‘एक वडा एक पार्क’ अभियान अन्तर्गतका काठमाडौँमा ५० पार्क बन्दै, आजै २ वटा शिलान्यास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 03:19:05 PM मा प्रकाशित

laxmi  sunrise bank

‘एक वडा एक पार्क निर्माण’ को नीति अनुरुप काठमाडौँ महानगरपालिकाले आज वडा नम्बर ३२ मा २ वटा पार्कको शिलान्यास गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ गरी २ पार्कको आज एकै पटक शिलान्यास गरेका हुन् ।

पार्क शिलान्यासपछि सम्वोधन गर्दै प्रमुख शाक्यले साना ठूला गरी काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ५० वढी पार्क निर्माण भईरहेको जानकारी दिए । 

‘सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयहरुको अपनत्व रहने गरी उहाँहरुलाई नै संरक्षणको जिम्मा दिने नीति अनुसार हामीले प्रत्येक वडामा कम्तीमा एक पार्क निर्माणको अभियान अघि बढाएका हौँ,’ उनले भने, ‘जहाँ–जहाँ सार्जजनिक जमिन छ, त्यहाँ–त्यहाँ त्यो जग्गाको संरक्षण गर्दै साना–ठूला पार्क बनाउँदै आएका छौँ ।’

उनले कतिपय जमिन गुठीका नाममा रहेका कारण पार्क निर्माण गर्ने र हरियाली कायम गर्ने कुरामा समस्या भएको बताउँदै उनले गुठी संस्थानको स्वामित्वमा रहेका जमिन कुत तिर्ने गरी लिएर पार्क बनाउने प्रस्ताव गरिएको जानकारी गराए । 

‘हामीले कुत बुझाउँछौँ, तपाईँहरुले महानगरपालिकालाई लिजमा दिनुहोस् । त्यहाँ हरियाली पार्क निर्माण गर्छौ भनेर प्रस्ताव राखेका छौँ,’ प्रमुख शाक्यले भने, ‘व्यवसायिक भवन अहिले नीजि क्षेत्रबाट प्रयाप्त बनेका छन् । गुठीको जमिनमा व्यवसायिक भवनको आवश्यक छैन । त्यहाँ पार्क निर्माण गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।’

काठमाडौँ आधुनिक र परम्परागत साँस्कृतिक विशेषता भएको शहर भएको भन्दै उनले त्यसको पहिचान जोगाउनुपर्ने चुनौति रहेको पनि स्वीकार गरेका छन् ।

‘काठमाडौँको विशेषता अलग्गै छ । भित्री शहर सम्पदा नै सम्पदा, मन्दिर नै मन्दिर,  देवता नै देवताले भरिएको छ,’ मेयर शाक्य भन्छन्, ‘त्यसपछि नयाँ विकास भएको शहर पनि यही महानगरपालिका भित्र छ । यी दुईलाई आधार बनाएर हामीले यहाँको विकासका लागि नीति बनाउनुपर्छ र त्यसै अनुरुप गर्दै आएका छौँ ।’ 

काठमाडौँ भौतिक पूर्वाधार विभागका प्रमुख राम थापाले यो आर्थिक वर्षमा मात्रै करिब ३५ वटा पार्क निर्माणको तयारीमा रहेको बताएका छन् । 

अमरावती पार्क उपभोक्ता समितिका अध्यक्ष सरोज नेपालले पार्क निर्माणको निगरानी गर्न समितिकातर्फबाट २ जना इञ्जिनियर र २ जना सामाजिक परिचालकलाई नियमित खटाउने बताए ।

११ आना जमिनमा निर्माण हुने दोभाव पार्क ६७ लाखको लागतमा निर्माण हुँनेछ भने ४ रोपनी क्षेत्रफलमा निर्माण हुने अमरावती पार्क करीब ९० लाखको लागतमा निर्माण हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved