राजधानी सार्ने बहसः भारतको एउटै प्रदेशको राजधानी ३ ठाउँमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2021 | 10:46:25 AM मा प्रकाशित

laxmi  sunrise bank

तस्बिरः काठमाडौँ उपत्यका

नेपालको केन्द्रीय राजधानी सार्ने बहस सुरु भईरहँदा छिमेकी देश भारतको एउटा प्रदेशले ३ ठाउँमा प्रदेश राजधानी राख्ने निर्णय गरेको छ । भारतको आन्ध्र प्रदेशको विधानसभाले सन् २०२० जनवरीमा राजधानी विकेन्द्रीकरण गर्ने कानुन पारित गरेको थियो । उक्त कानुनअनुसार प्रदेशको राजधानी तीन ठाउँमा रहने भनिएको छ । जुन भारतमै पहिलो अभ्यास हो ।

अब आन्ध्र प्रदेशको कार्यपालिका अर्थात् सरकारले विशाखापत्तनमबाट काम गर्नेछ भने राज्यको विधानसभा अमरावतीमा र उच्च अदालत कुर्नूलमा राखिनेछ । प्रदेश सरकारले राजधानी अमरावतीबाट राज्यको उत्तरपूर्वको तटीय सहर विशाखापत्तनममा सार्नेछ । 

आन्ध्र प्रदेशको मध्यमा रहेको अमरावतीमा विधानसभाको अधिवेशन हुने सहरमा खुम्चिने छ । कुनै बेला आन्ध्र प्रदेशको राजधानी रहेको कुर्नूलमा अब उच्च अदालत रहने छ । 

यसरी भयो राजधानी सार्ने निर्णय

मुख्यमन्त्री जगनमोहन रेड्डीको अध्यक्षताको मन्त्रिपरिषद्ले आन्ध्र प्रदेश राजधानी विकास प्राधिकरण विघटन गर्दै राजधानी प्रस्ताव पारित गरेको थियो । तत्कालीन मुख्यमन्त्री चन्द्रबाबु नायडूले विश्वस्तरको राजधानी बनाउने योजना अघि सारेका थिए । सोही योजना अनुसार प्राधिकरणको गठन भएको थियो । 

विश्वस्तरीय राजधानी निर्माणका लागि त्यहाँका हजारौँ किसानले जग्गा दिएका थिए । तर, राजधानी सर्ने भएपनि किसानहरु आन्दोलित भएका छन् । 

सन् २०१४ मा तेलङ्गाना राज्य बन्दा आन्ध्र प्रदेश पुनर्गठन कानुनमा हैदराबाद आउँदो १० वर्षसम्म आन्ध्र र तेलङ्गाना दुवै राज्यको संयुक्त राजधानी रहने प्रावधान थियो । आन्ध्र प्रदेशको नयाँ राजधानीको खोजी गर्न केन्द्र सरकारले त्यसबेला बनाएको एउटा समितिले एकभन्दा बढी राजधानीको मोडल अपनाउने सिफारिस गरेको थियो । 

अहिलेसम्म भारतका कुनै पनि राज्यमा प्रशासनिक संयन्त्र एउटा र विधान सभा अर्को सहरमा छैनन् । तर महाराष्ट्र र कर्नाटकमा विधानसभाको सत्र दुईवटा सहरमा हुन्छन् । महाराष्ट्रमा हिउँदमा विधान सभाको एउटा बैठक नागपुरमा हुन्छ ।

त्यस्तै हिमाञ्चलमा शिमला र धर्मशालामा विधान सभाको बैठक हुन्छ । धर्मशालालाई प्रदेशको शीतकालीन राजधानी पनि मानिन्छ ।

कर्नाटकमा पनि बेंगलुरुका अतिरिक्त बेलगाउँमा विधान सभाको बैठक हुन्छ । त्यस्तै देहरादून राजधानी रहेको उत्तराखण्डको उच्च अदालत नैनीतालमा छ । छत्तीसगढ, केरला, मध्य प्रदेश, राजस्थान र उत्तर प्रदेशमा उच्च अदालत राजधानी बाहिरका शरहमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved