ ।

मर्मतको लागी आगामी जुन ३० सम्म राती १० बजेदेखी विहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द हुन्छ । यो समयमा हुने उडान दिउँसोका लागी सारिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विजपाटीलाई जानकारी दिएका छन् । 

लागत कति ?

ठेक्का पाएको चीनियाँ कम्पनीसँग ९० दिनमा धावनमार्गको र १८ महिनाभित्र ट्याक्सी वे को काम सक्ने गरी ३ अर्ब ७८ करोड रुपैयाँमा सम्झौता भएको छ । ठेकेदारले धावनमार्गबाहेक ट्याक्सी–वे र ड्रेन पूर्वाधार सुधारको लागी १८ महिनाको समयावधि पाएको छ । 

उडानका लागी पार्किङ गरेर राखेको ठाउँबाट जहाज जाने र अवतरणपश्चात पार्किङका लागी आउने बाटोलाई ट्याक्सी वे भनिन्छ । अहिले विमानस्थलमा पार्किङका लागी भित्र छिर्ने ७ वटा र उडानका लागी बाहिर निस्कने ट्याक्सी वे एउटा मात्रै छ ।

विमानस्थल विकास शुल्कमार्फत उठेको रकमले विमानस्थलको जीर्णोद्धार गर्न लागिएको हो । आर्थिक वर्ष २०७१÷७२ देखि यो शीर्षकमा उठाउँदै आईएको रकम हालसम्म ७ अर्ब ५९ करोड रुपैयाँ संकलन भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved