पैसा नपाएको भन्दै फेरि काठमाडौँ आए उखु किसान, भदौ ५ सम्मको अल्टिमेटम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2021 | 04:37:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा जुटेका हुन्। आन्दोलनको लागि उनीहरु काठमाडौँ आई सकेका छन् ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरुले चिनी उद्योगसँग लिन बाँकी भुक्तानी अझैसम्मपनि नपाएको गुनासो गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले पहिला सरकारलाई आफूहरुको अवस्थाबारे अवगत गराउने र आगामी भदौ ५ गतेसम्म सम्पुर्ण भुक्तानी नगरे आन्दोलन गर्ने चेतावनी दिए । 

मिश्रले उद्योग मन्त्रालयसँग २१ दिनभित्र सम्पुर्ण बाँकी बक्यौता रकम मन्त्रालयले भुक्तानी गराउने भनी २०७७ पुस १३ गते पाँच बुँदे सहमति भएपनि हालसम्म आफूहरुले सम्पूर्ण भुक्तानी नपाएको गुनासो पोखे । सरकारको उदासिनताका कारण आफूहरु अन्यायमा परेको उनको भनाई छ । 

मिश्रले विगत तीन÷चार वर्षदेखिकै करिब ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दापनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा जुटिसकेको स्पष्ट पारे । उनले अहिलेसम्म २०७४ कै भुक्तानी रकम नपाएको बताए । उनले उखु किसानहरुले दाबी गरेको ९० करोड मध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रलायले विवादित भनी कार्यदलले प्रतिवेदनमार्फत छिनोफानो गर्ने भनिएपनि यसबारेमा मन्त्रालयले चासो नदिएको आरोप लगाए ।

उखुकै पैसा माग्न सर्लाही जिल्लाका उखु उत्पादक किसान काठमाडौँ आएको मिश्रले बताए । उनले उखु बेचेरै धेरैले आफ्नो घरपरिवार र व्यवहार चलाउने गरेको भन्दै अहिले सबै किसानको आर्थिक अवस्था नाजुक भएको र व्यवहार बिग्रिएको पनि सुनाए । 

सरकारबाट पटक–पटक आश्वासन पाएपनि अहिलेसम्म भुक्तानी हुन नसकेपछि किसानहरु कोरोना महामारीको बावजुद पनि फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौँ आएको मिश्रले बताए ।

उनले ३६ प्रतिशत रकम ब्याजमा लिएर अर्काको जग्गामा उखु खेती गर्नेहरुको उठिबास भएको सुनाए । उनले अघि थपे,‘निमुखा किसानहरुको बिजोग भएको छ ।’ केही दिनअघि एक किसानलाई बैंकले लिलामीको सुचना पठाएपछि चन्दा उठाएर काम सल्टाउँदा पनि मिलले किसानको पैसा नदिदा दुःख लागेको मिश्रले बताए ।  

ऋण लिएर उखु खेती गरेका किसानहरु थप मारमा परेको उनको भनाई थियो । ‘किसानका लागि योभन्दा ठूलो अत्याचार के हुनसक्छ ?’–उनले भने । उनले भुक्तानीको पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौँ धाउनुपरेको समेत स्मरण गराए ।

समयमै भुक्तानी नपाउँदा उखु उत्पादक किसान पटक–पटक आन्दोलन गर्न बाध्य भएको उनले तितो यथार्थ सुनाए । विगतकै भुक्तानी नभएपछि सर्लाहीका पाँच किसान फेरि काठमाडौँ आएका हुन् । उखु किसान २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । किसानको भुक्तानी नदिने मिलहरुमा अन्नपूर्ण चिनी मिल धनकौल, महालक्ष्मी चिनी मिल बगदह, लुम्बिनी चिनी कारखाना नवलपरासी, ईन्दिरा सुगर मिल नवलपरासी र श्रीराम सुगर मिल रौतहट रहेका छन् । यी मिलबाट सरकारले उखु किसानको लागि १५ करोड रुपैयाँ उठाईदिने कबुल गरेको भएपनि अहिलेसम्म एक रुपैयाँपनि नउठाईदिएको उनीहरुको गुनासो छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved