
प्रदेश नम्बर १ लाई नेपालकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन भन्दै यस विषयमा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ–२०२३’ आयोजना गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालले आयोजना गरेको कार्यक्रम जनवरी २७ देखि ३० सम्म चलेको हो ।
प्रदेश नम्बर १ मा यस्तो कार्यक्रम पहिलो पटक आयोजना भएको पाटा नेपालको भनार्य छ ।
‘आन्तरिक र सीमापार पर्यटन सबलीकरण’ भन्ने नाराका साथ भएको डेस्टिनेसन मार्केटिङ कन्क्लेभमा नेपाल, भारत, बंगलादेश र अमेरिकाका पर्यटन गन्तव्यका विज्ञ तथा टुट अपरेटरहरुसहित २ सयभन्दा बढी सहभागी थिए ।
भेडेटार, धनकुटा, धरान र बराहक्षेत्रको स्थलगत गन्तव्य अवलोकन भ्रमण तथा ती स्थानमा पर्यटकीय गतिविधि आयोजना गरिएको र ३० जनवरीमा मोरङमा कन्क्लेभ सम्पन्न गरिएको पाटा नेपालका सीईओ सुरेशसिंह बुडालले जानकारी दिए ।
कन्क्लेभको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश १ लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यले आयोजित कार्यक्रममा उठेका विषयहरुलाई प्रदेश सरकारले ग्रहण गर्ने र आगामी बजेटमा समेट्ने बताए ।
पाटा नेपालका अध्यक्ष विभुतीचन्द ठकुरीले पाटा पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनमा प्रतिबद्ध रहेको बताएका छन् ।