देशभित्र दैनिक दुई सय उडान, कुन कम्पनीको कहाँ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 26, 2019 | 05:29:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा आन्तरिक उडान भर्दै आएका वायु सेवा कम्पनीको संख्या ९ वटा छ । पूर्ण सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससहित जम्मा ९ वटा विमान कम्पनीले अहिले देशका विभिन्न भागमा उडान भर्दै आएका छन् । 

निजी विमान कम्पनी बुद्ध एयर, सौर्य एयरलाईन्स, श्री एयरलाइन्स, सिम्रिक एयरलाईन्स र सीता एयरलाईन्सले उडान भर्दै आएका छन् । यीसँगै समिट एयरलाईन्स, तारा एयरलाईन्स र यति एयरलाईन्स नेपालमा आन्तरिक उडान भर्ने कम्पनी हुन् । 

नेपाल एयरलाईन्स

नेपाल एयरलाईन्सले भने चार वटा मोडलका विमानबाट आन्तरिक उडान भर्छ । नेपाल एयरलाईन्स कर्पोरेशनले एमए६०, वाई–१२इ, नेपाल एयरलाईन्स कर्पोरेशन–१ (डिएचसी–६) र नेपाल एयरलाईन्स कर्पोरेशन–२ (डिएचसी–६) बाट आन्तरिक उडान गर्दै आएको छ ।

नेपाल एयरलाईन्स एमए६० ले काठमाडौँबाट विराटनगर, धनगढी, भद्रपुर र नेपालगञ्ज र काठमाडौँ–भैरहवा उडान भर्दै आएको छ । एनएसीले काठमाडौँबाट उडान भर्ने यी गन्तव्यबाट काठमाडौँमा पनि उडान भर्छ । 

नेपाल एयरलाईन्स वाई–१२इ ले काठमाडौँबाट दाङ, सिमरा र लुक्ला उडान भर्दै आएको छ । अहिले काठमाडौँ–लुक्ला उडान भने बन्द छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम भईरहेकाले काठमाडौँबाट लुक्ला उडान रामेछापको मन्थली विमानस्थलबाट भईरहेको छ । 

नेपाल एयरलाईन्स कर्पोरेशन–१ डिएचसी–६ ले सबैभन्दा धेरै उडान भर्दै आएको छ । एनएसीको यो मोडलको विमानले काठमाडौँबाट फाप्लु, भोजपुर, रुकुम र रुकुम–नेपालगञ्ज उडान भर्दै आएको छ । एनएसीको सोही विमानले नेपालगञ्जबाट भोजपुर, साफेबगर, सिमिकोट, डोल्पा, जुम्ला, रुकुम र रुकुम–काठमाडौँ उडान पनि गर्दैै आएको छ । 

काठमाडौँबाट ताप्लेजुङ, विराटनगर, भोजपुर र तामखर्कमा पनि एनएसीले उडान भर्दै आएको छ । यही विमानले काठमाडौँबाट पोखरा र पोखराबाट जोमसोम उडान भर्ने गरेको छ । एनएसीले उडान भर्ने सबै रुटमा दोहोरो उडान हुने गरेको छ । 

बुद्ध एयर

निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयरले अहिले देशका विभिन्न गन्तव्यमा गरि ९३ उडान भर्दै आएको छ । बुद्धले काठमाडौँबाट विभिन्न गन्तव्य, अन्य गन्तव्यबाट काठमाडौँमा र काडमाडौँ बाहिरका गन्तव्यमा पनि दोहोरो उडान भर्दै आएको छ । 

काठमाडौँबाट धनगढी, सुर्खेत, नेपालगञ्ज, भद्रपुर, विराटनगर, भैरहवा र पोखरा बुद्धले गर्ने मुख्य उडान हुन् । पोखराबाट भरतपुर, भैरहवा, जनकपुर, भरतपुर पनि बुद्ध एयरले उडान भर्ने प्रमुख गन्तव्य हुन् । यी गन्तव्यमा बुद्धले दाहोरो उडान भर्ने गरेको छ ।

सौर्य एयरलाईन्स

निजी क्षेत्रको अर्को वायु सेवा कम्पनी सौर्य एयरलाईन्सले भने तीन वटा आन्तरिक गन्तव्यमा मात्रै उडान भर्ने गरेको छ । काठमाडौँबाट विराटनगर, नेपालगञ्ज र भैरहवा सौर्यले उडान भर्ने गन्तव्य हुन् । यो विमान कम्पनीले यी गन्तव्यबाट काठमाडौँमा पनि उडान भर्ने गरेको छ ।

श्री एयरलाईन्स

त्यस्तै विमान सेवा प्रदायक कम्पनी श्री एयरलाईन्सले काठमाडौँबाट धनगढी, नेपागञ्ज र विराटनगर उडान भर्दै आएको छ । काठमाडौँबाट राजविराज, भैरहवा र भद्रपुरमा पनि श्री एयरलाईन्सले उडान भर्ने गरेको छ । यो एयरले उडान भर्दै आएका गन्तव्यमा काठमाडौँबाट सिधैँ उडान हुने गरेको छ ।

सिम्रिक एयरलाईन्स

सिम्रिक एयरलाईन्सले पनि काठमाडौँबाट सिधैँ उडान भर्दै आएको छ । राजधानीस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिम्रिक एयरले भरतपुर र पोखरामा उडान गर्दै आएको छ । पोखराबाट धेरै उडान गर्ने भएपनि भरतपुरबाट भने सिम्रिकको कम उडान हुने गरेको छ । 

सीता एयर

निजी क्षेत्रको अर्को विमान कम्पनी सीता एयरले धेरै उडान गर्ने भएपनि गन्तव्य भने कम मात्रै छन् । सीताले गर्ने उडानमध्ये २५ वटा उडान त रामेछाप–लुक्लाका मात्रै छन् । सीताले काठमाडौँ–लुक्ला, रामेछाप–लुक्ला, रामेछाप–काठमाडौँ, काठमाडौँ–पाल्पा उडान भर्ने गरेको छ । काठमाडौँबाट रुकुम, विराटनगर र विराटनगरबाट डोल्पा, भोजपुर लगायतका गन्तव्यमा उडान भर्दै आएको सीता एयरले सुर्खेत–जोमसोम दोहोरो उडान पनि भर्ने गरेको छ । 

समिट एयर

निजी क्षेत्रद्धारा सञ्चालित वायु सेवा कम्पनी समिट एयरले रामेछाप–लुक्ला दोहोरो उडान धेरै गर्ने गरेको छ । समिटले रामेछाप–लुक्लामा मात्रै २७ वटा उडान भर्दै आएको छ । यसबाहेक यो एयरले पोखरा–जोमसोम र नेपालगञ्जबाट डोल्पा, ताल्चा (मुगु), जुम्ला, भोजपुर र रामेछापमा पनि उडान भर्ने गरेको छ । 

समिट एयरले काठमाडौँ–लुक्ला सिधैँ उडान पनि गर्ने गरेको छ । तर अहिले काठमाडौँबाट उडान बन्द छ । 

तारा एयर

तरा एयर पनि निजी क्षेत्रको वायु सेवा कम्पनी हो । यसले काठमाडौँबाट लुक्ला, पाल्पा, रामेछाप र नेपालगञ्ज उडान भर्दै आएको छ । यसबा अलवा नेपालगञ्जबाट डोल्पा, रारा, जुम्ला, सिमिकोट र भोजपुर उडान पनि तारा मार्फत हुँदै आएको छ । तारा एयरले पोखरा–जोमसोम दोहोरो उडान पनि गर्दै आएको छ । 

यति एयर

निजी क्षेत्रद्धारा सञ्चालित वायु सेवा कम्पनी यति एयरले काठमाडौँबाट ७ वटा गन्तव्यमा उडान भर्दै आएको छ । यस विमान कम्पनीले काठमाडौँबाट पोखरा, विराटनगर, नेपालगञ्ज, भद्रपुर, भैरहवा, जनकपुर र भरतपुर उडान भर्ने गरेको छ । यतिले उडान भर्ने यी गन्तव्यबाट काठमाडौँसम्म दोहोरो उडान पनि हुने गरेको छ । 

योसँगै यति एयरले पोखराबाट भरतपुर र भैरहवामा पनि आन्तरिक उडान भर्दै आएको छ । यतिको काठमाडौँ पोखरा दोहोरो उडान मात्रै १७ वटा छन् । 

सरकारी र निजी क्षेत्रद्धारा सञ्चालित विमान कम्पनीले अहिले त्रिभुवन विमानस्थल स्तरोन्नतिको काम भईरहेकाले काठमाडौँबाट हुने सबैजसो उडान वैकल्पिक विमानस्थलबाट गर्दै आएका छन् । नेपालभरीमा हाल दैनिक करिब २ सय वटा आन्तरिक उडान हुँदै आएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणका उप–महानिर्देशक राजन पोखरेलका अनुसार नेपालमा सञ्चालित एयरलाईन्सले गर्दै आएका आन्तरिक उडानको यो रुट २१ अप्रिल २०१९ देखी ३० जुन २०१९ सम्म लागु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved