गेटमा ओलीको फोटो राखेर थापाथली सर्दै एमाले केन्द्रीय कार्यालय

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 24, 2021 | 10:07:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय सर्दैछ । २०७२ सालको भूकम्पपछि बल्खुस्थित एमाले मुख्यालयमा क्षति पुगेपछि सोही वर्षको साउन २३ गते धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा सरेको एमाले केन्द्रीय कार्यालय अब थापाथलीमा सर्ने भएको हो ।

थापाथलीस्थित नेपाल हस्तकला उद्योग महासंघसँगैको भवनमा एमालेले केन्द्रीय कार्यालय सार्न लागेको हो । यस विषयमा आज बुधबार सम्झौता हुने खबर आएको र एमाले नेता कार्यकर्ता नयाँ पार्टी कार्यालय पुग्ने केन्द्रीय सदस्य एवम् युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले जानकारी दिए ।

‘थापाथलीमा कार्यालय सर्दैछ, हामी पनि नयाँ केन्द्रीय कार्यालय कस्तो रहेछ भनेर हेर्न जाँदै छौँ’ उनले भने ।

गेटमा अध्यक्ष ओलीको फोटो

केन्द्रीय कार्यालय भवनको भित्रपट्टिको मूख्य गेटमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखिएको छ । देशव्यापी रुपमा प्रधानमन्त्री ओलीप्रति युवा पुस्ताको आकर्षण बढिरहेको र आम नेता कार्यकर्तालाई आफ्नो पार्टीको अध्यक्षप्रति सम्मान र आदारको भाव झल्काउन गेटमा अध्यक्षको तस्बिर राखेर सजाउने काम गरिएको एमालेका एक जना केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यालय सार्नैपर्ने भएपछि अध्यक्ष ओलीले नयाँ भवन खोज्ने जिम्मा आफ्ना विशेष अािर्थक सल्लाहकारसमेत रहेका पूर्व राज्यमन्त्री तथा एमाले सांसद मोतिलाल दुगडलाई दिएका थिए । नयाँ ठाउँमा केन्द्रीय कार्यालय भवन सार्ने कामको नेतृत्व भने ओलीले अर्थमन्त्री समेत रहेका उपमहासचिव विष्णु पौडेल र आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाललाई दिएका थिए ।

एमाले सर्न लागेको नयाँ केन्द्रीय कार्यालयको भवन भने दुगडले नै खोजेका हुन् । यो भवनमा युनाइटेड नेसन्स (यूएन) वुमन नेपालको कन्ट्री अफिस बस्दै आएको थियो । 

कार्यालय सार्नुपर्ने कारण के ?

चक्रपथ विस्तारको दोस्रो चरणको काम तत्काल सुरु गर्नुपर्ने भएकाले धुम्बाराहीबाट केन्द्रीय कार्यालय सार्नुपर्ने बाध्यता एमालेलाई थियो । दोस्रो चरणको चक्रपथ विस्तारको काम सुरु हुनु अगावै बल्खुस्थित मुख्यालय पुनःनिर्माण गर्न चाहेपनि विविध कारणले हुन नसकेपछि एमालेले पुनः भाडामै केन्द्रीय कार्यालय राख्न लागेको हो ।

‘दोस्रो चरणको चक्रपथ विस्तारको काम हुँदैछ, यसले धुम्बाराहीमा आवतजावत गर्न बाधा पुग्ने भएपछि हाललाई थापाथलीमा केन्द्रीय कार्यालय राख्ने गरी प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारले सबै चाँजोपाँचो मिलाउनु भएको हो’ दुगड निकट स्रोतले भन्यो, ‘थापाथली मुख्य सडकबाट केही भित्र पनि पर्ने र सबै तिरको केन्द्र भएकाले पनि आउन जान सजिलो हुने देखेर त्यहाँ भवन खोजियो, प्रधानमन्त्रीले पनि ओके भनेपछि बुधबार घरधनीसँग सम्झौता हुन लागेको हो ।’ 

बैशाख ९ गते बल्खुमा शिलान्यास

एमालेले भूकम्पअघि केन्द्रीय कार्यालय रहेकै स्थान बल्खुमा नयाँ भवन शिलान्यास गर्दैछ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको भएको दिन पारेर वैशाख ९ गते पुरानो पार्टी कार्यालय भवन रहेको मदननगर बल्खुमा नै नयाँ भवन शिलान्यास गर्ने निर्णय गरिसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved