समाचारको विषयलाई लिएर सेभरको धम्की, थपिँदै पीडित टुर्स एण्ड ट्राभल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2023 | 11:53:07 AM मा प्रकाशित

laxmi  sunrise bank

समाचारको विषयलाई लिएर टिकेटिङको  सफ्टवेयर तथा टेक्नोलोजी सेवा दिने सेभर(SABRE)ले बिजपाटीकर्मीलाई धम्की दिएको छ। ह्याकरले सिस्टम ह्याक गरेर अनाधिकृत रुपमा लाखौँ रुपैयाँको टिकेट काटेको विषय बाहिर ल्याएको भन्दै सेभरका प्रतिनिधिले फोनमार्फत धम्की दिएका हुन्। 

आफूलाई सेभरको प्रतिनिधि बताउने अनुपा बुढाथोकीले बिजपाटीमा प्रकाशित समाचारले आफ्नो सेवाग्राही भट्किएको र व्यवसाय प्रभावित भएको भन्दै कारबाहीका लागि उजुरी दिने चेतावनीसहितको धम्की दिएकी हुन्। 

'ह्याकको समाचारले मलाई दश ठाउँबाट फोन आएको छ, सेभरमात्र होइन, अरु पनि ह्याक हुन सक्छ भनेर लेख्नुस, जसको युजर नेमको प्रयोग भयो त्यो ट्राभल्स एजेन्सीलाई राखेर कुरा गराउनुस, हाम्राबारेमा यत्तिकै समाचार लेख्ने ? हेर्नुस म तपाइँलाई के गर्छु', उनले बिजपाटीकर्मीलाई धम्की दिँदै भनिन् । 

करिब ६ मिनेट लामो कुराकानीमा आफूलाई सेभरको प्रतिनिधि बताउने अनुपा बुढाथोकीले समाचार आधा अधुरो भएको आरोप लगाउँदै कारबाहीमा उत्रिने चेतावनीको भाषा प्रयोग गरेकी छन्। सम्पूर्ण प्रमाण जुटाएर नै लेखिएको समाचारबारे नभइ समाचारमा आफ्नो संस्थाको ब्राण्ड जोडिएकोबारे आपत्ति भएकोसमेत अनुपा बुढाथोकीले कुराकानीमा भनेकी छन्। 

बिजपाटी डटकमले 'आयाटा र सेभरको सिस्टम ह्याक गरेर बेचियो लाखौँको प्लेन टिकेट, खतरामा नेपालका ट्राभल' शीर्षकमा समाचार लेखेको थियो। सेभरले सफ्टवेयर तथा टेक्नोलोजी सेवा दिँदै आएको 'कस्मो नेपाल टुर्स एण्ड ट्राभल्स'को युजेर नेममार्फत अज्ञात ठाउँबाट अज्ञात व्यक्तिले सिस्टम नै ह्याक गरेर झन्डै ७४ लाख रुपैयाँको टिकेट बिक्री गरेकोबारे बिजपाटीले समाचार बाहिर ल्याएको थियो । बिजपाटीले समाचारमार्फत ह्याकरबाट जोगिनका लागि र सेवाग्राही र उपभोक्तालाई सचेत गराइएको अबस्थामा धन्यवाद दिनुको सट्टा उल्टै धम्की दिएर सेभरका प्रतिनिधिले स्वतन्त्र पत्रकारितामाथि नै आँच पुर्याउने दुष्प्रयास गरेको छ ।

कस्मो नेपालको जानकारीबीना नै कस्मो नेपालले पाएको २५ लाखको सीमाभन्दा बढीको अर्थात् ७५ लाखको टिकेट काटिनुमा 'सिस्टम'को नै कमजोरी देखिएको र त्यसको उपचारमा लाग्नुपर्नेमा सेभर(SABRE)ले समाचार बाहिर ल्याएकोमा आपत्ति जनाउनु आफैँमा गैरजिम्मेवारीपन भएको टुर्स एण्ड ट्राभल्सको भनाई छ। 

कस्मो नेपालका प्रतिनिधि भन्छन्, 'हाम्रो युजर नेम ह्याक भएर टिकेट काटियो, त्यो हाम्रै गल्तीले भएको स्विकार गरेका छौँ, तर हामीले पाएको २५ लाखको सीमाभन्दा बढी मूल्यको टिकेट कसरी काटियो, त्यसको जिम्मेवारी टिकेट र भुक्तानीको सिस्टम हेर्ने सेभरले नलिए कसले लिन्छ ?'

सेभर(SABRE)को सफ्टवेयर तथा टेक्नोलोजी सेवा लिने कस्मो नेपालको युजर नेम मात्र ह्याक नभएको पाइएको छ। सेभरको सफ्टवेयर तथा टेक्नोलोजी सेवा लिएको देउराली टुर्स एण्ड ट्राभल्सले पनि कस्मो नेपालको जस्तै नियती भोगेको थाहा हुन आएको छ। 

ह्याकरले सेभरको सफ्टवेयर तथा टेक्नोलोजी सेवा लिएको देउराली टुर्स एण्ड ट्राभल्सको पनि युजर नेममार्फत ह्याकरले ६५ लाख रुपैयाँको टिकेट काटेको थाहा हुन आएको छ। यस अगाडि पनि यस्तै प्रकारका घटनाहरु घटेको जानकारी बिजपाटीलाई प्राप्त भएको छ ।

देउराली टुर्स एण्ड ट्राभल्सका एक प्रतिनिधिले यही मे २७ अर्थात जेठ १३ गते आफूहरुको युजर नेममार्फत ह्याकरले ६५ लाखको टिकेट काटेको बताएका छन्। उनीहरुले पनि यसको क्षतिपूर्ति सेभरले(SABRE)ले वेहोर्नुपर्ने दावी गरेका छन्। 

घटनाक्रम हेर्दा ह्याकरले पछिल्लो समय सेभरको सफ्टवेयर तथा टेक्नोलोजी सेवा लिइरहेका टुर्स एण्ड ट्राभलको युजर नेम प्रयोग गरेर टिकेट काट्ने गरेको देखिन्छ। कस्मो नेपाल र देउराली टुर्स एण्ड ट्राभलसँग भएको घटना हेर्दा ह्याकरले शनिबार रातीको उडानका लागि शुक्रबार साँझदेखि टिकेट जारी गर्ने गरेको पाइएको छ।

यस अघि: आयाटा र सेभरको सिस्टम ह्याक गरेर बेचियो लाखौँको प्लेन टिकेट, खतरामा नेपालका ट्राभल

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved