सर्वोच्चको आदेश विपरित कवाडी कर उठाएकोप्रति कवाड व्यवसाय समाजको आपत्ति

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 18, 2021 | 06:08:40 PM मा प्रकाशित

sarbottam cement

सर्वोच्च अदालतको आदेश विपरित चन्द्रागिरि नगरपालिकाले कर उठाउन लागेको भन्दै कवाड व्यवसाय समाजले आपत्ति जनाएको छ ।चन्द्रागिरी नगरपालिकाले २०७७ चैत १५ गते कवाडी कर उठाउने सन्दर्भममा सार्वजनिक सुचना जारी गर्दै गुर्जुधारामा ढाँट राखेर कर उठाउन सुरु गरेको विषयमा कवाड व्यवसाय समाजले ध्यानाकर्षण भएको जनाएको हो।

सर्वोच्च अदालतले दिएको आदेशको विपरित गएर कर उठाउन सुरु गरेको विषयलाई गम्भीरतापूर्वक लिएको समाजका अध्यक्ष रामकेवल शाह रौनियारले बताए। एक पटक जारी भएको अन्तरिम आदेश उक्त विषयमा सोही अदालतले अर्को आदेश जारी नगर्दासम्मको लागि कायम रहने कानुनी व्यवस्था हुँदा हुँदै पनि अदालतको आदेश विपरित अहिले चन्द्रागिरी नगरपालिकाले कर उठाउनु कानुनको उल्लंघन गरेको उनले बताए। 

चन्द्रागिरी नगरपालिका थानकोट विरुद्ध २०७५ असोज २१ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको थियो। अदालतले ७५ असोज २२ गते अन्तरिम आदेश जारी गरेको थियो। नगरपालिका भित्र बाटो प्रयोग गरेवापत निवेदकहरुबाट लिने गरेको कर नलिनु, लिन नलगाउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको समाजले जनाएको छ। समाजका अन्सुअर २०७५ कात्तिक ११ गते सर्वोच्च अदालतले अघिल्लो अन्तरिम आदेशलाई निरन्तरता दिन पुन आदेश गरेको थियो। जसमा सर्वोच्च अदालतमा परेको ०७५ –wo–०२९१ उत्प्रेषण निवेदन उपर निर्णय गर्नुपर्ने भएकाले अन्तरिम आदेशलाई निरन्तरता दिने बताइएको थियो। यो आदेशसँगै चन्द्रागिरी नगरपालिकाले कर लिन छाडेको थियो।  

उक्त मुद्धा हालसम्म सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतले दुई वर्ष अगाडि जारी गरेको अन्तरिम आदेश अनुसार चन्द्रागिरी नगरपालिकाले कवाड व्यवसायहरुले सामान बिक्रीको लागि नगरपालिकाको बाटो प्रयोग गरेवापत कर लिन पाउने कानुनी अवस्था नरहेको अध्यक्ष रौनियारले बताए। कवाड बोक्ने गाडी बीच बाटोमै रोकी अत्यधिक पैसा उठाइरहेको विषयले गम्भीर बनाएको उनले बताए।

उनले भने 'कवाड व्यवसायीहरुले हरेक महिना आन्तरिक राजस्व कार्यालयमा १३ प्रतिशत भ्याट र प्रत्येक वर्ष ३० प्रतिशत आयकर पनि बुझाउँदै आइरहेका छौं। कवाड संकलन केन्द्रले स्थानीय निकायलाई समेत नियमअनुसार कर तिर्दे आएका र घर बहाल कर पनि सरकारलाई बुझाउँदै आएको सर्वविदितै छ। यस बाहेक पनि दोहोरो रुपमा कर उठाउन थालेपछि यसबाट कवाड व्यवसायीहरु मारमा परेको जानकारी गराउँदछौं। '

अदालतको अन्तिम फैसला नआउँदासम्म यसअघिको अन्तरिम आदेशलाई पालना गर्दै चन्द्रागिरी नगरपालिकाले संकलन गरिरहेको कर तत्काल बन्द गर्न कवाड व्यवसाय समाजले माग गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved