सहिदको सालिक अगाडी उभिएर मेयर शाक्यले भने, ‘द्वन्द्व होइन सहकार्यमा जोड गरौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 03:03:34 PM मा प्रकाशित

laxmi  sunrise bank

दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानी हत्या गरेको स्थान काठमाडौँंको बिष्णुमती नदीको किनार शोभा भगवतीमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाले नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिदैँ छातिमा गोली थापी अवसान प्राप्त गरेका चन्द र श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । 

माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह सुरु गरेको थियो । सहिद सप्ताहको चौथो दिन माघ १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा श्रद्धाञ्जलीसभा गरेको थियो । 

आजको श्रद्धाञ्जली सभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कसैलाई पनि व्यक्तिगत रुपमा चोट नपुर्याई सिङ्गो राष्ट्रलाई मुक्तिको बाटो देखाउने चार सहिद आम नेपालीको मनमुटुमा सधैँ रहिरहेको बताएका छन् ।

‘उहाँहरुले कसैलाई ढुंगा–इट्टा हान्ने, खुकुरी–तरवार चलाउने, गोला–बारुद फ्याँक्ने काम गर्नुभएन् । त्यतिबेला हतियार प्रयोग गरेको भए केही व्यक्ति घाइते हुन्थे होला । केहीको मरण हुन्थ्यो होला । उहाँहरुले त्यसो गर्नुभएन,’ शाक्यले भने, ‘तर, उहाँहरुको आवाज त्यो भन्दा धेरै सशक्त थियो । उहाँहरुको आवाजले देश–विदेश नै तरंगित भयो ।’

‘उहाँहरुको मृत्युको १० वर्षपछि नेपालमा हुकुमी शासनको अन्त्य भयो र उहाँहरुकै बलिदानीका कारण निरंकुशताबाट नेपाली जनता मुक्त भए,’ शाक्यले थपे, ‘उहाँहरुकै त्याग र समर्पणका  कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । व्यक्तिगत लाभ भन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मान्नुभयो । त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं ।’

उनीहरुको सम्झना चीरकालसम्म रहन सकोस् भनेर महानगरपालिकाले चार सहिदकै पूर्ण कदको सालिक निर्माण गरेको मेयर शाक्यको भनाई छ । एकले अर्कालाई दोषरोपण गर्ने भन्दा पनि सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै विकास र समृद्धि अघि बढ्ने मेयर शाक्य बताउँछन् । 

‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि हामीले केही परिणाम देखाएका छौँ, नजिता तपाईँहरुको सामू छ । मूल्याङ्कन गर्ने जिम्मेवारी तपाईँहरुको हो’ शाक्यले भने, ‘गर्नेले सधैँ राम्रै सोचेर गरेको हुन्छ, देख्न पनि राम्रै देखेको हुन्छ । तर, अरुले मूल्याङ्कन गर्दा फरक भएको हुनसक्छ । त्यस्तो बेलामा कमी–कमजोरी भयो भने तपाईँहरुले सचेत गराउनु होला सच्याएर अघि बढ्न तयार छौँ ।’ 

‘सहिदहरुको प्रतिमा सामुन्ने उभिँएर सबैले आपसमा द्वन्द्व होइन एक–आपसमा सहकार्य र समन्वय गरेर सिङ्गो देशमा सामाजिक–आर्थिक, साँस्कृति परिवर्तन ल्याउनका एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरौँ’ मेयर शाक्यले भने । 

राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा शिक्षित गरेको आरोपमा १९९७ साल माघ १० गतेदेखि १५ गतेबिचमा ४ जना सहिदलाई मृत्युदण्ड दिइएको थियो । राणा प्रधानमन्त्री जुद्ध शम्शेरले १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved