गगन थापाले पठाएको पत्र मैले पाएको छैनः मेयर शाक्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 09:33:00 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणका सन्दर्भमा पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताएका छन् । काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्वोधन गर्दै उनले आफूहरुले बनाउन खोजेको कमलपोखरीका सम्बन्धमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताएका हुन् । 

‘हामीले तयार पारेको ड्रोइङ–डिजाइन, हामीले गर्न खोजेको कामलगायतका बारेमा त्यहाँको सबै बस्तुस्थितिबारे छिटै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँँ,’ शाक्यले भने, ‘काम गर्ने सिलसिलामा ठेकेदार कम्पनीले गलत गरेको रहेछ भने पनि हामी त्यसको सत्यतथ्य जानकारी दिन तयार छौँ ।’

कमलपोखरीको ड्रोइङ डिजाइन सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन कुमार थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै पुर्ननिर्माणको काम अघि बढाईएको जानकारी पनि दिए । 

‘बास्तुविदहरुसँग पनि हामीले पटक–पटक छलफल गरेर उहाँहरुको सुझाव अनुसार नै काम अघि बढाएका हौँ,’ उनले भने, ‘पुर्ननिर्माणको काम अहिलेसम्म सकिसक्नु पर्ने हो । हामीले ठेकेदार कम्पनीलाई पनि पटक–पटक ताकेता दिएर समयमा काम सम्पन्न गर्न निर्देशन दिएका थियौँ । तर, अहिले विभिन्न खाले आरोप लगाएर अवरोध गर्ने काम भएको छ । यसमा हाम्रो पनि ध्यानाकर्षण भएको छ ।’ 

‘पुरातत्वले हामीलाई काम रोक्नु भनेर आदेश नदिएको जानकारी गराउन चाहन्छु । उहाँहरुले त्यहाँको बारेमा आएको समाचारका सन्दर्भमा सामान्य ध्यानाकर्षण चाँहि गराउनु भएको हो,’ शाक्यले भने, ‘तर, त्यहि कुरा पनि एउटा सरकारी निकायले अर्को सरकारी निकायसँग समन्वय नै नगरी सञ्चारमाध्ययममा प्रचार गर्ने कुरा गलत छ । पुरातत्वले पत्र हामीलाई पठाएर हामीसँग समन्वय गर्ने हो । हामीलाई भन्दा पहिला सञ्चारमाध्ययमलाई जानकारी गराएर असहजता पैदा गर्ने कुरा गलत छ । त्यसैले हामी उहाँहरुलाई त्यो बारेमा पनि ध्यानाकर्षण गराउँदै छौँ ।’ 

सांसद थापाले पनि मेयरलाई पत्र पठाएको भन्दै सञ्चारमाध्यममा अनावश्यक प्रचार गरेको मेयर शाक्यको भनाई छ । 

‘मैले उहाँले पठाएको पत्र अहिलेसम्म प्राप्त गरेको छैन । मलाई पठाएको भनेको पत्र बारेको समाचार पढेर र सुनेर मात्रै थाहा पाएँ,’ मेयर भन्छन्, ‘पुरातत्वले काम रोक्नु भन्दा–भन्दै रातारात पोखरीमा डोजर चलाएको भनेर पनि समाचार आएका छन् । मैले ठेकेदारहरुसँग त्यो विषयमा जानकारी लिएको छु । उहाँहरुले प्रचार गरे जस्तो होइन रहेछ ।’

अहिले विभिन्न सञ्चारमाध्यममा कमलपोखरी मिचियो, त्यहाँ कंक्रिटको प्रयोग गरेर सम्पदा मास्ने काम भयो भन्ने जस्ता समाचार आइरहेको भन्दै सञ्चारमाध्ययममा आए जस्तो कमलपोखरीको जमिन १ इन्च पनि नमिचिएको उनको दाबी छ । 

‘कमलपोखरी पुर्ननिर्माणका क्रममा त्यस आसपासका भौतिक संरचना हटाउनेलगायतका कार्य गर्दा त्यहाँको क्षेत्रफल अझ बढेको छ,’ शाक्यले भने, ‘पुर्ननिर्माणकै क्रममा करीब पाँच रोपनी क्षेत्रफलमा रहेको महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई अन्यन्त्र सार्दा कमलपोखरी आसपासको क्षेत्र स्वतः बढेको छ । हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ । कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved