आयाटा र सेभरको सिस्टम ह्याक गरेर बेचियो लाखौँको प्लेन टिकेट, खतरामा नेपालका ट्राभल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 06:36:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका ट्राभल व्यवसायी ह्याकरको निशानामा परेका छन्।  टिकट काट्न प्रयोग हुने सफ्टवेयर नै ह्याक गरेर ह्याकरले लाखौँको रुपैयाँको टिकट जारी गरेका छन् । एयरलायन्सको सेवा दिने एयर प्रमोसन ग्रुप (एपीजी) ले आफ्नो नेटवर्क प्रयोग गरेर ७४ लाखको टिकेट काटिएको भन्दै काठमाडौँको नक्सालस्थित कस्मो 'नेपाल ट्राभल्स एण्ड टुर्स' लाई गत जेठ १३ गते बील पठाएपछि मात्र यो घटना बाहिर आएको हो ।

आफूहरुलाई बील प्राप्त भएपछि मात्र आफ्नो युजर नेम (Username) मार्फत ह्याकरले मोरक्कोदेखि सेनेगलको लागि ३९ जनाको दुईतर्फी (Round ticket) काटेको बारे थाहा भएको 'कस्मो नेपाल ट्राभल्स एण्ड टुर्स' का प्रबन्ध निर्देशक श्याम केसी (चित्रबहादुर केसी) ले बिजपाटीलाई बताए। 

जेठ ७ गते आइतबार राती दुई बजे मोरक्कोबाट सेनेगल उड्ने जहाजको लागि शनिबार साँझ ६ बजेदेखि नै टिकेट जारी गरेको डकुमेन्टमा देखिन्छ। टिकेटिङको लागि  सफ्टवयर तथा टेक्नोलोजी सेवा दिने 'ग्लोबल डिस्टिब्यूटर सेन्टर (जीडीएस)'  कम्पनी सेभर (SABRE)  को सिस्टम नै ह्याक गरेर 'कस्मो नेपाल ट्राभल्स एण्ड टुर्स' को युजर नेम मार्फत टिकेट काटिएको हो। 

ह्याकरले टिकेटिङको लागि  सफ्टवयर तथा टेक्नोलोजी सेवा दिने सेभर (SABRE)  को सिस्टम मात्र नभई विश्वका करिब ३०० एयरलाइन्स (कुल हवाई यातायातको ८३ प्रतिशत) प्रतिनिधित्व गर्ने इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA) (आयाटा)को सिस्टम समेत ह्याक गरेको देखिन्छ। यसले (SABRE) र (IATA) को सुरक्षा र विश्वसनीयतामाथि नै प्रश्न उब्जिएको छ। 

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयाटा) ले आफुबाट सदस्यता लिएका संस्थाहरुले टिकेट काट्दाका सम्पूर्ण भुक्तानी सम्बन्धि कामको व्यवस्था गर्ने गर्दछ। सदस्यता लिँदा टुर्स एण्ड ट्राभल्सले आफूले कारोबार गर्ने तहसम्मको एउटा निश्चित रकम धरौटीबापत आयाटा (IATA) लाई बुझाउने गर्दछन्। कुनै पनि टुर्स एण्ड ट्राभल्सलाई उक्त धरौटीको सीमाभन्दा बाहिर गएर टिकेट जारी गर्ने अधिकार हुँदैन। 

तर नेपालका अधिकांश टुर्स एण्ड ट्राभल्सलाई टिकेटिङको लागि सफ्टवयर तथा टेक्नोलोजी सेवा दिने सेभर (SABRE)  को सिस्टमा प्रवेश गरी कस्मो नेपाल ट्राभल्स एण्ड टुर्सको युजर नेम र पासवर्ड मार्फत ७४ लाख रुपैयाँ बराबरको टिकेट जारी गरेका देखियो। जबकी कस्मो नेपाल ट्राभल्स एण्ड टुर्सलाई आयाटा (IATA) ले २५ लाखको सुविधा दिएको छ। 

ह्याकरले २५ लाख सीमा भएको संस्थाको युजर नेम मार्फत ७४ लाखको टिकेट काट्न सफल हुनुमा टुर्स एण्ड ट्राभलले प्रयोग गर्ने सेभरको सिष्टम र आयाटाको सिष्टम सुरक्षित नरहेको देखिन्छ।

सेभरको सिस्टम ह्याक गरेर आयाटाले दिएको सीमाभन्दा तीन गुणाबढीको टिकेट काटिनु भनेको कुनै ग्राहकको ५० लाखको ऋण स्वीकृत भएकोमा बैंकबाट डेढ करोड रुपैयाँ झिकिनु जस्तै भएको कस्मो नेपाल टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक श्याम केसीले बताए। 

'अज्ञात ठाउँबाट अज्ञात व्यक्तिले हाम्रो (कस्मो नेपाल टुर्स एण्ड ट्राभल्सको) युजर नेम र पासवर्ड प्रयोग गरेर आयाटाले दिएको सीमाभन्दा बढी रकमको टिकेट काटिनु भनेको हामीले प्रयोग गर्दै आएको सेभरको सिस्टम र आयाटा नै सुरक्षित छैनन् भन्ने देखिन्छ', केसीले भने, 'सीमाभन्दा बढीको टिकेट कसरी काटियो भन्ने कुराले हामी हैरान छौँ, सम्बन्धित निकायमा उजुरीको क्रममा छौँ।'

ह्याकरले गत सातामात्रै सेभर (SABRE) को सिस्टम ह्याक गरेर अर्को ट्राभल्स एण्ड टुर्स 'देउराली टुर्स एण्ड ट्राभल्स' को युजर नेम मार्फत यसरी नै टिकेट जारी गरेको थियो। यस अघि पनि नेपालमा आधा दर्जन जति यस्ता घटना घटेका छन्। पछिल्लो समय यस्ता घटना बढेकाले नेपालका टुर्स एण्ड ट्राभल्सहरुलाई टिकेटिंङको लागि सफ्टवयरको सुविधा दिने सेभर (SABRE) र  टिकेटिंङको लागी भुक्तानी सम्बन्धित काम हेर्ने एक मात्र अन्तराष्ट्रिय सँस्था आयाटा (IATA) को सुरक्षा र बिश्वसनियतामाथि गम्भीर प्रश्न उब्जिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved