टान चुनावमा एमाले–माओवादी मिले समाजवादी काँग्रेसतिर, एक्ला एक्लै लडे कसको सम्भावना बढी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2022 | 10:31:01 AM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)को अधिवेशन तथा साधारणसभा साउन ३० गते हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले आकांक्षीहरु खुल्न थालेका छन् ।

हालका अध्यक्ष खुमबहादुर सुवेदी बिदा हुँदैछन् । विधानले नै एक व्यक्ति एक कार्यकाल मात्रै अध्यक्ष हुने व्यवस्था गरेको छ । त्यसकारण पनि सुवेदीले दोहोर्याउन पाउँदैनन् ।

को को छन् आकांक्षी ?

टानको अध्यक्षका लागि हालसम्म ६ जनाले तयारी थालेका छन् । विभिन्न राजनीतिक दल निकट पर्यटन व्यवसायीका संगठनहरु र स्वतन्त्र व्यवसायीको तर्फबाट समेत नेतृत्वमा दाबी गर्नेहरु देखिएका छन् ।

नेपाली काँग्रेस निकट पदयात्रा व्यवसायीको तर्फबाट नीलहरी बाँस्तोला एक्ला दाबेदार देखिएका छन् । 

नेकपा एमालेको तर्फबाट राजेन्द्र सापकोटाले टानको अध्यक्ष बन्ने तयारी गरिरहेका छन् । 

माओवादी केन्द्र निकट व्यवसायीहरुको तर्फबाट कमल सापकोटा र हाल महासचिव रहेकी सरिता लामाले दाबेदारी प्रस्तुत गरेका छन् ।

नेकपा एकिकृत समाजवादीबाट अन्जन (कुमार) थापाले पनि आन्तरिक तयारी गरिरहेको बुझिएको छ । 

त्यस्तै, स्वतन्त्र व्यवसायीको तर्फबाट बोधराज भण्डारीले पनि अध्यक्षमा लविङ गरिरहेका छन् ।

वाम तालमेल होला ?

टानमा दल निकट पर्यटन व्यवसायीहरु एक्ला एक्लै चुनाव लडेको खण्डमा काँग्रेस निकट व्यवसायीको तर्फबाट उम्मेदवार बन्ने व्यक्तिले सहजै जित्ने अवस्था छ । तर, दल निकट व्यवसायीहरु तालमेल गरेर जाने गरी तयारी गरिरहेका छन् ।

‘केन्द्रमा काँग्रेस र माओवादीको गठबन्धन छ, तर टानमा सरकारमा क–कसको गठबन्धन छ भनेर त्यहीँ फलो नहुन सक्छ’ स्रोत भन्छ, ‘नीलहरी बाँस्तोलालाई काँग्रेसको तर्फबाट एकल दाबेदार बनाईएको छ, उहाँ ब्याक हुने कुरै छैन । माओवादी निकट साथीहरु महासचिव सम्म मान्न तयार हुनु भयो भने काँग्रेस र माओवादी निकट व्यवसायीबीच तालमेल हुने बाटो त खुलै छ ।’

सँगै, वामपन्थी दल निकट व्यवसायीहरुले पनि आ–आफ्नै तयारी गरेका छन् । विशेषगरी एमाले र माओवादी निकट व्यवसायीहरु छलफल गरिरहेका छन् । तर, एमाले माओवादीलाई अध्यक्ष छोडेर अध्यक्ष पछिको कार्यकारी पदमा चित्त बुझाउने पक्षमा छैन ।

‘काँग्रेससँग मिल्दा पनि महासचिव नै पाउने, एमालेसँग मिल्दा पनि महासचिव नै पाउने हो भने त काँग्रेससँग मिल्दा फाइदा छ नि’ स्रोत भन्छ, ‘सरकारमा पनि काँग्रेस माओवादीको गठबन्धन छ । यहाँ पनि त्यहीँ कायम रह्यो भने पार्टी नेतृत्वले प्रश्न गर्ने ठाउँ पनि पाउँदैन ।’

तर, माओवादीलाई अध्यक्ष दिन एमाले तयार भएको खण्डमा एमाले र माओवादी निकट व्यवसायीबीच तालमेल हुने सम्भावना पनि उत्तिकै छ । 

‘यदि त्यसो भईहालेमा काँग्रेसले नेकपा एकिकृत समाजवादी निकट व्यवसायीसँग तालमेल गर्ने अवस्था पनि रहन्छ’ स्रोत भन्छ, ‘वाम तालमेल भनेपनि एमाले र माओवादीबीच मात्रै हो, समाजवादी जानेवाला देखिँदैन, समाजवादी निकट साथीहरु पनि एमाले र माओवादी मिलुन् र आफूहरु काँग्रेससँग मिलेर महासचिव पद लिन सकौँ भनेर कम्मर कसेरै लागिरहेका छन् ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved