ठेगान नै नभएका ग्राहकको बाटो हेरिरहेको ठमेल

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 16, 2021 | 03:45:50 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाका कारण थलिएको पर्यटकीय केन्द्र ठमेल क्षेत्र अहिलेसम्म उठ्न सकेको छैन । तर, राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत रियलस्टेट र घरजग्गा व्यवसायमा क्रमशः सुधार भईरहेको जनाएको छ । राष्ट्र बैंकको प्रतिवेदन र ठमेलको अवस्था भने ठिक विपरित छ ।

ठमेल एरियाका धेरै सटरहरू बन्द अवस्थामै छन् । सटर खुलेका पसल तथा रेस्टुरेन्टमा पनि ग्राहक छैनन् । रात्रीकालिन व्यवसायहरु दोहोरी साँझ, क्लब र डान्स बार भने फाट्टफुट्ट चल्न थालेका छन् । तर दिवाकालिन व्यवसायको व्यथा भने लकडाउन अवधिको भन्दा फरक छैन ।

३० प्रतिशत सटर बन्द

‘व्यवसाय टिकाउन मुस्किल छ, नगरौँ भने पनि भाडा तिर्न टन्नै छ, गरौँ न त भनेर खोल्यो ग्राहक आउँदैनन्’ एक जना क्लबका सञ्चालकले भने, ‘ठमेलका धेरै क्लब बन्द भइसके, खुलेका भनिएका हाम्रो हालत देखिहाल्नुभयो ।’

ठमेल पर्यटन विकास परिषद् कोरोनाका बीचमा धेरै व्यवसायि विस्थापित भएको र अहिले पनि धेरै व्यवसायिहरु आफ्नो व्यापार बन्द गर्ने मनस्थितिमा पुगेको बताउँछ । कोभिड–१९ टुरिजम बिजनेस डिजास्टर को–अर्डिनेसन कमिटीका संयोजक भविश्वरका अनुसार अहिलेसम्म ३० प्रतिशत जति सटर बन्द छन् । कतिपय व्यवसायि भने घर धनीसँग कुरा नमिलेर अब नफर्किने गरी फर्किएको उनको भनाई छ । 

२०२२ बाट लयमा फर्किन्छ कि !

ठमेल भनेको विदेशी पर्यटकसँग आश्रित व्यवसायीक केन्द्र हो । जब, विदेशी पर्यटक आउँदैनन् तब ठमेल क्षेत्रको यात्रा एकोहोरो ओरालो लागिरहन्छन् । कोभिडका कारण विदेशी पर्यटक तत्काल आउने सम्भावना नरहेका कारण सन् २०२१ भरी ठमेल क्षेत्र सुनसान नै देखिने व्यवसायीहरुको अनुमान छ ।

ठमेल विकास परिषद्का पूर्वअध्यक्ष रामशरण थपलिया ठमेलले पूर्ववत् लय समात्न अझै कम्तीमा १ वर्ष लाग्ने बताउँछन् । लकडाउनपछि ठमेलका घरधनीले व्यवसायीलाई ३० देखि ७० प्रतिशतसम्म घरभाडा छुट दिएपनि अब भने धान्न सकिने अवस्था नरहेको एक जना व्यवसायीले गुनासो गरे ।

केही घरधनीले भने लकडाउन भएको ६ महिनादेखि २ वर्षसम्म भाडा छुट दिने निर्णय गरेका थिए । यो छुट पाएको पनि ११ महिना भइसकेको छ । 

सधैँ भिडभाड हुने ठमेल अहिले सुनसान छ । खचाखच विदेशी पर्यटकले भरिने सो क्षेत्रमा अहिले मुस्किलले केही नेपाली ग्राहक पुग्छन् । तर, यो ठमेल क्षेत्रको महँगीका लागि पर्याप्त नहुने व्यवसायीको गुनासो यथावत छ ।

जनयुद्धको भन्दा बढी घाटा

नेपालको पर्यटन क्षेत्रमा माओवादीको शसस्त्र युद्धले प्रभावित पारेको थियो । नेपालमा अशान्ति छ भनेर विदेशी पर्यटक त्यतिबेला एकदमै कम मात्रामा आउने गर्थे । 

‘त्यतिबेला कम मात्रामा भएपनि विदेशी पर्यटकको अनुहार हेर्न पाइन्थ्यो’ एकजना रेष्टुरेन्ट सञ्चालकले भने, ‘अहिले त माओवादी द्वन्द्व, २०६२/०६३ को जनआन्दोलन, २०७२ सालको भूकम्प, नाकाबन्दीमा भन्दा पनि बढी घाटा खानु परेको छ ।’ 

ती रेष्टुरेन्ट सञ्चालकको भनाईलाई काठमाडौं गेस्टहाउस नजिकै चोकमा रहेको हटब्रेड रेष्टुरेन्ट बन्दले पनि पुष्टि गरेको छ । उक्त रेष्टुरेन्ट बन्द भएपछि अहिले त्यहाँ लैनचौरको त्रिसाराले आउटलेट खोलेको छ । 

ठमेलका डिस्को, दोहोरी, डान्स बार, नाइट क्लबमा प्रायः नेपाली नै बढी हुने गर्थे । तर, कोभिडपछि डर र आम्दानी नहुँदा रात्रीकालिन रमाइलोका लागि मानिसहरु जानै छोडेका छन् ।

ठमेल क्षेत्रमा नाङ्लोमा व्यापार गर्ने, रिक्सा चलाउनेदेखि ट्याक्सी चालक सम्मको दैनिकी जोडिएको हुन्छ । तर, अहिले उनीहरु हरेक दिन आउने ठेगान नभएका ग्राहकको पर्खाइमा बस्नुपरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved