
काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामूदायिक विद्यालयमा आविष्कार क्लब कार्यक्रम सञ्चालन गर्ने भएको छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार कार्यक्रम सञ्चालन गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा छनौटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भईसकेको छ । विद्यार्थीमा विज्ञान तथा प्रविधिको सिकाइको विकास गर्ने, व्यक्तिगत अभिरुचिको विकास र प्रयोग गर्ने मञ्च उपलब्ध गराउने, आविष्कारमुलक सिकाइको प्रवद्र्धन गर्ने लगायतका उदेश्यले सुरुवात गरेको सो कार्यक्रम सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले २५ वटा विद्यालयलाई एक÷एक लाख अनुदान दिएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नयाँ सोचका साथ ल्याएको उक्त कार्यक्रमलाई व्यवहारिक रुपमा लागु गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गरेका छन् ।
‘काठमाडौँ महानगरपालिकाले नयाँ सोचका साथ यो कार्यक्रम ल्याएको छ । यसलाई व्यवहारिक रुपमा लागु गर्न तपाईँहरु लाग्नुहोला, सामूदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा विद्यार्थीको चाप बढी भयो भनेर चिन्ता लिने होइन । गुणस्तरीय शिक्षाका लागि योगदान दिएर सामूदायिक विद्यालयप्रतिको आकर्षण बढाउनतर्फ केन्द्रित हुनुपर्छ, ’ शाक्यले भने, ‘गुणस्तरीय शिक्षा दिन नसक्ने अनि निजी विद्यालयलाई गाली गर्ने कुरा उचित होइन । निजीले लगानी गरेको हुन्छ । त्यहाँ व्यापारिक प्रतिफलको पनि अपेक्षा हुन्छ । तर, सामूदायिकले प्रतिफलको अपेक्षा गर्ने भनेको आफ्नो विद्यालयमा पढेका विद्यार्थीको भविष्य सुनिश्चित होस् भन्ने हो । तपाईँहरुले गौरवका साथ भन्न सक्नुहोस् कि निजी विद्यालयमा अध्ययन गरेका भन्दा मेरो विद्यालयमा अध्ययन गरेका विद्यार्थी अब्बल छन् ।’
छनोटमा परेका विद्यालयहरुमा कक्षा ९ सम्मका १५ देखि २० जना सम्म विद्यार्थीको सहभागितामा आविष्कार क्लब गठन गरिने छ । यो कार्यक्रम सम्वन्धित विद्यालयसँग सम्झौता भएको मितिदेखि सञ्चालन भई २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने छ ।
पहिलो चरणको छनौटमा परेका विद्यालयहरुमा शिवपुरी माध्यामिक विद्याल, बाँसवारी माध्यामिक विद्यालय, धुम्रबराह माध्यामिक विद्यालय, टंगाल माध्यामिक विद्यालय, जनकल्याण माध्यामिक विद्यालय, मित्र आधारभूत विद्यालय, श्रम राष्ट्रिय माध्यामिक विद्यालय, गुह्येश्वरी माध्यामिक विद्यालय, रत्नराज्य माध्यामिक विद्यालय, विश्व निकेतन माध्यामिक विद्यालय, महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, सरस्वती निकेतन माध्यामिक विद्यालय, जनप्रभावत माध्यामिक विद्यालय, नील बाराही माध्यामिक विद्यालय, जनपथ माध्यामिक विद्यालय, गितामाता माध्यामिक विद्यालय, सिद्धि गणेश माध्यामिक विद्यालय, शान्ति शिक्षा मन्दिर माध्यामिक विद्यालय, भक्त विद्याश्रम माध्यामिक विद्यालय, परोपकार आदर्श माध्यामिक विद्यालय, नवयुग माध्यामिक विद्यालय, प्रभाव माध्यामिक विद्यालय, पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालय, भिमसेनगोला माध्यामिक विद्यालय, कोटेश्वर सरस्वती माध्यामिक विद्यालय रहेका छन् ।