हानले अर्थमन्त्रीलाई भन्यो, ‘बजेट र मौद्रिक नीतिले घोषणा गरेका कार्यक्रम तत्काल लागू होस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2021 | 04:55:08 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान) ले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । हानकी अध्यक्ष सृजना रणाले अर्थमन्त्री शर्मासँग भेटी होटल उद्योगले भोगिरहेको समस्या र कोरोनाका कारण अति प्रभावित यस उद्योगलाई संरक्षण गर्न सुझाव दिइन् ।

अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेष गरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसाय पलायन हुन थालेको बताइन् । उनले होटल उद्योगमा खर्बौको लगानी रही बढी भन्दा बढी रोजगारी उपलब्ध गराउने र राज्यको कानुनी दायराभित्र रहेर सञ्चालनमा रहेका होटल उद्योगको संरक्षण तथा सम्वद्र्धन गर्नु राज्यको पनि उत्तिकै दायित्व रहेको बताएकी छिन् । 

आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्बोधन गरेका विषयहरु मौद्रिक नीतिले पनि सम्बोधन गरेकाले घोषित कार्यक्रमहरु यथाशिघ्र कार्यान्वयन गर्न पनि उनले आग्रह गरेकी छिन् ।

आ.व २०७८/०७९ को बजेट सम्बन्धमाः

– होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने गरी कार्यान्वयन गर्ने र औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०५८ को ११(३) को परिभाषामा समेत राखी कार्यान्वयन गरिदिनुहुन ।  

– होटल उद्योगलाई उत्पादनमूलक उद्योग सरहको विद्युत महसुल दर कायम गरी उपलब्ध गराउनुपर्ने ।

– होटल उद्योगलाई उपलब्ध गराएको विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वनयमा आउन ढिलाई भएकोले अविलम्ब कार्यान्वयन गरिदिनुहुन । 

सामाजिक सुरक्षा कोष सम्बन्धमाः

सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबाट सहुलियत योगदान रकम जम्मा भएकोमा राहत भएकोले यसलाई कम्तिमा १ बर्षसम्म निरन्तरता दिनुहुन ।  साथै, यो समयमा होटलहरुको तर्फबाट निरन्तरता हुन नसकेको हुँदा सामाजिक सुरक्षा ऐन र नियमावलीमा संशोधन गरी कोभिड महामारीको समयमा योगदानकर्ताले समयमा योगदान नगरेकै कारणले स्वास्थ्य लगायतका आपतकालीन सेवा लिनबाट बञ्चित नहुने गरी व्यवस्था गरिदिनुहुन ।

आ.व. २०७८/०७९ को मौद्रिक नीति सम्बन्धमाः

– मौद्रिक नीतिमार्फत घोषणा गरिएको कार्यक्रमहरुको कार्यान्वयन, सहुलियत कर्जा प्रवाह, पुनर्तालिकीकरण लगायतका व्यवस्थाहरु होटल तथा पर्यटन उद्योगमा सहज र सरल रुपमा वितरण गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने । 

– होटल क्षेत्रको लागि लागू गरिएको सहुलियतपूर्ण १ प्रतिशत कर ५ वर्षको लागि लागू 

गरिनुपर्ने ।

– यो समयमा अधिकांश होटलहरु पुनःनिर्माणको क्रममा रहेको हुँदा होटलमा आयात गरिने सामग्रीहरुमा विशेष भन्सार छुटको व्यवस्था गरिनुपर्ने ।

साथै पर्यटन पुनरुत्थानको लागि विशेष आर्थिक योजना बनाई होटल उद्योगलाई फरक समूहमा राखी कार्यान्वयन पक्षलाई जोड दिई नियमित अनुगमन संयन्त्रको विकास गरिनुपर्ने पनि अध्यक्ष राणाले बताएकी छिन् । 

अर्थमन्त्री शर्माले कोभिड १९ बाट पर्यटन तथा होटल उद्योग अति प्रभावित भई धान्नै नसक्ने अवस्थामा पुगेको आफूले महशुस गरेको र यस उद्योगको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भेटघाट कार्यक्रममा होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, कार्यसमिति सदस्य राजन श्रेष्ठ तथा प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महतको पनि उपस्थिति रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved