एमाले महाधिवेशनः चन्दा नउठाउने, नारायणी नदीको किनारमा ‘भेन्यू’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 12:23:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशन व्यवस्थापनको संयोजक स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ छन् । 

सर्वोच्चले नेकपा विभाजन गरेर तत्कालिन एमाले र माओवादीलाई पूरानै अवस्थामा फर्काइदिएपछि माओवादी छाडेर एमालेमै बसेका बादल र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको गृहजिल्ला हो चितवन । प्रचण्डलाई धक्का दिनकै लागि एमालेले चितवनमा महाधिवेशन आयोजना गर्न लागेको स्पष्ट छ ।

‘२ सन्देश प्रवाह गर्छौँ’

नेकपा एमाले चितवनको भरतपूरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीले पार्टी विभाजनको पीडा, आन्तरिक र बाह्य शक्तिले एमालेलाई दिन खोजेको धक्का र विश्वासघातका बाबजुद पनि एमाले नै देशको ठूलो पार्टी र शक्ति भएको सन्देश दिईने बताएका छन् । 

‘अनेकौ धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै ठूलो पार्टी हो । देशको नेतृत्व गर्ने एमालेले नै हो’ उनले भने, ‘महाधिवेशनबाट अझ सशक्त भएर अघि बढ्ने सन्देश दिनेछौँ ।’

देशलाई समाजवादमा लैजाने स्पष्ट दृष्टिकोण भएको पार्टी एमाले हो भनेर जनताले ढुक्कसँग विश्वास गर्न सक्ने पार्टीका रूपमा एमालेलाई महाधिवेशनबाटै स्थापित गराउने उनको भनाई छ । 

नारायणी किनार सम्भावित भेन्यू

महाधिवेशनको खुलासत्र र बन्दसत्र कहाँ गर्ने भन्ने टुंगो लागिसकेको छैन । महाधिवेशनमा देशभरबाट ५ लाख नेता कार्यकर्ता सहभागी हुने भएकाले उनीहरु अट्ने स्थानको खोजी भईरहेको एमाले बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोख्रेलले बताए ।

‘अबको एक हप्ताभित्र महाधिवेशनको खुलासत्र र बन्दसत्र गर्ने भेन्यू निर्धारण गरेर केन्द्रमा पठाउँछौँ’ उनले भने, ‘सम्भाव्य स्थलको खोजी भइरहेको छ, सकेसम्म भरतपुर क्षेत्रमै गर्ने योजनामा छौँ, ५ लाख नेता कार्यकर्ता सहभागी हुने अनुमान गरिएकाले नारायणी किनार पनि भेन्यू हुन सक्छ ।’

चन्दा नउठाउने

एमालेका सदस्य संख्या ७ लाख छ । आफ्ना कार्यकर्ताहरूबाट संकलन भएको पैसाले नै महाधिवेशनको आयोजना गरिने पोखरेलले जानकारी दिए ।

उनले कुनैपनि व्यवसायी, उद्योगीसँग पार्टीले १० औँ महाधिवेशन आयोजना गर्नका लागि चन्दा नउठाउने पनि बताए ।

‘हामी कसैसँग पनि चन्दा उठाउँदैनौँ’ उनले भने, ‘हाम्रा कार्यकर्ताहरूबाट संकलन भएको पैसाले नै हामीलाई महाधिवेशन आयोजना गर्न पुग्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved