के होटल अन्नपूर्ण बन्द भएकै हो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 08, 2021 | 12:47:27 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको दरबारमार्गमा सञ्चालित पाँचतारे होटल डेला अन्नपूर्ण डिसेम्बरदेखि ग्राहकका लागि बन्द छ । हुन त डिसेम्बर अगाडी पनि कोभिडका कारण ग्राहक थिएनन् । कोरोनाका कारण विदेशी पर्यटक आउन नपाएपछि होटल अन्नपूर्ण सिमित कर्मचारीले सरसफाई मात्रै गर्दै आएका थिए । 

तर, कोरोनाका कारण थला परेको भन्दै ५५ वर्षको इतिहास बोकेको यो होटल स्थायी रुपमा नै बन्द भयो भन्ने कोणबाट प्रचार भयो । डिसेम्बर लगत्तै बन्द हुने पक्का भएको भनिएको होटल अन्नपूर्ण अब कहिल्यै नखुल्ने गरी बन्द भने भएको होइन । 

आँखिर के चाहिँ बन्द भएको हो ?

होटल संघ नेपाल (हान) की अध्यक्षसमेत रहेकी सिर्जना राणा अन्नपूर्ण होटलकी सञ्चालिका हुन् । उनले खर्च धान्न नसक्ने अवस्था आएका कारण होटलको अपरेशन बन्द गरिएको भएपनि होटल नै बन्द भएको भनेर प्रचार भएको बताएकी छिन् । 

‘पर्यटन क्षेत्र सन् २०२१ भरी नै नचल्ने देखेर हाम्रो बोर्डले अपरेशन बन्द गर्ने निर्णय गरेको हो’ उनले बिजपाटीसँग भनिन्, ‘कर्मचारीलाई तलब भत्ता दिनै नसक्ने अवस्था आएपछि अहिलेलाई अपरेशन बन्द गरौँ भन्ने बोर्डको निर्णय भयो । कोभिडको असर लामो समयसम्म जान्छ भन्ने देखेरै हामीले डिसेम्बरबाट बन्द गरेका हौँ ।’

कर्मचारीको व्यवस्थापन कसरी ?

होटल अन्नपूर्णमा ३६० जना कर्मचारी थिए । होटलको अपरेशन बन्द भएपछि अहिले कर्मचारी पनि छुट्टिमा छन् । तर, होटल एशोसिएसन अफ नेपाल (हान) र होटल क्षेत्रमा क्रियाशील मुख्य तीन ट्रेड युनियनबीच भएको सम्झौता अनुसार अहिले पनि उनीहरुले सिमित तलब पाईरहेको अन्नपूर्णकी सञ्चालिका राणको दाबी छ ।

‘हान र ट्रेड युनियनबीच भएको सहमति अनुसार २०२१ भरी सिमित तलबभत्ता दिने भन्ने थियो, सोही अनुसार स्यालरी दिँदै आएको छु, रोकेकी छैन’ उनले बिजपाटीसँग भनिन्, ‘उनीहरुको सोसल सेक्युरिटी फण्डमा रोजगारदाताले हालिदिनुपर्ने रकम पनि हालिदिएको छु । सन् २०२१ भरीका लागि बजेट छुट्याएरै राखेका छौँ, त्यसपछिको अवस्थामा के गर्ने भन्ने चाहिँ अहिलेको यो पेण्डामिक सिचुयशन कस्तो हुन्छ त्यसमा भर पर्छ ।’

४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको होटल अन्नपूर्णले कर्मचारीहरुलाई तलब, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतमा रहेका सुविधा दिईएको होटल व्यवस्थापनले जनाएको छ ।

होटल बन्द गर्नै नसक्ने प्रावधान

होटल अन्नपूर्ण स्थायी रुपमा बन्द हुन सक्दैन । किनभने, एक पटक खोलिएको होटल बन्द गर्नै नसकिने अवस्था रहेको हानका वरिष्ठ उपाध्यक्ष एवम् एयरपोर्ट होटलका सञ्चालक विनायक शाहको भनाई छ ।

‘अहिले ब्यापार नभएको अवस्था छ, तर हामीले चाहेर पनि होटल बन्द गर्न सक्दैनौँ’ उनले भने, ‘इन्डट्री फेमेलिएर कानुन नै छैन हाम्रोमा । हामी होटल खोल्न चाहिँ सक्छौँ तर बन्द गर्न सक्दैनौँ । यसको मतलब प्रक्रिया नै छैन भन्ने होइन, प्रक्रिया छ । तर, यति झन्झटिलो छ कि हामी लिगल्ली कुनै पनि होटल बन्दै गर्न सक्दैनौँ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved