१८ वटा किसान संगठनले भने 'सरकारको निर्णय फिर्ता नभए कठोर संघर्ष गर्छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 02:58:54 PM मा प्रकाशित

laxmi  sunrise bank

१८ वटा किसान संगठनहरूले कृषिमा वैदेशिक लगानी ल्याउने निर्णयको विरोध गरेका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सो ऐनको अनुसूची संशोधन गरी कृषिका सम्पूर्ण क्षेत्रमा समेत बिनारोकटोक प्रत्यक्ष विदेशी लगानीका लागि बाटो खोलेको प्रति  किसान संगठनहरूले आपत्ति जनाएका हुन् ।

सरकरको यो निर्णयले नेपाल सरकारको यो निर्णयले नेपाली कृषि क्षेत्र र कृषि बजार विदेशी बहुराष्ट्रिय निगम तथा कर्पोरेटहरुको क्रिडास्थल बन्ने, नेपालका प्राकृतिक स्रोध–साधन तथा बजार त्यस्ता कम्पनीहरुको नियन्त्रणमा पुग्ने, क्रमशः यहाँका किसानहरुले विदेशी कम्पनीहरुको इशारामा चल्न विवश हुने, आम नेपाली किसानहरुले उनीहरुसँग प्रतिस्पर्धा गर्न नसकी कृषि पेशा नै छाड्नुपर्ने तथा किसानहरुसँगका सबै विकल्पहरु अन्त्य भएपछि बाध्य भई आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था निम्त्याउने किसान संगठनहरुले चेतावनी दिएका छन् ।

सरकारको यो कदम किसानविरोधी रहेको र नेपालको संविधानको धारा ३६ मा व्यवस्था गरिएको खाद्यसम्प्रभुताको व्यवस्था प्रतिकूल रहेको किसान संगठनहरुले बताएका छन् । संगठनहरुले यो संशोधनलाई अबिलम्ब फिर्ता लिन र कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा विदेशी लगानी निषेध गर्नमाग गरेका छन् ।

सरकारले देशका दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरुको आवाजलाई बेवास्ता गरी विदेशीको इशारामा आफ्ना गतिविधिहरु अगाडि बढाएको खण्डमा किसानहरुको कठोर संघर्षको सामना गर्नुपर्ने समेत संगठनले चेतावनी दिएका छन् ।

संगठनहरुले भनेका छन् 'नेपालजस्तो सानो मुलुकमा कृषिका प्राथमिक उत्पादनहरुमा प्रत्यक्ष विदेशी लगानी मार्फत ठूला ठूला विदेशी कम्पनीहरु प्रवेश गरेमा निर्वाहमुखी, साना तथा मझौला मात्र नभई धनी तथा व्यावसायिक किसानहरुसमेत प्रतिस्पर्धामा उत्रन नसक्ने, नेपाली किसानहरु तथा समग्र कृषि क्षेत्र नै ध्वस्त हुने र देशको खाद्यप्रणाली नै विदेशीको हातमा पुग्ने हुनाले कृषि विकास रणनीति (एडिएस) मा कृषिका प्राथमिक उत्पादनहरुमा प्रत्यक्ष विदेशी लगानीलाई निषेध गरिएको कुरा सबैलाई ज्ञात नै छ ।'

सरकारको निर्णयको विरोध गर्ने हरुमा अखिल नेपाल किसान महासंघ, नेपाल किसान संघ, अखिल नेपाल किसान महासंघ (अप्फा), राष्ट्रिय भूमिअधिकार मञ्च, नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघ, नेपाल, अखिल नेपाल पशुपालक किसान संघ (क्रान्तिकारी),  अखिल नेपाल कुखुरापालक किसान संघ, खाद्यका लागि कृषि अभियान, नेपाल, राष्ट्रिय व्यावसायिक कृषि तथा पशुपालक किसान संघ, राष्ट्रिय अर्गानिक कृषि उपज उत्पादक व्यावसायी किसान संघ, किसान महासंघ, नेपाल, नेपाल पिछडावर्ग किसान संघ, महिला किसान संघ, नेपाल, नेपाल महिला किसान महासंघ, नेपाल जलवायु परिवर्तन महासंघ, नेपाल किसान संजाल, र नेपाल कृषि सूचना संजाल रहेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved