रात्रिकालिन व्यवसाय खुलाउन गृहको ‘ग्रीन सिग्नल’, व्यवसायी उत्साहित

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 28, 2021 | 12:32:42 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल तस्बिर

रात्रिकालिन व्यवसाय सञ्चालनको वातावरण तयार पार्न गृह मन्त्रालय सकारात्मक देखिएको छ । होटल तथा रेष्टुरेन्टलाई दिनमा र रातमा सञ्चालन गर्न दिने विषयमा गृहमन्त्री बालकृष्ण खाँण सकारात्मक देखिएका हुन् ।

गत सोमबार अर्थ मन्त्रालयमा आयोजित ‘पुँजीगत खर्च सम्बन्धी अन्तर–मन्त्रालय छलफल’मा गृहमन्त्री खाँणले होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्ने प्रस्ताव गरेका हुन् । उनले प्रस्तावमा भने अनुसार यसले व्यवसाय बढ्ने र त्यसले सरकारको राजस्व बढ्नेछ ।

सुरक्षा दिन गृह तयार

यदि होटल तथा रेष्टुरेन्ट रातीको समयमा पनि सञ्चालन हुँदा सुरक्षा चुनौती बढ्ने भएपनि त्यसको व्यवस्थापन गर्न गृह मन्त्रालय तयार रहेको मन्त्री खाँणको दाबी छ । 

‘यस प्रयोजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार छ’ उनले भनेका थिए ।

व्यवसायीहरुले लामो समयदेखि रात्रिकालिन व्यवसाय खुला गर्न माग गरिरहेको अवस्थामा गृहमन्त्रीले नै प्रस्ताव गर्नु र सुरक्षाको व्यवस्थापन गर्न तयार रहेको बताउनु स्वागतयोग्य भएको व्यवसायी बताउँछन् । 

पर्यटन चलायमान

रात्रिकालिन व्यवसाय खुला हुँदा आन्तरिक र बाह्य पर्यटन पनि फस्टाउने अपेक्षा व्यवसायीहरुको छ । काठमाडौँको ठमेल, पोखराको लेकसाइट र चितवनको सौराहामा रात्रिकालिन व्यवसायको माग उच्च रहेको पर्यटन बोर्ड बताउँछ ।

कोरोना महामारी सुरु हुनुभन्दा अगाडी ठमेल, सौराहा र लेकसाइडका व्यवसायीले पटक पटक यो विषय उठाउँदै आएका थिए । विदेशका पर्यटकीय गन्तव्यको मुख्य आकर्षण रात्रिकालिन व्यवसाय पनि भएकाले नेपालमा पनि यस्तो व्यवसाय सञ्चालन गर्न दिईनुपर्ने पोखराका पर्यटन व्यवसायी हरि भुजेल बताउँछन् ।

रोजगारीमा वृद्धि

दिउँसोको समयमा मात्रै व्यवसाय चल्दा जति रोजगारी सिर्जना भएको छ, रातीको समयमा पनि चल्दा सोही बराबरको रोजगारी सिर्जना हुने रेष्टुरेन्ट तथा होटल व्यवसायीको भनाई छ । 

‘व्यवसाय दिनमा र रातमा गरी दोब्बर समय चल्ने भएपछि होटल तथा रेष्टुरेन्टलाई कामदार पनि दोब्बर संख्यामै चाहिन्छ’ पर्यटन व्यवसायी राज मैनाली भन्छन्, ‘साना साना गन्तव्यमा पनि यस्तो व्यवसाय बढाउँदै लैजानुपर्छ, यसले रोजगारीसँगै स्थानीय उत्पादनको खपत बढाउँछ ।’

रात्रिकालिन यातायातको विस्तार

अहिले रात्रिकालिन यातायातको सुविधा कमजोर छ । ठमेल, दरबारमार्ग लगायतका क्षेत्रमा ट्याक्सीले रात्रिकालिन सेवा दिने गरेको भएपनि त्यो पर्याप्त छैन । यदि रात्रिकालिन व्यवसाय खुलेको अवस्था र होटल तथा रेष्टुरेन्ट पनि २४ सै घण्टा खुल्ने अवस्था आएमा सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ ।

यदि, सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गरेको खण्डमा सेवाग्राहीले सस्तोमा सेवा पाउने र यातायात व्यवसाय पनि फस्टाउने व्यवसायीहरुको दाबी छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved