लाजिम्पाटस्थित होटल याडिसनमा मजदुरहरूले सेवाशुल्क पुनः प्राप्तिका लागि आन्दोलन सुरु गरेका छन्। अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघको नेतृत्वमा आइतबारदेखि जागरण अभियान सुरु गरिएको संगठनका उपमहासचिव सुदर्शन तिमल्सिनाले जानकारी दिए।
सन् २००६ देखि होटल तथा पर्यटन क्षेत्रका मजदुरहरूले पाउँदै आएको सेवाशुल्क सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७९ माघ ११ गते खारेज गरेपछि मजदुर संघले निरन्तर संघर्ष गर्दै आएको छ। संगठनका इन्चार्ज माधव पाण्डेका अनुसार, सेवाशुल्क पुनः प्राप्तिको अभियान काठमाडौं उपत्यकाका विभिन्न होटल तथा रेष्टुरेन्टहरूमा चलिरहेको छ, जसअन्तर्गत याडिसन होटलमा पनि आन्दोलन सुरु गरिएको हो।
केन्द्रीय अध्यक्ष कुमार पन्तले चैत १ गते माइतीघर मण्डलामा हुने धर्ना कार्यक्रममा सबै मजदुरहरूलाई सहभागी हुन आह्वान गरेका छन्। उनले यो आन्दोलन सरकार वा होटल सञ्चालकहरूविरुद्ध नभई मजदुरहरूको गुमेको अधिकार पुनःस्थापना गर्न केन्द्रित रहेको स्पष्ट पारे।
"यो वर्ष श्रमिकहरूको अधिकार प्राप्तिका लागि संघर्षको वर्ष हो। श्रम ऐन संशोधन हुँदैछ, त्यसमा हाम्रो दबाब आवश्यक छ," पन्तले भने।
संगठनकी केन्द्रीय सचिव अमृता सापकोटाले अदालतले सेवाशुल्क खारेज गरे पनि विधायिका मार्फत कानून बनाएर पुनः प्राप्ति गर्न सकिने बताइन्। त्यसका लागि मजदुरहरूले निरन्तर दबाब दिन जरुरी रहेको उनको धारणा छ।
मजदुर संघले सरकारले श्रमिकहरूको पक्षमा आवश्यक कानुनी व्यवस्था नगरे थप कडा आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ।