३ वर्षे कार्यकाल सकेर टानबाट बिदा हुँदै खुम सुवेदी, के के गरे, के के गर्न सकेनन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 02:37:39 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को नेतृत्वबाट खुमबहादुर सुवेदी बाहिरिँदै छन् । साउन ३० गते ३ वर्षे कार्यकाल पूरा गरेर टानको अध्यक्ष पद नयाँ आउने अध्यक्षलाई हस्तान्तरण गर्न लागेका सुवेदीसँग ३ वर्ष अगाडी निकै रहरलाग्दा योजना थिए ।

त्यतिबेला सबैभन्दा चर्चामा थियो पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्री वापतको रकमको हिसाब मिलान । पर्यटन बोर्ड र टानबीच यहीँ विषयमा झण्डै ‘लफडा’को स्थिती थियो । सुवेदीले यसलाई आफ्नो चुनावी नारा बनाए । आफू निर्वाचित भए टिम्सको समस्या समाधान गर्ने उनको दाबी थियो ।

हाल यो विषय पेचिलोबाट समाधानको करिब करिब नजिक पुगेको छ । टानले आफ्नो तर्फबाट हिसाब गरेर कागजात बुझाएको छ । 

‘मैले टिम्सको समस्या समाधान गर्छु भनेको थिएँ, हामीले रिपोर्ट बुझाएको छौँ’ सुवेदीले भने, ‘अब हिसाब मिलानतर्फ छौँ । समस्या समाधानको एकदम नजिक पुगिएको छ ।’

टिम्स कार्डबापत पर्यटन बोर्ड र टानले प्रतिव्यक्ति १० डलर (सामूहिक) र प्रतिव्यक्ति २० डलर (एकल जाने) संकलन गर्दै आएको थियो । यस्तो शुल्कबाट संकलन भएको रकम टानमा ३० प्रतिशत, पर्यटन बोर्डमा ३० प्रतिशत र दुवै संस्थाको संयुक्त कोषमा ३० प्रतिशत जम्मा हुन्छ । बाँकी १० प्रतिशत रकम भने मजदुर कल्याणकारी कोषमा जम्मा हुन्छ  ।

‘कोभिडका कारण अन्तराष्ट्रिय एक्स्पो गर्न सकेनौँ’

खुम सुवेदी टानको अध्यक्षमा निर्वाचित भएको वर्ष नै कोरोना सुरु भयो । कोरोनाकै कारण अन्तराष्ट्रिय फोरमहरुमा नेपालका पदयात्रा गन्तव्यको प्रचार हुने ‘एक्स–पो’हरुको आयोजना गर्न नसकेकोमा उनलाई केही खिन्न भने छ ।

‘इन्टरनेशनल एक्स–पोहरु गर्ने लक्ष्य थियो, कोभिडका कारण सकिएन’ सुवेदीले भने, ‘आन्तरिक रुपमा रोल्वालिङ लगायतका केही डेस्टिनेशन बनाउन खोजेका छौँ, तर अन्तराष्ट्रिय स्तरमा नेपालको ट्रेकिङ रुट र हाम्रा रुटहरुमा यात्रा गर्दा हुने फाइदाका विषयमा निकै राम्रो प्रचार गर्छु भन्ने थियो । कोरोनाले गर्न दिएन ।’

के के भए काम ?

टानमा खुम सुवेदीको अध्यक्षको कार्यकाल दुःखद रहेन । अपेक्षा र चुनावी दौडका समयका गरिएका कतिपय कबोलहरु पूरा नभएपनि पर्यटन ऐन निर्माण, कोरोनाबाट प्रभावित व्यवसायीलाई पुनःकर्जाको व्यवस्था, ट्रेकिङ गाइडहरुलाई क्रेडिट कार्ड, कोभिडका समयमा फुड बैंक लगायतका काम उनको नेतृत्वमा भए ।

मुख्य महत्व राख्ने काम के भयो भने, निकै पूरानो पर्यटन ऐन २०३५ परिमार्जन भएर पदयात्राका विषयमा पनि समेटिएर नयाँ ऐनको मस्यौदा बनिसकेको छ ।

सँगै, उद्योग वाणिज्य महासंघमा पर्यटन क्षेत्रले खासै प्रतिनिधित्व नपाईरहेको समयमा अहिले महासंघमा पनि महत्व पाएको छ । 

यी केही दीर्घकालिन महत्व राख्ने कामहरु गरेका खुम सवेदी टानको अध्यक्षबाट सम्भवतः साउन ३१ गते (निर्वाचन भएर मत परिणाम आएको खण्डमा) बिदा हुनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved