६ वटा राणा कालिन दरबार होटलमा परिणत, स्टारदेखि बुटिकसम्मको स्तर

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 23, 2021 | 12:50:52 PM मा प्रकाशित

laxmi  sunrise bank

२००७ सालमा नेपालमा प्रजातन्त्र आयो । त्यसपछि राणाका दरबारहरु सरकारीकरण भए । कतिपय नीजि स्वामित्वमा पनि रहे । नीजि स्वामित्वमा रहेका १ सय वर्ष पूराना राणाकालिन दरबाहरु अहिले होटलमा परिणत भएका छन् ।

काठमाडौँका स्टार र बुटिक होटलहरुमध्ये आधा दर्जन राणाकालिन दरबारमा सञ्चालित छन् । पूराना यी दरबारलाई उस्तै संरचनामा स्वरुप नबिगारी ‘रेक्ट्रोफिटिङ’ र ‘रेनोभेसन’ गरी होटल तथा पर्यटन व्यवसायीहरुले प्रयोग गर्दै आएका छन् ।

राणाका दरबारमा किन होटल बनाईयो ?

होटल व्यवसाय पर्यटनमा आधारित व्यवसाय भएकाले नेपालको पूरानो सभ्यता विदेशीहरुलाई देखाउन राणाकालिन दरबारमा होटल चलाउन थालिएको पर्यटन व्यवसायी कर्ण शाक्यको भनाई छ । पूरानो र ऐतिहासिक सभ्यतालाई जीवन्त राख्न र यो सभ्यतालाई विश्वसामू पुर्याउन राणकालिन दरबारहरुलाई होटलमा रुपान्तरण गर्ने अभियान सुरु गरिएको शाक्य बताउँछन् ।

राणका दरबारहरु भिक्टोरियन शैलीका छन् । यो शैलीका पुराना दरबारको संरक्षण गरी होटल चलाउँदा  पर्यटकलाई आकर्षित गर्न त सक्नुका साथै अहिलेको नेपाली नयाँ पुस्तालाई इतिहासबारे जानकारी गराउन पनि सकिने शाक्यको कथन छ । अहिले अग्ला गगनचुम्बी भवनहरु उभ्याउन सकिने भएपनि पूराना र मौलिकता झल्किने भवनहरुलाई जीवन्त राख्नु आफ्नो पुस्ताको दायित्व सम्झेर आफूले यो अभियान सुरु गरेको शाक्य बताउँछन् । 

‘पर्यटनमा हरेक चिज बिक्रि हुन्छ, सपना बिक्रि हुन्छ, सोच बिक्रि हुन्छ’ शाक्य भन्छन्, ‘खाना र कोठा बिक्रि हुनु मात्रै पर्यटन होइन, पर्यटनमा इतिहास र संस्कृति पनि बेच्न सक्नुपर्छ । अरु देशको पर्यटन भनेको समुन्द्र हो, हाम्रो देशको पहाड र हिमाल हुन् । काठमाडौँको पर्यटन भनेको इतिहास र सम्पदा हो । दरबारहरु पनि हाम्रा इतिहास, सम्पदा र संस्कृति हुन् । यीनिहरुमा नेपालीपन पाइन्छ, त्यसैले यीनको संरक्षण जरुरी छ ।’

यी हुन् होटलमा रुपान्तरण भएका राणाकालिन दरबार

शंकर होटल (लाजिम्पाट)

अहिले चारतारे शंकर होटल सञ्चालन भएको महल १२७ वर्ष पूरानो हो । बीर शमशेरका भाइ जीत समशेर यो दरबार स्व. रामशंकर श्रेष्ठले खरिद गरेका थिए । उनले वि.सं २०२१ अर्थात् सन् १९६४ देखि यो दरबारमा होटल सुरु गरेका हुन् ।

२०७२ को विनाशकारी भूकम्पले यो होटलमा ठूलो क्षति पुर्याएको थियो, तैपनि रेक्ट्रोफिटिङ गरेर दरबारलाई संरक्षण गरी होटल सञ्चालनमा ल्याइएको छ ।

सन् १८९४ म बनेको यो दरबार १९१३ मा जीत समशेरको निधन भएपछि जुद्ध समशेरका छोरा अग्नीको नाममा नामसारी भएको बताइन्छ ।

अहिले शंकर होटलमा ९४ कोठा छन् । २०७२ को भूकम्पले क्षति गरेपछि यो होटलको लवी र सभाहलको मर्मत गरेर पुनः सञ्चालनमा ल्याईएको हो । 

याक एण्ड यती (दरबारमार्ग)

अहिले पाँचतारे होटल याक एण्ड यती सञ्चालनमा रहेको विशाल बंगाला कुनै बेलाको लालदरबार हो । अन्तराष्ट्रिय सभा सम्मेलन लगायतका कार्यक्रमका लागि चर्चित याक एण्ड यती होटल सञ्चालन हुँदै आएको यो लालदरबार १०५ वर्ष अघि तत्कालिन प्रधानमन्त्री बीर समशेरले बनाएको बताइन्छ ।

२७० कोठाहरु भएको यो होटलमा सभाहल, क्यासिनो, रेष्टुरेन्ट (२ वटा), छन् । 

काठमाडौँ गेष्ट हाउस (ठमेल)

ठमेललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जग बसालेको व्यक्ति हुन् कर्ण शाक्य । सिंहदरबारसमेत बनाएका आर्किटेक इञ्जिनियर कुमारनरसिंह राणाको दरबार कर्ण शाक्यका बुबाले खरिद गरेका थिए । पछि शाक्यले उक्त दरबारमा काठमाडौँ गेष्ट हाउस सञ्चालन गरे । त्यसपछि पर्यटनमा ठमेलले काँचुली फेर्यो ।

अहिले काठमाडौँ गेष्ट हाउस भएको यो दरबार १ वर्ष पूरानो हो । ५५ वर्षअघि खुलेको काठमाडौँ गेष्ट हाउस भएको भवनको एक भाग भुकम्पले भत्कायो । भूकम्पले भत्काएको भवन हटाएर बगैंचा बनाइएको छ ।

माया म्यानोर (हात्तिसार)

बलराम समशेरको दरबारमा अहिले उनै पर्यटन व्यवसायी शाक्यले होटल बनाएका छन् । १ सय वर्षभन्दा पूरानो यो दरबार शाक्य परिवारले सन् १९७५ मा किनेको हो ।

हात्तिसारस्थित यो दरबारमा इतिहास, संस्कृति र सभ्यता देखेर यी चिजको बिक्रिमार्फत नेपालको पर्यटन उद्योगलाई विकास र विस्तार गर्न सकिन्छ भन्ने देखेर शाक्यले माया म्यानोर होटल बनाएका हुन् ।

‘पर्यटनमा इतिहास बिक्रि हुन्छ, सभ्यता र संस्कृति बिक्रि हुन्छ’ शाक्य भन्छन्, ‘दरबारहरु पनि इतिहास हुन्, हाम्रा सभ्यता र संस्कृति हुन् । विशाल भवन बनाउन सकिएला तर, अब दरबार बनाउन गाह्रो छ, किनकी दरबारमा राखिने बुर्जा बनाउने मान्छे नै पाउन छोडिसके ।’

नियो क्लासिकल शैलीको यो दरबारमा सञ्चालित माया म्यानोर होटलमा ४६ वटा कोठा छन् । 

होटल एल्लो दरबार (सानेपा हाइट)

कुनैबेला अत्याधिक चर्चित ‘सानेपा इन्टरनेशनल क्लब’ रहेको दरबारमा अहिले एल्लो दरबार होटल सञ्चालनमा छ । वैदेशिक रोजगार व्यवसायी सुवर्ण श्रेष्ठले क्लबको नाम परिर्वतन गरी बुटिक होटलका रुपमा होटल एल्लो दरबार बनाएका हुन् ।

यो दरबार राणा प्रधानमन्त्री जुद्ध शमशेरले १९२० मा छोरा सुरेन्द्रका लागि बनाइदिएका थिए । १६ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा राणाकालिन सभ्यता देख्न पाइन्छ ।

रोयल एम्पायर बुटिक होटल (गैह्रीधारा)

तत्कालिन श्री ३ जुद्ध शमशेरले १८औं शताब्दी ताका बनाएको सेतो दरबारमा अहिले बुटिक होटल सञ्चालित छ । जुद्ध शमशेरले छोरा ध्रुबलाई दिएको यो दरबार ध्रुबको निधनपछि उनका माइला छोरा मनोहरले पाएका थिए ।

अहिले रोयल एम्पायर बुटिक होटल सञ्चालनमा रहेको यो दरबार नेपाली कलात्मक शैलीमा बनेको राणाकालिन दरबार हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved