हिमाल हेर्न ‘माउण्टेन फ्लाइट’, सुदूरपश्चिम जान ‘हेली टूर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 01:53:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस (कोभिड–१९) का कारण सिथिल बनेको पर्यटन क्षेत्र उकास्न व्यवसायीहरु आ–आफ्नै रणनीतिमा छन् । अन्तराष्ट्रिय पर्यटकहरु तत्काल नआउने देखेपछि आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर व्यवसायीले योजना बनाउन थालेका छन् ।

माउण्टेन फ्लाइट

पर्यटन क्षेत्र उकास्न नेपालका २ वटा एयरलाइन्स कम्पनीहरुले ‘माउण्टेन फ्लाइट’ सुरु गरेका छन् । बुद्ध एयर र यती एयरले माउण्टेन फ्लाइट गरिरहेका छन् । यसले सुस्ताएको पर्यटन क्षेत्रले गती लिने विश्वास लिईएको छ ।

पौष ४ गते एकैदिन ९ वटा पर्वतीय उडान भएका थिए । अहिले बुद्ध एयरले हरेक शनिबार उडान गर्दै आएको छ । बुद्धले एउटा टिकटको खरिदमा अर्को सित्तैमा दिने अफर पनि ल्याएको छ । 

यती एयरलाइन्सको पौष २७ गतेबाट सिमराबाट पनि पर्वतीय उडान सुरु गरेको छ । उत्तर नेपालका हिमाल श्रृङ्खलाको अवलोलकन गर्दै हवाई जहाजबाट चुचुरोलाई छ्याङ्गै देखिने गरी घुम्नुको मज्जा पनि बेग्लै हुन्छ । 

हेली टूर

माउण्टेन फ्लाइटसँगै अब ‘हेली टूर’ पनि सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख चिनारी मानिने खप्तड घुम्न हेली टूर सुरु भएको हो । खप्तडको प्रवेशद्वार झिग्रानास्थित खप्तड होमस्टेले हेली टुर सुरु गरेको हो ।

बुधबार पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित २० जना बढी खप्तड पुगेर अभियानमा ऐक्यवद्धता जनाएका छन् । 

हेलिकोप्टरमार्फत खप्तड घुम्न पाँच किसिमका प्याकेज छन् । धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्न छुट्टाछुट्टै प्याकेज ल्याइएको छ ।

उठ्ला त पर्यटन क्षेत्र ?

पर्यटन क्षेत्रको विकास, अन्तराष्ट्रिय जगतमा नेपालको प्रचार, नेपाली माटो सुहाउँदो पर्यटन नीति र योजना बनाउने नेपाल पर्यटन बोर्ड अहिले मूलतः सुतिरहेकै अवस्थामा छ । कोभिड पछि पर्यटन क्षेत्रलाई उठाउन बोर्डले खेस्रा योजना बनाएपनि कार्यान्वयन गराउन सकेको छैन ।

यही अन्यौलकै बीचमा व्यवसायीहरु भने सम्भावनाका बाटाहरु खोज्न थालेका छन् । सम्भावना खोज्ने क्रममा नै माउण्टेन फ्लाइट र हेली टूरको विकास भएको हो । यद्यपी माउण्टेन फ्लाइट पहिला पनि हुने गरेको थियो । तर, त्यतिबेला नेपाली नभई विदेशी पर्यटकहरु बढी हुन्थे । अहिले भने सबै नेपाली छन् । 

‘माउण्टेन फ्लाइट पर्यटन व्यवसायी बाँच्ने प्रमुख आधार हो अहिलेको लागि’ बुद्ध एयरका सेल्स मार्केटिङ एण्ड ग्राउण्ड ह्याण्डलिङ डिपार्टका प्रमुख रुपेश जोशी भन्छन्, ‘हाम्रो विजनेश पनि हुन्छ, ट्राभल कम्पनीहरु पनि सस्टेन हुन्छन् । यो राम्रो विकल्प हो, यसले राम्रो गती लियो भने पर्यटन क्षेत्र डोमेस्टिक टुरिष्टले नै उठ्ने देखिन्छ ।’

सुदूरपश्चिम लक्षित हेली टूर पनि सुरु भएका कारण यो अब देशव्यापी बन्नुपर्ने पर्यटन व्यवसायी कृष्ण बहादुर महरा बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved