फेवातालबाट सराङकोटसम्मको केबलकार सञ्चालनमा आउँदै, कति छ टिकट मूल्य ?

रासस

रासस

Feb 16, 2022 | 02:34:46 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ ।

अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष गुरुङ छन् । गुरुङसहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्वजापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयवासीको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ । 

अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ गर्न लागिएको हो । आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक सञ्चालन हुने अन्नपूर्ण केबुलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताए । स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको उनको भनाइ छ । 

उनले भने, “अङ्ग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक सञ्चालनको योजना रहे पनि प्राविधिक समस्याका कारण ढिलाइ भएको हो । अब फागुन ६ गतेदेखि यसको सफ्ट लञ्चिङसहित सेवा सुरु गर्दैछौँ ।” केबुलकार सञ्चालनमा आएसँगै फेवातालको किनारबाट झण्डै नौ मिनेटमा सराङकोट पुग्न सकिने कम्पनीले जनाएको छ ।

अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखि ४५ मिनेट समय लाग्छ । केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ । 

प्राकृति सुन्दरताले भरिएको पोखरामा केबुलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्नेछ । प्राकृतिक सुन्दरताले विश्वमा नै ख्याति कमाएको सहरमा नयाँ गन्तव्यले पर्यटकको बसाइ लम्बाउन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । केबुलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबुलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाउनेछन् । सराङकोट सूर्योदय र सूर्यास्तसहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात छ । 

केबुलकारमा हालसम्म२ अर्ब रुपैयाँ लगानी भएको निर्देशक त्रिपाठीले जानकारी दिए । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारणले पनि परियोजना सम्पन्न हुन ढिलाइ भएको र लागत बढेको हो ।

केबुलकारमा जडान गरिएका उपकरण र प्रविधि पछिल्लो समयमा विकास भएको आधुनिक भएको बताइन्छ । जापानको ‘निप्पल केबुल’ कम्पनीबाट डिजाइन र  विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ । केबुलकारमा पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी छ ।

कम्पनीले नेपालीका लागि  ७००, सार्क राष्ट्रका पर्यटकका लागि ८०० र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरिएको परियोजनाका महाप्रबन्धक दिनेश पौडेलले जानकारी दिए । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ । स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत आयोजनामा लगानी गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved