कांग्रेस (वीपी) का सभापतिलाई हृदयघात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 03:59:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस (वीपी) का सभापति तथा कांग्रेसका प्रखर वक्ता नेता हरिवोल भट्टराईलाई हृदयघात भएको छ ।  मंगलबार साँझ ६ बजे हृदयघात भएका नेता भट्टराईको अवस्था शुक्रबार(आज) दिउँसोसम्ममा निकै सुधार भइसकेको छ । 

घरमै रहेका नेता भट्टराईलाई मंगलबार साँझ एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो । परिवारजनले उनलाई तत्काल स्टार हस्पिटलमा भर्ना गरेका थिए । त्यहाँ राखेर प्राथमिक उपचार गरिए पनि थप उपचार संभव नभएपछि चिकित्सकहरुको रिफर अनुसार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना गरिएको थियो । नर्भिकमा नेता भट्टराईको डा. जेपी जैसवाल नेतृत्वको मेडिकल टिमले राति ८ः३० बजे सर्जरी गरेको थियो । सर्जरी गरी ब्लक भएको तीनवटै आर्टरीमा स्टेन्ट राखिएको थियो । 

सर्जरीअघिदेखि नै नेता भट्टराईलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखी उपचार थालिएको थियो । हर्ट सर्जरी गरी स्टेन्ट राखेपछि बिस्तारै भेन्टिलेटरको सपोर्ट हटाइएको थियो । नेता भट्टराईले आज(शुक्रबार)देखि पूर्ण रुपमा होसमा आई अरुसँग कुराकानी पनि गर्न  थालेको डा. जैसवालले बताए। 

‘उहाँलाई समयमै नर्भिक ल्याइएका कारण सबै कुरामा धेरै चाँडो ठीक गर्न हामी सफल भयौं ।’ डा. जैसवालले भने–‘उहाँको अवस्था लगभग खतरामुक्त रहेको छ ।’ 

७४ वर्षीय भट्टराईको अवस्थामा तीव्र सुधार भएका कारण ढिलोमा आइतबारसम्म वार्डमा सार्ने तयारी भइरहेको डा. जैसवालले जानकारी दिए ।  नेता भट्टराईका सुपुत्र अभिनव भट्टराईले नर्भिक इन्टरनेशनल हस्पिटलमा समयमै ल्याइपुर्याएका कारण आफ्नो पिताको ज्यान जोगिएको बताए।

‘स्टार हस्पिटलबाट सोझै नर्र्भिक नल्याएको भए मेरो बुबाको ज्यानै जोखिममा पर्ने रहेछ ।’ उनले भने–‘नर्भिकको टिमले समयमै संभव सबै उपचार गरिदिएका कारण मेरो बुबाको ज्यान जोगियो, डा. जैसवालसहित सम्पूर्ण नर्भिकलाई मेरो आभार छ ।’ 

नेता भट्टराईको अगुवाईमा गत संसदीय निर्वाचनअघि नेपाली कांग्रेस (वीपी) नामको पार्टी गठन भएको थियो । पूर्व मन्त्रीहरु सुशीलमान शेरचन सो पार्टीका महामन्त्री हुनुहुन्छ । नेता भट्टराई पार्टीभित्रै पनि प्रखर वक्ताको रुपमा चिनिनुहुन्छ । उहाँ ०४३ सालमा काठमाण्डौको मेयरमा निर्वाचित हुनुभएको थियो । त्यसपछिका संसदीय निर्वाचनहरुमा काठमाण्डौका विभिन्न निर्वाचन क्षेत्रबाट उहाँ नेपाली कांग्रेसबाट टिकट पाई उम्मेद्वार बनेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved