ट्राफिक प्रहरी महाशाखाले ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरुलाई अनलाइन मार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ । महाबाखाले सोमबारबाट यस्तो व्यव्स्थाको शुरुवात गरेको हो ।
लकडाउन अघि ट्राफिक कारबाहिमा परेका चालकहरु स्वयं बग्गीखाना गएर आफै ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै हालको कोरोना भाइरस संक्रमणको अवस्थालाई समेत मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोग मार्फत निरन्तरता दिने जनाएको छ। संक्रमणको जोखिम यथावत नै रहेकोले चालकहरुलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा संचालन गर्दा जोखिम झन बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरुको लागी हामीले घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
उनका अनुसार रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुने भएकाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पुर्ण पालना गराउन कारबाहिका साथै ट्राफिक कक्षा लिने व्यवस्था महाशाखाले गरेको हो ।
यस अघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरुलाई मात्र ट्राफिक कक्षा लिदै आएको थियो ।
हाल उपत्यकाको २५ स्थानमा ट्राफिक लाईटको माध्यमबाट चोकहरुको व्यवस्थापन हुँदै आएको छ ।