सौराहाका ३५ सय कोठा ‘बुक’, एमाले कार्यकर्तालाई २ रात सुत्ने र ५ छाक खाने व्यवस्था

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 22, 2021 | 12:16:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ । महाधिवेशनको मिति नजिकिएसँगै चितवनका होटल व्यवसायी उत्साहका साथ आतिथ्य सत्कारमा जुटिसकेका छन् ।

एमालेको महाधिवेशनमा ५ लाख बढी नेता कार्यकर्ता उपस्थित हुने छन् । नारायणी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा हुनेछ । जसका कारण सौराहाका होटल व्यवसायीहरुलाई एमाले महाधिवेशनले उत्साह थपिदिएको छ ।

सेवा सुविधा थप गर्नेदेखि होटलको सजावटमा व्यवसायीहरु व्यस्त छन् । कोरोनाको मार खेपेर बल्ल खुलेका होटलहरुले राहतको महशुस गर्ने बताउँछन् चितवन होटल एण्ड रेष्टुरेन्टका सञ्चालक कृष्ण क्षेत्री । 

चितवन ल्याण्डमार्क होटलकी सञ्चालक पार्वता पाण्डे आफूहरुले एमालेको महाधिवेशन केन्द्रित तयारी करिब करिब सकेको र बिदामा रहेका ‘स्टाफ’हरुलाई पनि काममा फर्काइसकेको बताउँछिन् ।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष दीपक भट्टराई एमालेले महाधिवेशनका लागि चितवनलाई रोज्नु भनेको विदेशी अतिथिमार्फत चितवनको बारेमा अन्तराष्ट्रिय स्तरमा प्रचार हुनु भएको बताउँछन् । उनले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनले कोरोनाबाट थलिएका चितवनका होटल व्यवसायीलाई राहत मात्रै नभई निरन्तर व्यवसायमा क्रियाशील हुन प्रेरित पनि गर्ने बताए ।

३५ सय कोठा बुक, ४५ सयसम्म ‘चार्ज’

एमालेले चितवनमा ३५ सय कोठा (बेड) लिने गरी सम्झौता नै गरेको छ । २१ सय महाधिवेशन प्रतिनिधि, १५ सय स्वयंसेवक र ५ सय अतिथि तथा पत्रकारका लागि गरी कुल ३५ सय बेड लिने गरी एमालेले क्षेत्रीय होटल संघ सौराहासँग सम्झौता नै गरेको छ ।

महाधिवेशनलाई नै केन्द्रित गरेर होटल व्यवसायीहरूले अरु समयमा १० हजार रुपैयाँ ‘चार्ज’ लाग्ने कोठा अहिले ४५ सयमै उपलब्ध गराउने भएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अनुसार न्युनतम् १५ सयदेखि ४५ सयसम्मका कोठा उपलब्ध गराईएको छ । संघको सदस्य रहेका होटलले मूल्यमा एकरुपता कायम गर्न प्याकेज ल्याएका हुन् ।

संघमा आवद्ध होटलहरुमा कुल ६५ सय बेड छन् । यहाँ ए, बी, र सी ग्रेडमा होटलको वर्गीकरण गरिएको छ । ए ग्रेडका होटलमा स्वीमिङ पुल र एयर कन्डिसनको सुविधा उपलब्ध हुनेछ । यस्ता होटल चितवनमा २० वटा छन् । बी र सी ग्रेडका होटलमा भने स्वीमिङ पुल र एयर कन्डिसन सुविधा उपलब्ध हुँदैन ।

‘ए’ ग्रेडका होटलको एउटा कोठाको एक दिनको ४५ सय, ‘बी’ ग्रेडको होटलको एउटा कोठाको एक दिनको लाई २५ सय र ‘सी’ ग्रेडको होटलको एउटा कोठाको एक दिनको १५ सय शुल्क तोकिएको छ ।

२ रात सुत्ने, ५ छाक खाने व्यवस्था

एमालेले महाधिवेशनको लागि चितवन पुग्ने कार्यकर्तालाई २ रात सुत्ने र ५ छाक खाने व्यवस्था गरेको छ । महाधिवेशनको मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार यदि पार्टीले दिएको सुविधा भन्दा बढी उपभोग गर्न चाहे वा बढी समय बस्ने र घुमफिर गर्न चाहे आफैँले खर्चको व्यवस्था गर्नुपर्ने छ ।

महाधिवेशन अवधिमा सौराहामा मात्रै ५ करोड बढी कारोबार हुने अपेक्षा व्यवसायीको छ । महाधिवेशन लागेसँगै व्यवसायीले अरु प्रयोजनका लागि होटल बुकिङ ‘क्यान्सिल’ गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved