दशैँ बिदामा घुम्ने योजना छ ? यी हुन उत्कृष्ठ ५ गन्तव्य

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 18, 2019 | 03:38:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य लिएका बेला आन्तरिक भ्रमणको चहलपहल पनि बढेको छ । विशेष गरि दशैँ तिहारको बिदा र नयाँ वर्षमा नेपालीहरु आन्तरिक भ्रमणमा निस्कने गरेका छन् । यसवर्ष पनि दशैँ नजिकिएसँगै विभिन्न ट्राभल तथा टूर व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुले आ–आफ्नो प्याकेज सार्वजनिक गरिरहेका छन् ।

यसवर्ष सबै जसो कम्पनीले सार्वजनिक गरेका प्याकेजमा मुख्य पर्यटकीय गन्तव्य छुटेका छैनन् । विगत केही वर्षदेखि हरेक वर्षमा पर्ने गन्तव्यहरु हुन् मुगुको रारा ताल, अपर मुस्ताङ, तिलिचो ताल, अन्नपूर्ण आधार शिविर र शे–फोक्सुण्डो ताल । 

रारा ताल

मुगुको हुटुमा पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । रारा ताललाई राजा महेन्द्र शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए । महेन्द्रले अप्सरा नामाकरण गरेको हुनाले यो ताललाई महेन्द्र ताल पनि भन्ने गरिन्छ । 

समुन्द्री सतहबाट २ हजार ९९० मिटरको उचाइमा रहेको रारा ताल कुल १०.८ क्षेत्रफलमा फैलिएको छ । यो तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । 

काठमाडौंबाट करिब ३० देखि ३२ घण्टा बसको यात्रापछि जुम्ला सदरमुकाम खलंगा पुगिन्छ । खलंगाबाट स्थानीय सवारी साधन रारा जाँदैनन् । खलंगबाट सिन्जा भ्याली हुँदै मुगु सदरमुकाम गमगडीसम्म बस जान्छ । गमगडीबाट पैदल यात्रामार्फत ५ घण्टामै रारा पुग्न सकिन्छ ।

रारा राष्ट्रिय निकुञ्ज परिसरमा पाईने कस्तुरी, रतुवा र डाँफेले राराको शोभा अझ बढाएका छन् । रारा पुगेर काठमाडौँ फर्किदा बढीमा २० हजार रुपैयाँ पुग्ने व्यवसायीहरु बताउँछन् । 

अपर मुस्ताङ 

हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङ पर्यटकीय गन्तव्यमा निकै उत्साहित बनाउने गन्तव्य हो । निकै न्युन पानी पर्ने भएकाले मुस्ताङलाई नेपालको मरुभूमि पनि भन्ने गरिन्छ । 

विश्वकै कालीगण्डकी खोच हुँदै २० मिनेट हवाइयात्रा पश्चात जोमसोम पुगिन्छ । हवाइ यात्राकै क्रममा दायाँतिर अन्नपूर्ण हिमालका श्रृङखला र बायाँतिर धौलागिरी हिमालको दृश्य देख्न पाईन्छ । जिल्ला सदरमुकाम जोमसोमदेखि कागबेनीसम्मको क्षेत्रलाई लोवर मुस्ताङ (तल्लो मुस्ताङ) भनिन्छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पनि तल्लो मुस्ताङमा पर्दछ । 

तिब्बतको दक्षिणी भूभागसँग जोडिएको मुस्ताङ लोबा जातिको बाहुल्यता छ । ‘ट्रान्स हिमालय सल्ट ट्रेड रुट’ को रूपमा रहेको तिब्बत र नेपाल जोड्ने यो बाटो ट्रेकिङ रुटलाई नेपाल सरकारले सन् १९९२ देखि ट्रेकिङका लागि अनुमति दिएको थियो । 

अपर मुस्ताङ प्रवेश गर्न न्यूनतम ५ सय अमेरिकी डलर तिर्नु पर्छ । १० दिन भन्दा बढी अपर मुस्ताङमा बस्ने कार्यक्रम छ भने त्यसै अनुसार थप दिनको पचास डलर शुल्क तिर्नुपर्छ । 

अन्नपूर्ण संरक्षितभित्र संरक्षित बन्यजन्तु र पन्छीहरू अपर मुस्ताङ ट्रेकका मुख्य आकर्षण हुन् । रेड पाण्डा (रातो हाव्रे), हिम चितुवा, रतुवा, मलसाप्रो आदि वन्यजन्तुसँगै ४७८ प्रजातीका चराचुरुङगी सो संरक्षित क्षेत्रमा पाइन्छन् ।

तिलिचो ताल

मनाङको नेस्याङ गाउँपालिका ९ मा पर्ने तिलिचो ताल सामुन्द्रिक सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा पर्दछ । माथिल्लो मनाङबाट करिब ४५ कि.मी.को दूरीमा पर्ने यो ताल पुग्न तिलिचो बेस क्याम्पबाट करिब ३ घण्टा पैदल यात्रा गर्नुपर्छ ।

३.९ किलोमिटर लम्बाई रहेको यो तालको चौडाइ १.६ किलोमिटर छ । कूल ४.८ वर्ग कि.मी.भन्दा बढी क्षेत्रफलमा फैलिएको यो ताल घुम्ने मुख्य सिजन असोज र कात्तिक हो । यो सिजनमा धेरै पर्यटक तिलिचो पुग्ने गरेका छन् । 

ट्राभल तथा ट्रेकिङ कम्पनीहरुले तिलिचो ताल लैजना ६ रात ७ दिनको आफ्नो प्याकेज सार्वजनिक गर्ने गरेका छन् । अहिले सो क्षेत्रमा पुग्न निकै सहज पनि छ । 

अन्नपूर्ण बेश क्याम्प

समुन्द्री सतहबाट ४ हजार १३० मिटर उचाईमा पर्ने अन्नपूर्ण आधार शिविर निकै मनमोहक र गजब पदयात्राको गन्तव्य हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविरलाई छोटकरीमा एबिसी भन्ने गरिन्छ । 

समथर फाँट, नीलो तलाउ । तलाउ नजिकै उभिएका अग्ला हिमाल, सूर्योदयसँगै चम्किने सेताम्मे हिमाललाई चौफेरो लगाउन पाउनु अन्नपूर्ण बेश क्याम्पको प्रमुख विशेषता हो । अग्ला पहाड हुँदै झर्ने झरना, जंगली जनावर, चराचुरुङ्गी, वनस्पति, जडीबुटी र मनमोहक हिमालको दृश्य यो पदमार्गको थप आकर्षण हुन् ।

कास्कीको विरेठाँटीबाट एक हप्ताको पदयात्रामार्फत एबीसी पुगिन्छ । घान्द्रुक, झिनु, छोम्रोङ, भनुवा, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छे आधार शिविरहुँदै एबिसि पुगिन्छ । यो क्षेत्रमा जाने मुख्य सिजन भदौ १५ देखि कात्तिक १५ र फागुनदेखि वैशाखसम्मलाई उपयुक्र्त मानिन्छ । 

शे–फोकसुण्डो ताल 

शे–फोकसुण्डो ताल डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । समुन्द्री सतहबाट करिब ३ हजार ९ सय मिटरको उचाइमा अवस्थित यो ताल नेपालकै गहिरो ताल मानिन्छ । यो तालको लम्बाई ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर  छ । कान्जिरोवा हिमालको काखैमा बसेको यो हिमाल अंग्रेजी अक्षर ‘वाई’ आकारको छ । 

बिस्तारै पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको यो क्षेत्रमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको छ । यसवर्षको बडादशैँ विशेष प्याकेजहरुमा पनि व्यवसायीहरुले यो ताललाई समेटेका छन् । यो क्षेत्रमा दुर्लभ हिउँ चितुवा पाईन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved