
बनेपामा २ अर्ब रुपैयाँ लागतमा बनेको आगन्तुक रिसोर्ट सञ्चालनमा आएको छ । २०१९ को डिसेम्बर अन्तिमबाट सञ्चालनमा आएको भएपनि कोरोना कारण बन्द जस्तै बनेको उक्त रिसोर्ट अहिले भव्य तयारीका साथ सञ्चालनमा आएको हो ।
आन्तरिक पर्यटक र विदेशी पाहुनाहरुका लागि लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याइएको रिसोर्टका म्यानेजर बिमल पौडेलले बताए । उक्त रिसोर्टको डिजाइन र थिम भने स्वर्गीय हरि नेपालले बनाएका थिए । उनले विदेश भ्रमणमा जाँदा देखेको दृश्यका आधारमा रिसोर्टको डिजाइन गरेका थिए । उनको २ वर्ष अगाडी कोरनाको कारणले मृत्यु भएको ।
अहिले चारतारे पर्यटक स्तरमा सञ्चालनमा आएको रिसोर्ट भविष्यमा पाँचतारे मापदण्ड अनुसार सञ्चालन गर्ने लक्ष्यमा सञ्चालकहरु छन् ।
२ अर्ब लगानीमा बनेको आगन्तुक रिसोर्ट ७५ रोपनी क्षेत्रफलमा फैलिएको छ । रिसोर्टमा हाल ५२ वटा रुमहरु सञ्चालनमा आएका छन् । यी रुम मध्ये ४ स्वीट रुम, ४ वटा मिनी स्वीट रुम र अरु प्रिमियम र डिलक्स रुम छन् । २० वटा रुम थप हुँदैछन् । हरेक रुममा बाहिर बालकोनी छ, बालकोनीबाट मौसम खुुलेको बेला मनोरम हिमश्रृङखलाका दृश्यहरु अवलोकन गर्न सकिने कम्पनीकी अध्यक्ष सरस्वती ज्ञावलीले जानकारी दिइन् ।
रिसोर्टमा २ वटा रेष्टुरेन्ट, एउटा बार, २ वटा सभा हल, स्वीमिङ पुल र जीमहल पनि छ । स्पा पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
रिसोर्टमा हाल ७० जना कर्मचारीहरु कार्यरत छन् ।