हिमाल आरोहणको अनुमति लिने पर्यटकहरु बढे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 11:59:57 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारीका कारण ठप्प भएको नेपालको पर्यटन क्षेत्र पूर्ववर्त अवस्थामा फर्किन थालेको छ । लामो समयदेखि बन्द जस्तै बनेको नेपालको पर्यटन क्षेत्रमा विस्तार चहलपहल सुरु हुन थालेको हो । पर्यटकको चहलपहल सुरु हुन थालेपछि हिउदे यामको हिमाल आरोहणको अनुमति लिने पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ । 

पर्यटन विभागको तथ्यांक अनुसार विन्टर अर्थात हिउदे सिजनमा ७ वटा हिमाल आरोहणका लागि ४३ जना आरोहीले आरोहण अनुमति लिएका छन् । ४३ जना मध्येमा तीन वटा हिमाल आरोहणका लागि २१ जना नेपाली र २२ जना विदेशी आरोही रहेको विभाग अन्तरगतको पर्वतारोहण शाखाले जनाएको छ । 

उक्त शाखाको निर्देशक मीरा आचार्यका अनुसार यस सिजनका लागि आरोहण अनुमति लिने २२ जना विदेशी नागरिक मध्येमा १० जना स्पेनी नागरिक रहेका छन् । पछिल्लो समय हिउदे सिजनमा नेपाली हिमाल आरोहणमा स्पेनी आरोहीको आकर्षण देखिन थालेको छ । गत वर्षको सोही सिजनमा विभिन्न हिमाल आरोहणमा २५ भन्दा बढी स्पेनी नागरिकले आरोहण अनुमति लिएका थिए । 

उनका अनुसार ५ वटा हिमाल आरोहणका लागि स्वीस्स, इजीप्ट, ओमन र टर्किका एक/एक जना, युएसएका ४ जना, भारत, कतार, इटाली र म्याक्सिकोका एक/एक जना रहेका छन् । 

विभागका अनुसार हिउँदे सिजनका लागि लागि लुजा पिक (५७२६ मि) आरोहणका लागि तीन जना, मनास्लु आरोहणका लागि चार जना र थापा पिक आरोहणका लागि ११ जना नेपाली आरोहीले आरोहण अनुमति लिएका छन् । यसैगरी क्याङ्गु री (६५०६ मि.) आरोहणमा एक जना, अमादब्लम (६८१४ मि), ८ जना, सुर्मा सरोवर (६५२३ मि) मा २ जना र रोकापी (५४६७ मि) हिमाल चढ्न २ जना र मनास्लु (८१६३ मि) मा १२ जना विदेशी आरोहीले आरोहण अनुमति लिएका हुन् । 

त्यसमा पनि यो सिजन आगामी बसन्त ऋतुमा सगरमाथा चढ्नेले साना हिमाल आरोहण गरी अभ्यास गर्ने गर्छन् । ४३ जना आरोहीबाट विभागले ८ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन समेत गरेको छ । 

सरकारले चार अंग्रेजी सिजनलाई तीन भागमा विभाजन गरेर हिमाल आरोहणको शुल्क लिदै आएको छ । जसमा स्प्रिन्ङ सिजनमा सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर, अटममा त्यस्को ५० प्रतिशत अर्थात ५ हजार ५ सय र विन्टर र समरमा अटम सिनको आधा अर्थात २७ सय ५० डलर तोकिएको छ । 

सरकारले गत वर्षबाट बाह्रै महिना हिमाल आरोहणका लागि खुला गरेको थियो । तर कोरोना महामारीका कारण बन्द भएको हिमाल आरोहण विस्तार सुरु हुन थालेको हो ।  

यो वर्ष शरद ऋतुमा भने ८ टोलीका ५८ जना आरोहीले आरोहण अनुमति लिएका थिए । त्यसमध्ये ५१ पुरुष र ७ महिला थिए । अघिल्लो सिजनबाट सरकारले ३३ लाख ७ हजार ४ सय ८२ रुपैयाँ रोयल्टी प्राप्त गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved