प्रधानमन्त्री बनेपछि देउवाको पहिलो सार्वजनिक कार्यक्रमः ४ मिनेटको मन्तव्यमा २ मिनेट अर्थमन्त्रीको प्रशंसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2021 | 03:41:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री बनेपछि शेर बहादुर देउवा आज पहिलो औपचारिक र सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगे । नेपाल उद्योग परिसंघ (सीएनआई) को १८औं वार्षिक साधारणसभामा प्रमुख अतिथिको भूमीकामा पुगेका प्रधानमन्त्री देउवाले जम्मा जम्मी ४ मिनेट मन्तव्य राखे ।

२ मिनेट जति अर्थमन्त्री जनार्दन शर्माको प्रशंसा गरे । प्रधानमन्त्री नै प्रमुख अतिथि बनेको कार्यक्रममा उद्योगी व्यवसायीले केही गाँठी कुरो आउँछ कि भनेर अपेक्षा राख्नु स्वभाविक हो । तर, उद्योगीहरुको अपेक्षा विपरित प्रधानमन्त्री देउवाले कोरोनाबाट प्रभावित बनेको नीजि क्षेत्रलाई पुनः लयमा फर्काउन सरकारले के के गर्न खोज्दैछ भन्ने केही बोलेनन् । 

त्यसपछि उद्योगीहरुको मात्रै प्रतिनिधित्व गर्ने नीजि क्षेत्रको ठूलो संगठन उद्योग परिसंघमा आवद्ध उद्योगीहरु र निमन्त्रणा पश्चात पुगेका अन्य उद्योगी व्यवसायीका संगठनका प्रतिनिधिहरु निराश बने । यति मात्रै नभई परिसंघका संस्थापक उद्योगी बिनोद चौधरी अहिले नेपाली काँग्रेसकै तर्फबाट सांसद छन् । तर, चौधरीकै पार्टीका सभापतिले प्रधानमन्त्रीको हैसियतमा बोल्दा कोरोनाले थला परेको उद्योग उकास्न कुनै बचन नदिनु उद्योगीहरुका लागि निराशाको कारक बन्यो ।

के बोले देउवाले ?

बिनोद चौधरीले डडेलधुरा (मेरो गृह जिल्ला) मा अक्सिजन प्लान्ट बनाउनु भएको छ । उहाँले अरु सहयोग पनि गर्छु भन्नु भएको छ । अन्त पनि सहयोग गरिरहनु भएको छ । अहिले देशमा कोरोनाको समस्या छ । त्यो समस्या समाधान गर्न नेपालका उद्योगपती व्यापारीले सहयोग गर्नु पर्छ भन्ने मेरो धारणा छ । म यहीबाट उहाँहरुलाई आव्हान गर्न चाहन्छु । सरकारको कर्तव्य हो गर्नैपर्छ । साथै तपाईहरुले पनि हातेमालो गर्नुभयो भने हामी छिटै महामारीबाट मुक्त हुन्छौँ ।

हाम्रो अर्थमन्त्री जी अत्यन्तै मेहनती हुनहुुन्छ । मलाई विश्वास छ उहाँले नेपालको अर्थतन्त्रलाई छिटै पहिलाको भन्दा माथी उठाउनु हुनेछ । नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ । उहाँले सक्नुहुन्छ । उहाँ एकदमै मेहनती हुनुहुन्छ । उहाँ भिजन भएको पनि व्यक्ति हो । उहाँले बोलेको कुरा सुनेर पनि तपाईले थाहा पाईसक्नु भएको छ । उहाँसँग लगनशिलता छ ।

मैले धेरै कुरा केही भन्नु छैन । मैले बोल्ने कुरा छैन । यहाँ बोलाएर बोल्ने मौका दिनुभयो । त्यसको लागि सिएनआईलाई धन्यवाद दिनचाहन्छु । अहिले अत्यन्त अप्ठ्यारो अवस्था छ । कोरोनाले दुःख दिइरहेको छ । अर्को भेरियन्ट आउँछ भनेका छन् । त्यसको लागि हामी सबै लागेर अघि बढौ ।

विकास आवश्यक छ । जिन्दगी बढी आवश्यक छ । जनतासँग पैसा छैन कहाँबाट खोप किन्छन् ? हामी निःशुल्क खोप दिन प्रतिबद्ध बनौ । हाम्रो कर्तव्य पनि हो । यहीबाट सबैलाई अनुरोध गर्दै कोरोनालाई परास्त गरेर अघि बढौ, धन्यवाद ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved