कोरोनाको जोखिम बढ्दो, ९ बजेपछि रात्रीकालीन व्यवसाय र रेस्टुरेन्ट बन्द गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2021 | 10:48:26 AM मा प्रकाशित

laxmi  sunrise bank

 सरकारले रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  बुधबार सूचना जारी गर्दै  रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको हो । 

मन्त्रालयले बेलायत भेरियन्टको संक्रमण बढेको र छिमेकि मुलुक भारतमा जोखिम बढिरहेकोले जनस्वास्थ्य मापदण्ड अपनाउन पनि आग्रह गरेको छ  ।  जनस्वास्थ्य मापदण्ड नअपनाउने र मास्क प्रयोग नगर्नेलाई संक्रामक रोग ऐनबमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई मन्त्रालयले अनुरोध गरेको छ । त्यसैगरी संक्रमणको अवस्था हेरी ठूला सहरमा ५०० भन्दा बढी र साना सहरमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ‘बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरु जस्तै विद्यालय, सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब , धार्मिक स्थलहरुमा कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।’  त्यसैगरी संक्रमण बढी जोखिम हुन सक्ने स्थानहरुमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले अनुरोध गरेको छ ।

नेपालमा बुधबार थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । हालसम्म कोेरोना संक्रमण हुनेकोे संख्या २ लाख ७८ हजार ७ सय ६८, मृत्यु हुनेको संख्या ३ हजार ३८ र निको भएर गएका को संख्या २ लाख ७३ हजार ५ सय २९ छ । हाल सक्रिय संक्रमित को संख्या २ हजार २ सय ४ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved