६ लाख लिंदै गर्दा पक्राउ परेका उपसचिवको गाडीमा भेटियो थप १६ लाख, कसले दियो २२ लाख घुस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 11:30:54 PM मा प्रकाशित

laxmi sunrise bank

६ लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीमा थप साढे १६ लाख फेला परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात समातेको हो। 

६ लाख रुपैंया घुससहित पक्राउ परेका उनको गाडीमा अतिरिक्त थप साढे १६ लाख रुपैंया भेटिएपछि अख्तियारको टोलीले उनीसँग थप सोधपुछ गरेको थियो। तर उनले त्यो रकम कहाँबाट, किन, केकालागि गाडीमा राखेको भन्ने खुलाउन नसकेपछि अख्तियारले त्यो रकम समेत बरामद गरेर उपसचिव नेपाललाई पक्राउ गरेको हो ।

उनको साथबाट साढे २२ लाख रुपैंया बरामद भएको छ। यद्दपि ६ लाख रुपैयाँ घुस हो भने बाकी साढे १६ लाख रुपैंया स्रोत नखुलेको रकम हो । अख्तियारले उनलाई बुधबार विशेष अदालतमा पेश गरेर पक्राउको म्याद थप गर्नेछ र अरु थप अनुसन्धान थाल्नेछ ।

पर्यटन व्यवसायीसँग घुस लिँदालिंदैको अवस्थामा उनि पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आयोगकाअनुसार नेपाललाई काठमाडौँको नागपोखरीस्थित एक होटलबाट रंगेहात पक्राउ गरिएको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत उपसचिव नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका हुन्। पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियारको गुप्तचरी टोलीले मंगलबार विहानैदेखि उपसचिव नेपालको निगरानी गरेको थियो। 

नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि अख्तियारको टोलीले पक्राउ गरेको हो। प्याराग्लाइडिङको उडान अनुमतिका लागि घुस मागेको सूचनाको आधारमा आयोगको टोलिले उनलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। 

"नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको  साथबाट ६ लाख र अरु साढे १६ लाख रुपैंया गाडीमा भेटिएको हो" भण्डारीले भने, "घुस मागेको उजुरीको आधारमा पक्राउ गरिएको हो, यस्तो बेला घुस दिने व्यक्तिको व्यक्तिगत जानकारी दिन मिल्दैन।"  

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय स्थलमा प्याराग्लाइडिङको अनुमति दिने काम गर्दछ। त्यसैले प्याराग्लाइडिङ सञ्चालन गर्ने व्यवसायीहरुले प्राधिकरणबाटै अनुमति लिनुपर्ने भएपनि यसको सैद्धान्तिक सहमति भने मन्त्रालयबाट लिनुपर्छ।

पर्यटन मन्त्रालयमा नागरिक उड्डयन महाशाखा छ । उक्त महाशाखा अन्तर्गत हवाई उद्योग तथा अन्तराष्ट्रिय सम्बन्ध शाखा र हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखा छन् । उनी हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रमुख हुन्। एउटा शाखाको शाखाप्रमुख भएपनि उनि नागरिक उड्डयन हेर्ने महाशाखामा हावी रहेको त्यहाँका कर्मचारी बताउँछन्।  

उनकै सहमतिकै आधारमा ‘उडान योग्यता अनुमतिपत्र’ जारी हुनुपर्ने थियो । त्यही सहमति लिने क्रममा उपसचिव नेपालले व्यवसायीसँग घुस रकम मागेका थिए। नेपाल सहित उनको टिममा अर्का एक पोखरेल थरका कर्मचारी र अर्का एक व्यक्ति पनि यसरी नै मिलेर पर्यटन व्यवसायीलाई दुख दिने र रकम असुल्ने गरेको त्यहाँका एक कर्मचारीले बिजपाटीले बताए। 

प्याराग्लाइडिङ मात्रै नभई उनको शाखासँग जोडिएका कामको लागि पैसा नदिई काम नै नबन्ने अवस्था आएकाले अख्तियारको सहयोग लिनलाई पर्यटन व्यवसायीहरु बाध्य भएको प्रमोद नेपालबाट पिडित अर्का एक व्यवसायीले बिजपाटीलाई बताए।  

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved